काठमाडौं, ३१ भदौ । महिला तथा बालबालिका बेचबिखनविरुद्ध १८ वर्षदेखि सक्रिय रहँदै आएको शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले विश्वविख्यात रोमन म्यागासेसे अवार्ड पाएको एक वर्ष नबित्दै अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन्।
सोफियोस्टेन्बेक फ्यामिली फाउन्डेसन, वर्ल्ड चाइल्डहुड फाउन्डेसन र रिच फर चेन्ज नामक तीन संस्थाले बालअधिकार क्षेत्रमा निरन्तर कार्य गरेबापत प्रदान गरिने अन्तर्राष्ट्रिय बालबालिका पुरस्कार सि १० अवार्ड नेपालबाट दनुवारलाई दिने निर्णय गरेका हुन्।
मानव बेचबिखन र व्यावसायिक यौन शोषणविरुद्ध क्रियाशील विश्वभरका १० जनालाई प्रदान गरिने यो अवार्ड झन्डै १० लाख नेपाली रुपैयाँ (१० हजार डलर) को छ। अवार्ड घोषणा सोमबार स्विडेनको स्टकहोमबाट गरिएको हो।
‘भारतमा बेचिएका हामी १५ जनाको आँसुलाई शक्तिमा बदल्दै अरूका आँसुलाई पनि शक्तिमा बदल्नुपर्छ भनेर १८ वर्षअघि शक्ति समूह खडा गरेका थियौं,’ अध्यक्ष दनुवारले सोमबार अमेरिकाबाट फेसबुकमार्फत् भनिन्, ‘अन्तर्राष्ट्रिय अवार्डले हामीलाई आफ्नो अभियानमा अघि बढ्न हौसला प्रदान गरेको छ।’
घोषणाअनुसार दनुवार उक्त अवार्ड पाउने पहिलो नेपाली हुन्। तीनवटै संस्थाद्वारा स्थापित यो अवार्ड आगामी नोभेम्बर ३ मा स्विडेनको स्टकहोममा प्रदान गरिने समाचार आजको नागरिक दैनिकले छापेको छ।
अवार्ड पाउनेमा नेपालका दनुवारसहित रुसको च्यारिटी फन्ड अफ सोसल प्रोजेक्ट्स ग्यालेक्सीकी ओल्गा कोल्पाकोभा, घानाको च्यालेन्जिङ हाइट्सका जेम्स कोफी अन्नान, रुसकै जिवल गर्ल्सकी एलेना टिमोफेबा, कम्बोडियाको फ्रेन्ड्स इन्टरनेसनलका सेवास्टियन म्यारोट, नाइजेरियाको ओपन सोसाइटी फाउन्डेसनकी ओबियागेली इजेक्वेसिली, अमेरिकाको ग्लोबल हेल्थ प्रोमिसका ब्रेन विलिस, अमेरिकाकै क्रिस्टी हाउसकी ट्रउडी नोभिस्की, अमेरिकाकै गर्ल्स एजुकेसनल एन्ड मेन्टोरिङकी र्योचेल लोएड र रुसको ब्रिगेडका मिकाली क्रिभोनोस छन्।















प्रतिक्रिया