२८ आश्विन २०८३, बुधबार

वर्गीकरण की विशिष्टीकरण विवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalakarकाठमाडौं, २६ भदौ । चलचित्रकर्मीबीच कलाकारको वर्गीकरण गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर जुहारी चलेको छ। ‘राज्यले हेरेन, राजनीति दलले प्रयोगमात्रै गरे, यस क्षेत्रलाई प्रत्युत्पादकका रूपमा हेरियो’ भन्‍ने कलाकारको वर्षौदेखिको गुनासो सम्बोधन गर्न राज्यले छलफल सुरु गरेसँगै कलाकर्मी स्वयं समर्थन र विरोधमा उत्रिएका छन्।

सरकारले कलाकार पहिचानका लागि सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव एवं चलचित्र सेन्सर बोर्डका अध्यक्ष कविराज खनालको संयोजकत्वमा राजेन्द्र शलभ, भरत शाक्य र करिस्मा मानन्धर सम्मिलित कार्यसमिति गठन गर्ने अन्तिम तयारी गरेको छ। सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल स्वदेश फर्कनासाथ यसले पूर्णता पाउने स्रोतले बतायो।

चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईका अनुसार यो समितिले मापदण्ड निर्धारण गरी कलाकारको अभिलेख तयार पार्नेछ। त्यसका आधारमा राष्ट्रिय लोगो अंकित परिचयपत्र प्रदान गरिने समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

राईले भने, ‘कलाकारलाई शिशिष्ट पहिचान दिने प्रक्रिया हो यो। तर, केही कलाकर्मी वर्गीकरण भनेर गलत ब्याख्या गरिरहेका छन्। कलाकार र सर्जकको मापन गर्ने कुनै यन्त्र छैन। तर योगदानको कदर चाहिँ हुनुपर्छ।’

नेपाल चलचित्र कलाकार संघले यसको विरोध गरेको छ। ‘कलाकारको ग्रेडिङ छुट्याउने चलन विश्वमा कतै छैन। त्यसैले कलाकारलाई क ख ग भनेर गरिने बर्गीकरण अमान्य छ’, संघका अध्यक्ष नवल खड्काले भने, ‘सरकारले गठन गरेको भनिएको समिति केका लागि हो, कसरी काम गर्ने हो र मापदण्ड के हो भन्ने प्रस्ट हुनुपर्छ।’

समितिमा सदस्य रहेका भनिएका चलचित्रकर्मी शलभले भने, ‘मेरो बुझाईमा कलाकारको बर्गीकरण होइन विशिष्टीकरणका लागि पहल भएको हुनसक्‍छ।’ समितिबारे औपचारिक जानकारी नआएको बताउँदै उनले भने, ‘चलचित्रकर्मीलाई कार्ड दिन के गर्न सकिन्छ, कुनै राजनीतिक पार्टीमा नलागेको तपाइँजस्तो व्यक्तिको सहयोग चाहिन्छ भनेर सञ्चार मन्त्रालयले सोधेको चाहिँ हो।’

शाक्यको बुझाई पनि उस्तै छ। कलाकारमा को को पर्छ भनेर सरकारले परिचयपत्र दिने तयारी गरे पनि जबसम्म राष्ट्रिय चलचित्र नीति लागू हुँदैन तबसम्म यो सम्भव नहुने उनले बताए। ‘कलाकार भनेको को हो, केका आधारमा छुट्याउने, कसरी राष्ट्रिय परिचय दिने भन्ने आधार त चाहियो नि,’ शाक्य भन्छन्।

विश्वका धेरैजसो मुलुकमा कलाकारलाई हेर्ने दृष्टिकोण फरक हुन्छ भने राज्यबाट पनि सुविधा दिइन्छ। तर, नेपालमा विमानस्थल, विदेश यात्रा, सुरक्षा, सरकारी कार्यालयलगायतका स्थान तथा निकायमा कलाकारलाई छुट्टै पहिचानसहित व्यवहार गरिँदैन। त्यसैले कलाकारलाई सरकारी लोगो अंकित परिचयपत्र दिने तयारी सरकारले अघि बढाएको हो।