काठमाडौ, २७ भदौ । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षतासहितको संविधान जारी गरे भोलिपल्टै राजधानीको शान्तिबाटीकामा जलाउने चेतावनी दिएका छन ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले धर्मनिरपेक्षता जनआन्दोलनको म्याण्डेड नभएको भन्दै पेलेर बहुमतको आधारमा धर्मनिरपेक्षतासहितको संविधान जारी गरे जलाउने चेतावनी दिएका हुन । अब बस्ने नेपाली काँग्रेस केन्द्रिय समितिको बैठकमा आफूले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने र संघियता विनाको संविधान जारी गर्नुपर्ने प्रस्ताव पेश गर्ने पनि उनले जानकारी दिएका छन् ।
साक्षात्कारमा उनले ८१ दशमलब ५ प्रतिसत जनता हिन्दू भएको मुलुकमा काँग्रेसले धर्म निरपेक्षतामा गएर गल्ती गरेको तर्क गर्दै धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र हुनुपर्ने माग गरे ।
खड्काले अहिले पेलेर धर्म निरपेक्षता घोषणा गरिए पनि आगामी दश–बाह्र वर्षभित्र मुलुक भयंकर धार्मिक द्धन्दमा फस्ने चेतावनी दिए । उनले काँग्रेसका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलपनि कोठाभित्र हिन्दु धर्मकै पक्षमा रहे पनि बाहिर बोल्न नसकेको दावी गर्दै नेपाली काग्रेसको केन्द्रीय समितिमा पनि हिन्दु राष्ट्रको पक्षमा बहुमत पुग्ने ठोकुवा गरे ।
खड्काले आफू संघीयताको पक्षपाती नभएको स्पष्ट पार्दै संघीयताले मुलुकको हित नगर्ने बताए ।
उनले संघीयतामा जानै पर्ने भए पनि अहिलेको पाँच विकास क्षेत्रलाई पाँच प्रदेश मानेर उत्तर–दक्षिण संघीयतामा भौगोलिक आधारमै जानु पर्ने भन्दै जातीय आधारको संघीयतामा गए मुलुक विभाजित हुने दावी गरे ।
आफ्नै पार्टी सभापतिको नेतृत्वको सरकारले अहिलेसम्म कुनै गतिलो काम गर्न नसकेको टिप्पणी गर्दै यहि गतिमा अघि बढीरहे काग्रेसको अस्तित्व नै समाप्त हुने ठोकुवा गरे ।
उनले भने– ‘यो सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजलाई नेपाल ल्याउनु बाहेक कुनै काम गर्न सकेको छैन । सरकारमा एमाले हावी छ । यस्तै तालले देश बामपन्थीको कब्जामा जान्छ र अर्को चुनावमा एमालेले बहुमत सहित सरकार बनाउँछन ।’
यद्यपि उनले एमाओवादी भने अझै समाप्त भएर जाने दावी गरे । उनले भने– ‘प्रचण्ड नाङगिसकेका छन् ।’
खड्काले आगामी असोज ४ गतेबाट केन्द्रीय समितिको म्याद सकिने भएकोले तत्काल महाधिवेशन गर्नु पर्ने पक्षमा आफू रहेको समेत साक्षात्कारमा स्पष्ट पारे ।
एमाओवादी संविधान बनाउने पक्षमै नरहेको भन्दै राजनीतिक संबाद समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान बन्न नदिन दवाव आयो भनि दिएको अभिब्यक्तिबारे को र कहाँबाट दवाव आएको हो स्पष्ट पार्नु पर्ने माग गरे ।
सहमतिको फेरामा लागे माघ ८ गते संविधान नआउने दावी गर्दे संविधान बनाउन प्रक्रियाबाट अघि बढ्नु पर्ने बताए । उनले संघीयता र धर्म निरपेक्षताको विषयमा भने जनमतसंग्रह गर्नु पर्नेमा समेत जोड दिए ।
नेकपा–माओवादीलाई समेत साथै लिएर जाने विषयमा राजनीतिक सभा र उच्चस्तरीय राजनीतिक समिति गठन गर्न कुनै आपत्ति नभएको भन्दै माओवादी र एमाओवादी सहमतिको नाममा अल्मल्याएर संविधान आउन नदिने दाउमा लागेको दावी समेत गरे ।
उनले काँग्रेसले एमाओवादीसंग गरेको ४ बुँदे सम्झौता नै गलत रहेको भन्दै आफ्नो विश्वसनियता कायम गर्नका लागि पनि प्रचण्डलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाउन सुझाव दिए । उनले सम्झौता गर्ने र कार्यन्वयन नगर्ने कार्य काँग्रेसले गर्न नहुने पनि प्रष्ट पारेका छन् । नेकपा माओवादीको माग अनुसार रािष्ट्रय सम्मेलन गर्नु उचित भएपनि त्यसबाट संविधान जारी हुन नसक्ने पनि खड्काले ठोकुवा गरे ।















प्रतिक्रिया