काठमाडौं, ३१ भदौ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले बहिष्कार गरेपछि सर्वदलीय राजनीतिक सम्मेलन स्थगित भएको छ ।
प्रमुख तीनसँगको वार्ता असफल भएपछि आन्तरिक छलफलमा बसेको नेकपा माओवादीले अन्तिम समयमा आएर सम्मेलनमा सहभागी नहुने जानकारी दिएको हो ।
सम्मेलनका लागि अन्य दलका नेताहरु बानेश्वरस्थित संविधानसभाको लोत्से हलमा पुगिसके पनि माओवादी अध्यक्ष मोहन वैद्यले टेलिफोनबाट नआउने बताएका थिए । वैद्यसँगको टेलिफोन कुराकानीपछि प्रधानमन्त्री कोइरालाले सम्मेलन स्थगित भएको जानकारी गराएका थिए ।
कानुन मन्त्री नरहरि आचार्यले राजनीतिक सम्मेलन बहिष्कार गर्नु दुर्भाग्य भएको बताए । निर्वाचन बहिस्कार गरेर गल्ती गरेको बैद्य माओवादीको कुरा पनि संविधानमा समेट्न आफूहरुले सम्मेलनको आयोजना गर्न लागेको तर त्यो अवसर गुमेको आचार्यको भनाइ छ ।
नेकपा–माओवादीका सचिव देव गुरुङले काँग्रेस र एमाले राजनीतिक निकासबारे गम्भीर नरहेको आरोप लगाए । आफूहरुलाई अल्मल्याउन मात्र राजनीतिक सभाका लागि तयार भएको उनको आरोप छ ।
यसअघि मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख राजनीतिक दलको बैठकमा वैद्य माओवादीले संविधानका अन्र्तबस्तुसहित, शान्ति प्रक्रिया र राष्ट्रियता लगायतका विषयमा अहिले नै चारदलवीच सहमति हुनु पर्ने र त्यसपछि मात्र सर्वपक्षीय राजनीति सभामा छलफल हुनु पर्ने अडान राखेको थियो ।
तर, नेकपा एमाले र नेपाली काँग्रेस लगायतका दलहरुले चार दलवीच सहमति भएर हस्ताक्षर भएपछि मात्र सर्वपक्षीय राजनीतिक सभामामा छलफल गर्ने माओवादीको प्रस्तावलाई स्विकार नगरेपछि वैद्य माओवादी बिच्किएको हो ।
















प्रतिक्रिया