२९ आश्विन २०८३, बिहिबार

अपडेट: यस्तो छ एमाओवादी उपाध्यक्ष बोगटीको अवस्था (अस्पतालको विज्ञप्तिसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

posta-bahadur-bogati-hospital

काठमाडौँ, २९ भदौ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्यस्थिति झन गम्भीर बनेको छ ।

उपचारमा संंलग्न चिकित्सकहरुका अनुसार, उहाँलाई कृत्रिम श्वासप्रश्वास यन्त्र अर्थात भेन्टिलेटरमा राखी रक्तचाप अपेक्षितस्तरमा कायम राख्ने औषधिका साथ अन्य जीवनदायी औषधि दिइएको जनाइएको छ ।

नर्भिक अस्पतालका तर्फबाट नायब महाप्रबन्धक आरपी मैनालीले जारी विज्ञप्तिमा उहाँको जटिल स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पारिवारिक एवम् पार्टीगत सल्लाह तथा उपचारमा सङ्लग्न चिकित्सकको रायअनुसार जीवनरक्षाका लागि परम्परागत र जीवनदायी ओषधोपचार मात्र अपनाउनु उपयुक्त हुने बताइएको छ ।

६२ वर्षीय बोगटीलाई गत भदौ २६ गते बिहिबार अपरान्ह अचानक एकैपटक हृदयाघात तथा मस्तिष्कघात हुँदा गङ्गालाल हृदयरोग केन्द्रमा पुर्‍याइएको थियो र भदौ २७ गते शुक्रबार अपरान्ह नर्भिकमा रिफर गरिएको थियो।

उहाँको मतिस्कको देव्र भागमा बृहद रक्तस्रावसहित रगत जमेको छ । साथै, उहाँको शरीरको दाहिने भागमा पक्षाघात भएको छ । उहाँको उपचारमा वरिष्ठ हृदयरोग विशेषज्ञ यादवदेव भट्टको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सुक्ष्म निगरानीमा राखेको छ ।

उपाध्यक्ष बोगटीको उपचारमा के गर्ने त भन्ने सन्दर्भमा निर्णय गर्न विशेषज्ञ टोलीसहित एमाओवादी शीर्ष नेतृत्वबीचमा अस्पतालमा छलफल भएको थियो ।

नर्भिक अस्पतालबाट निस्केपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोगटीको स्वास्थ्य स्थिति उस्तै रहेको संचारकर्मीलाई जानकारी गराउनुभयो । बोगटीलाई उपचारका लागि दिल्ली लगिनेबारे आफूले भारतीय राजदूत रञ्जित रेसँग कुराकानी गरे पनि यस्तो अवस्थामा बाहिर लैजानु उपयुक्त नभएको सल्लाह चिकित्सकहरुले दिएको प्रचण्डले जानकारी दिनुभयो । चिकित्सकहरुसँगको बैठकपछि प्रचण्ड पत्नी सीता रुँदै बाहिरिनुभएको थियो ।

यता, प्रधानमन्त्री सुशील कोइराला आइतबार अस्पताल पुगेर उहाँको उपचारमा कुनै पनि कन्जुस्याईं नगर्न निर्देशन दिनुभएको छ ।

नर्भिक अस्पतालका चिकित्सक टोलीले नयाँ दिल्लीस्थित मेदान्त अस्पतालका चिकित्सकहरुबीच पनि छलफल गरेको बताइएको छ । मेदान्तका चिकित्सकले नर्भिकले गरेको उपचार पद्धति नै आफूहरुले पनि अपनाउने जानकारी गराएको बुझिएको छ ।

उपाध्यक्ष बोगटीको स्वास्थ्यलाभको कामना गर्दै एमाओवादी नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति अस्पताल परिसरमा रहेको छ । सामाजिक सञ्जालहरुमा भने उहाँको मृत्यु नै भइसकेको अफबाह फैलिएको छ ।

bogati-press