न्युयोर्क, अमेरिका । दि एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (एएनए) का अन्तरिम महासचिव विजय थापाले संस्थाबाट स्वेच्छिक अवकाशको घोषणा गरेका छन् ।
लामो समयदेखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका र बिभिन्न संघ तथा संस्थासंग आबद्ध रहेका थापाले विज्ञप्तिमार्फत अब आफूले नेपाली संघ तथा संस्थाबाट स्वैच्छिक अवकास लिने घोषणा गरेको जनाएका हुन् ।
बिज्ञप्तिमा उनले नेपालबाट अमेरिकामा आएपछि सर्वप्रथम बाल्टिमोरमा सम्पन्न एएनए सम्मेलनमा भाग लिएको सम्झना गर्दै त्यहाँबाट संस्थामा सहभागिता जनाएको बताएका छन् । गत जुलाई ४ मा पनि निर्वाचनको घोषणा गरिएपनि निर्वाचन हाललाई स्थगित गरी पाउँ भनी एएनएका पूर्वपदाधिकारीले अदालतमा हालेको उजुरी र आगामी सेप्टेम्बर २३ तारिखमा अदालतको पहलमा हुने भनिएको निर्वाचन पनि पुन अदालतमा पुगेको अवस्थाले संचारकर्मी भएको नाताले बाहिर बस्ने निर्णय लिनु परेको थापाको भनाइ छ।
नेपालमा बिभिन्न सामाजिक संघ तथा संस्थामा संलग्न भएको, सबै पदमा सर्वसम्मतिबाट निर्वाचित भएको बताउँदै उनले आफूले कहिले पनि निर्वाचनमा प्रतिस्पर्धा गर्नु नपरेको उल्लेख गरेका छन् । थापा अमेरिकामा अहिले एएनएमा अन्तरिम महासचिव रहेता पनि बिभिन्न संघ तथा संस्थामा सल्लाहकारमा रहेका छन् । एएनएका पूर्व अध्यक्षको समितिमा समेत पदीय दायित्व जिम्मेबार लिएको उल्लेख गर्दै उनले निरन्तर अवैतनिक रुपमा संघसंस्थाको झोला बोकी हिड्न गाह्रो हुने बताएका छन् ।
एएनएमा हालका अन्तरिम अध्यक्ष छेवांग शेर्पालामाले महासचिव पदमा मनोनित गरि काम गर्ने अवसर दिएकोमा उनले आभार ब्यक्त गरेका छन् । अवैतनिक रुपमा कुनै पनि संस्थामा निरन्तर काम गर्न असमर्थ हुनाले स्वैच्छिक अवकाश लिने घोषणा गर्दै उनले अब स्वतन्त्र कलम चलाउने बताएका छन् ।
संस्थासंग आबद्ध हुदा केही जान्ने अवसर मिलेको चर्चा गर्दै थापाले आफुले सत्य, तथ्य, खोजमुलक समाचार, लेख र अन्य रचना लेख्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
आफू केवल कुर्सी ओगटन मात्र पदीय जिम्मेबारी नलिई स्वत स्फ़ुर्त रुपमा समाज सेवा गर्ने धोको रहेकोले संस्थामा होमिएको उनको भनाइ छ । संस्थासंग आबद्ध हुदा आफैले खण्डन गर्ने र जवाफ दिदा त्यसको विश्वसनियता प्रति शंका उपशंका उब्जिने हुनाले बाहिर बसी असत्य, झुटा, लान्छना र कपोलकल्पित कुराहरुको गाँठो फुकाउनु पर्ने अपरिहार्य हुनाले संस्थालाई अलबिदा भन्दै पत्रकारिता पेसामा होमिने उनले बताएका छन ।














प्रतिक्रिया