काठमाडौं, २८ भदौ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहलाई नयाँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।
परिषद्को शुक्रबार बसेको बैठकले यो निर्णय लिएको हो। सर्वोच्चका वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीशमा बनाउने परम्परा छ। प्रधानन्यायाधीशमा सिफारिस भएपछि साहले न्यायपालिकाको छवि उकास्ने प्रतिबद्धता जनाए।
परिषद् अध्यक्ष प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत साहलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ।
‘साहलाई सर्वसम्मत रूपमा सरासर सिफारिस गर्ने निर्णय भयो’, परिषद् सदस्य सभामुख सुवासचन्द्र नेम्बाङले भने, ‘संवैधानिक अंगका पदाधिकारीको नियुक्तिमा छलफल गर्न फेरि बोलाउन नपरोस् भनेर परिषद् पदाधिकारीलाई आगामी सोमबार ९ बजे उपस्थित हुन पनि भनिएको छ।’
बैठकमा परिषद् अध्यक्ष प्रधानमन्त्री कोइराला, सदस्यहरू प्रधानन्यायाधीश दामोदर शर्मा, सभामुख नेम्बाङ, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, उपप्रधानमन्त्री वामदेव गौतम, प्रकाशमान सिंह र कानुन तथा न्यायमन्त्री नरहरि आचार्य उपस्थित थिए।
प्रधानन्यायाधीशबाट शर्माले असोज २३ गते अवकाश पाउने भएकाले साहलाई नयाँ प्रधानन्यायाधीश सिफारिस गरिएको हो। साह नौ महिना प्रधानन्यायाधीश हुन पाउनेछन्। २००७ असार २४ गते महोत्तरीको मटिहानी-८ मा जन्मिएका साहले झन्डै ४० वर्ष न्यायपालिकामा बिताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
२०३१ मा सर्वोच्च अदालतको शाखा अधिकृतबाट न्यायसेवा प्रवेश गरेका साह ०३३ सालमा जिल्ला न्यायाधीश भएका थिए। उनी २०४३ देखि अञ्चल र २०४८ पछि पुनरावेदन अदालतको न्यायाधीश बने।















प्रतिक्रिया