नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता कर्ण थापालाई पार्टीले सरकारबाट फिर्ता बोलाएको छ । उहाँले आफूलाई फिर्ता बोलाइएको विषयलाई कसरी लिनुभएको छ ? यसै विषयमा हामीले साक्षात्कार गरेका छौं ।
पार्टीले उद्योगमन्त्रीबाट फिर्ता बोलाएर तपाईँको ठाउँमा युवा संघका अध्यक्ष महेश बस्नेतलाई मन्त्री बनायो, कसरी लिनुभएको छ ?
म पार्टीको निर्णय अनुसार नै मन्त्री बनेको थिएँ । अहिले पार्टीले मलाई फिर्ता बोलाउने निर्णय गरेपछि पार्टीको निर्णयलाई स्वीकार गर्दै फिर्ता भएको छु । मलाई पार्टीले उद्योगमन्त्रीको जिम्मेवारी दिएपछि मेरो योग्यता, क्षमता र पहुँचले भ्याएसम्म मेरो जिम्मेवारीलाई कुशलताका साथ सम्पन्न गर्ने प्रयन्त गरेको थिएँ ।
मेरो छोटो कार्यकालमा पनि लगानी अभिवृद्धि गर्ने, वन्द भएका उद्योग सञ्चालनमा ल्याउने, नेपाललाई औधोगिकरणको दिशामा अघि बढाउँने जस्ता प्रयत्नहरु क्रमशः हुँदै गएको थिएँ । म नयाँ अनुभवसहित मन्त्री भएकाले केही समय मलाई बुझ्न लाग्यो । त्यसपछि विस्तारै मैले सकारात्मक कामका थालनी गरेँको थिएँ । मलाई पार्टीले बिचैमा फिर्ता बोलायो । यसरी पार्टीले फिर्ता बोलाउँदा धेरै कामहरु अधुरैै रहे ।
भनेपछि तपाईंमाथि अन्याय भयो होइन त ?
म मन्त्री बन्नका लागि जन्मिएको र राजनीति गरेको होइन । तर, जुन तरिकाले मलाई पार्टीले फिर्ता बोलाउने काम गरेको छ । त्यसले मलाई आश्चर्य चकित बनाएको छ । मैले त्यस्तो अपराध गरेको थिएँ भने पार्टीले मलाई अन्य कारवाही गर्न सक्थ्यो । राज्यले मलाई जेल हाल्न सक्थ्यो । मलाई पदमुक्त गरेर कारवाही गर्ने कुराले मलाई आश्चर्यचकित बनाएको छ । यो कारवाहीलाई ममाथिको कारवाहीको रुपमा होइन देशमाथिको खेलवाडको रुपमा लिएको छु । जुन खालको प्रवृत्ति देखा पर्यो यो डरलाग्दो प्रवृत्ति हो । कसैको पालो पुर्याउनका लागि मन्त्री बनाउने होइन । देश बनाउन र राष्ट्रलाई अघि बढाउने मन्त्री बन्ने हो । अहिले जुन खालको खेँलाची गरिएको छ । त्यो म फेरि पनि भन्छु । राष्ट्रमाथिको खेलबाड हो ।
तपाईंलाई पार्टीले मन्त्रीबाट पिर्ता बोलाउदैँ छ भन्ने जानकारी थियो ?
बिल्कुल थिएन । म केही दिन अघि मात्र टर्कीको भ्रमण सकेर नेपाल फर्किएको थिएँ । यो विचमा पनि मलाई पार्टी अध्यक्ष र पार्टीका अन्य पदाधिकारीले पनि यो सन्र्दभमा केही कुरा गर्नुभएन् । मलाई मन्त्रीपदबाट पदमुक्त गरेको कुरा चाहीँ पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्री नियुक्त गरिसकेपछि सामान्य जानकारी दिनुभयो । त्यो भन्दा अघि मलाई तपाईले यो कमजोरी गर्नुभयो । यो कारण पार्टीले फिर्ता बोलाउने निर्णय गरेको छ भन्ने केही जानकारी दिने काम पार्टी नेतृत्वबाट भएन । मैले केही कमजोरी गरेको थिएँ भने पनि मैले मेरा ती कमजोरी सुधार गर्ने मौकासम्म नपाई मन्त्रीबाट फिर्ता हुनुपर्यो ।
तपाई त एमाले अध्यक्ष केपी शर्मा ओलीको एकदम विश्वास पात्र मानिनुहुन्थ्यो । उहाँ नै अध्यक्ष रहेका बेला किन तपाईलाई केही जानकारी नै नदिइ फिर्ता बोलाउने काम भयो त ?
केपी शर्मा ओलीलाई अत्यन्त कठिन अवस्थाबाट समेत बचाएर यो स्थानसम्म ल्याउन मैले बहुत ठूलो योगदान गरको छु । विगतका हरेका महाधिवेशनमा म उहाँकै विचारलाई बोकेर उहाँलाई नै समर्थन गर्दै आएको छु । त्यति मात्र होइन, नवौँ महाधिवेशनबाट उहाँलाई अध्यक्ष बनाउन पनि मैले मेरो ठाउँबाट सक्दो भूमिका खेलेको छु । उहाँ हरेक ठाउँमा अप्ठ्यारोमा पर्दा मैले हात थाप्दै आएको छु ।
यति हुँदाहुँदै पनि उहाँले जुन निर्णय गरेर मलाई एक पटक पनि नसोधी फिर्ता बोलाउने काम गर्नुभयो, म आश्चर्यमा परेको छु । अझै पनि मैले उहाँले गरेको यो निर्णयलाई पार्टी चलाउन सहज बनाउनका लागि हो भन्ने रुपले लिएको छु । म अझै पनि उहाँ प्रधानमन्त्री वा केही बन्ने सन्र्दभमा सक्दो सहयोग गर्न तयार छु ।
तपाईले मन्त्री पदको दुरुपयोग गर्नुभयो । त्यही कारण पार्टीले फिर्ता बोलायो भन्ने आरोप छ नि ?
यस्ता निराधार, कपोल्पल्पित र भ्रामक कुरा गरेर अर्काको चरित्र हत्या गर्ने कुरा विल्कुल गलत छ । म चुनौती दिएर भन्न सक्छु । यदि कसैले म मन्त्री छँदा गरेका गलत र अपराधिक क्रियाकलाप प्रमाणित गर्न सक्छ भने म नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेर बस्न तयार छु । मलाई विभिन्न खालका आरोप लगाएर मेरो बदनाम गर्ने काम भएको छ । त्यो निन्दनीय छ । म मन्त्री रहुन्जेल किन मैले वदमासी गरेको थिएँ भने कुनै सञ्चार माध्ययममा समाचार आएन ?
जहाँसम्म मैले मन्त्री हुँदा विभिन्न देशको भ्रमण गरेँ भन्ने आरोप लागेको छ । मैले मन्त्री छँदा अमेरिका, टर्की र भारत गरी जम्मा तीन देशको भ्रमण गरको छु । मेरो श्रीमतिलाई अमेरिका लगेको सन्दर्भको कुरा गर्ने हो भने म सभासद हुनु भन्दा अगाडि नै मेरो श्रीमतीले अमेरिकाका लागि पाँच वर्षको मल्टीपल भिसा पाएकी थिइन् । मैले अरुलाई विदेश भ्रमणमा लैजान भिसाका लागि पैसा खाएर पहल गरेको आरोपको कुरा गर्ने हो भने मसँग मेरो निजी सचिव विरसिंह धामी र मन्त्रालयको उप–सचिव उद्धव रिजाल अनि मेरो श्रीमती बाहेक कोही पनि गएका छैनन् । मेरो स्वकीय सचिव मिनबहादुर बिष्टसमेत भिसा नपाएकाले मसँग जान सक्नु भएन । अनि कसरी मलाई मानव तस्कर गरेको आरोप लगाउन सकिन्छ । म यो आरोपबाट दुःखी छु ।
प्रस्तुति : मोहन बास्तोला












प्रतिक्रिया