न्युयोर्क । अमेरिकामा रहेका नेपालीहरुको ठूलोमध्येको एक दि एसोसिएसन अफ नेपलीज अमेरिका (एएनए) को निर्वाचन फेरि अनिश्चित बनेको छ ।
म्यारिल्याण्ड सर्कुट अदालतबाट नियुक्त अटोर्नी डेनिएल ए लाप्साको नेतृत्वमा एएनएका पुर्व अध्यक्ष नविन दत्त तथा पत्रकार प्रदिप थापासहितको तीन सदस्यीय निर्वाचन समिति गठन भएपनि अन्तिम समयमा आएर निर्वाचन स्थगित भएको हो । निर्वाचन समितिले सेप्टेम्बर २३ तारिखमा निर्वाचन तय गरेको थियो । तर, निर्वाचनमा आजीवन सदस्य तथा साधारण सदस्यको बिषयलाई लिएर विवाद हुँदा निर्वाचन सारिएको हो । सदस्यता सम्बन्धी विवाद पनि अक्टोबरमा समाधान गर्ने एएनए निर्वाचन डटओर्गमा सूचना प्रकाशित गरिएको छ ।
एएनएका पूर्वपदाधिकारी तथा असन्तुष्ट पक्षका कारण निर्वाचन सरेको संस्थापन पक्षको भनाइ छ । लामो समयदेखि एएनएलाई असफल पार्न लागिरहेको असन्तुष्ट समूहले अनावश्यक बखेडा झिकेका कारण निर्वाचन स्थगित भएको संस्थापन पक्षको दाबी छ ।
‘असन्तुष्ट पक्षले केवल ६८ जना मात्र आजीवन सदस्यहरुले मतदान गर्न पाउनुपर्ने तथा अन्तरिम समितिका कुनै पनि पदाधिकारीहरु उम्मेदवार बन्न नपाने माग राखे । जुन आधारहीन र बिधान विपरीत कुरा हो । एएनएको बिधानमा यो कहीँ पनि उल्लेख छैन । तर, हारिन्छ भन्ने डरले असन्तुष्ट पक्ष चुनावबाट भाग्यो ।’, एएनएका एक पदाधिकारीले दैनिक नेपाल डटकमसँग भने । उनका अनुसार, चुनावमा हारिने अबस्था सिर्जना भएपछि असन्तुष्ट समूहले आफूलाई पनि पदाधिकारीमा केही ठाउँ दिए वर्तमान अध्यक्ष छेवाङ शेर्पालामालाई नै अध्यक्ष मानेर जान तयार रहेको प्रस्ताव पठाएका थियो । तर, त्यसलाई वर्तमान टिमले अस्वीकार गरेको थियो ।
६८ जना आजीवन सदस्य बाहेक अन्यको बीचमा चुनाव गरिए हारिने डरले असन्तुष्ट समूहले अटोर्नी डेनिएल ए लाप्सालाई दबाब दिएको एएनए स्रोतले बतायो । असन्तुष्ट समूहको दबाब अनुसार नै लाप्साले न्यायाधीससँग परामर्श गर्दा न्यायधीशले यसको समाधानको पहल अक्टोबरमा गर्ने गरि निर्वाचन समितिका पदाधिकारीहरुलाई निलम्बन गरेका थिए ।
यसअघि सेप्टेम्बर ७ तारिखमा एएनए निर्वाचन समितिले साधारण सदस्यतर्फ ५६१ र आजीवन सदस्यतर्फ केवल १४१ सदस्यले मतदान गर्न पाउने रुलिङ गरेका थियो । एएनएकातर्फबाट ३१ औ एएनए न्युयोर्क सम्मेलनमा भाग लिने तथा अन्य समेतको गरेर करिब ६०० भन्दा बढीको मतदाता सूची र करिब २ सय ५० जना जति आजीवन सदस्यहरुको सूची निर्वाचन समितिले प्रकाशित गरेको थियो । तर, उनीहरु एएनएको सदस्य हैनन् भन्दै असन्तुष्ट पक्षका तर्फबाट नविन दत्तले बखेडा झिकेको संस्थापन पक्षको भनाइ छ ।
‘सन् १९८३ मा स्थापना भएको एएनएको विगतको नेतृत्वले यसैगरी निर्वाचन गर्दै आएको देखिन्छ । अन्य कोही पनि सदस्य नहुने र केवल आजीवन सदस्यहरु मात्र मतदान दिन पाउने कुराको तर्कले यो संस्था कतिको प्रजातान्त्रिक रहेछ भन्ने यसै बाट स्पस्ट भएको छ ।’, एएनएका एक पदाधिकारी भन्छन्, ‘सन् २०११ मा यही समुहद्वारा निर्वाचन नगरी आफै स्वयम् निर्वाचित भएको भनि घोषणा गरेका थिए । एएनएमा निर्वाचन नै नगरी पुनः शक्ति कब्जा गर्ने र एएनए अपहरण गर्ने षडयन्त्र भै रहेको बुझिएको छ । यिनै असन्तुष्ट पक्षका कारण सन् २००२ देखि २०१० सम्म खारेजीमा परेको थियो ।’
यता संस्थापन पक्षले भने एएनएका पूर्वअध्यक्ष दत्तले सम्मेलनमा सहभागी भएका सबै सदस्य हुन् भनी यसअघि हस्ताक्षर गरेको निर्णय बिबरण अदालतलाई बुझाई सकेको बताएको छ । उनी आफै पनि आजीवन र साधारण सदस्यको मतद्वारा अध्यक्षमा निर्वाचित भएका थिए ।
‘आफैले बनाएको र निर्णय गरेको दस्ताबेज असत्य भन्नु र आजीवन सदस्य मात्र हुन् भन्नु नै महाषडयन्त्र भएको ठहर गरेका छौं ।,’ ती पदाधिकारीले थपे, ‘अदालतको निर्णयको प्रतिक्षा गरौंं, जित हाम्रै हुन्छ ।’
अमेरिकामा उच्च छवि बनाउन सफल भएपनि एएनए लामो समयदेखि जंगाको लडाईंमा रुमल्लिरहेको छ । खासगरि, असन्तुष्ट पक्षका कारण एएनएले गति लिन नसकेको संस्थापन पक्षको दाबी छ । पटकपटक बखेडा झिकेर एएनएको निर्वाचन सारिनुले अमेरिकामा रहेका नेपालीलार्इ नै लज्जित बनाएको एक सदस्यले बताए ।














प्रतिक्रिया