काठमाडौँ, २५ भदौ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनको प्रक्रियालाई स्वीकार गर्न नसक्ने प्रवृत्तिले संविधान लेखन प्रक्रियामा अवरोध खडा गरेको बताउनुभएको छ ।
पूर्व जनमुक्ति सेना महिला प्रतिष्ठानको भेलामा आज उहाँले संविधान निर्माण प्रक्रियामा विपक्षी दल जुन ढङ्गले सक्रियतापूर्वक लागेका छन्, सरकारमा रहेका दलहरूको पनि सोहीस्तरको सक्रियता नदेखिएको आरोप लगाउनुभयो ।
जनयुद्ध, जनआन्दोलनलगायतका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत हुन नदिने षड्यन्त्र जारी रहेको उल्लेख गर्दै उहाँले आफूहरू संविधान लेखन प्रक्रियामा दिनरात मेहनत गरिरहेको उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेस र नेकपा(एमाले)का नेताहरू अघिल्लो संविधानसभामा भएका सहमतिसमेत उल्ट्याउने खेलमा लागेका कारण सहमति कायम हुन नसकेको उहाँको कथन थियो ।
जनयुद्धको समयमा उच्च योगदान गरेका महिला योद्धाहरूलाई राज्य र आफ्नै पार्टीले समेत उचित योगदान गर्न नसकेको स्वीकार गर्दै अध्यक्ष दाहालले आगामी दिनमा उत्पादन तथा निर्माणको प्रक्रियामा समावेश गराएर आत्मनिर्भर बनाउन पहल गरिने आश्वासन दिनुभयो ।
एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले समानता र समृद्ध महिला अधिकार प्राप्तिको लडाइ जारी रहेको उल्लेख गर्दै संविधान निर्माण प्रक्रियामा सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।
पार्टीलाई एकताबद्ध बनाएर लैजान शीर्ष नेतृत्वबीच समान धारणा रहेको जानकारी गराउँदै उहाँले वैचारिक छलफल हुनुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले परिवर्तनको प्रक्रियामा समावेश भएका महिला योद्धाहरूलाई उचित सम्मान गर्न नसकिएको भन्दै पार्टीका तर्फबाट कमजोरी भएको स्वीकार गर्नुभयो ।
कार्यक्रममा पूर्व महिला लडाकुहरूले गणतन्त्र स्थापनाको लागि लडेका महिला योद्धाहरूलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।रासस
















प्रतिक्रिया