बिष्णु सापकोटा
बेल्जियम । जननायक बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा बिपी स्मृति प्रतिष्ठान बेल्जियमको आयोजनामा आन्त्रोपेन शहरमा बृहत साहित्य गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
उक्त गोष्ठीमा नेपाली कांग्रेसका सभापति सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाले पठाउनुभएको शुभकामना सन्देश प्रतिष्ठानका सदस्य ईन्द्र क्षेत्रीले बाचन गरेर सुनाउनु भएको थियो ।
सन्देशमा प्रधानमन्त्री कोइरालाले स्व.जननायक कोइरालाको बिचार, नेपालमा प्रजातन्त्रको स्थापनार्थ भएको २००७ सालको क्रान्तिमा उहाँले प्रदान गर्नुभएको नेतृत्व, प्रजातन्त्रको सस्थागत विकासका लागि उहाँले पुर्याइएको योगदान र नेपालको आधुनिक साहित्यको श्रीबृद्धिमा पुर्याउनु भएको बिशिष्ट योगदानकका बारेमा समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रमुख आतिथिको आसनबाट बोल्दै बिपी चिन्तन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हरिबोल भट्टराईले प्रजातान्त्रिक समाजबाद विश्वको भविष्यको लहर हो भन्ने बिपीको भनाईलाई उधृत गर्दै बहुआयामिक व्यक्तित्वका धनी बिपी कोइरालाका राष्ट्रियता प्रजातन्त्र र समाजबाद सम्वन्धि बिचारहरु व्यवहारिक रुपमा पनि कालजयी रहेको बताउँनुभयो ।
नेपाली दुतावास ब्रसेल्सका द्वितीय सचिव लक्ष्मण खनालले बिशिष्ठ अतिथिको आसनबाट बोल्दै बिपी नेपाली साहित्य र राजनीतिका समेत सदा स्मरणीय उज्ज्वल नक्षत्र रहेको बताउनुभयो ।
बिपीका साहित्यका बारेमा चर्चा गर्दै एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले बिपी कुनै दल बिशेषको नेता मात्र नभई बिशिष्ठ राजनेता भएको चर्चा गर्नुभयो ।
अनेसासका उपाध्यक्ष राजकुमार पुडासैनीले बीपीका साहित्यिक कृतिहरुको बारेमा बिश्लेषण गर्नुभयो ।
कार्यक्रमको उतरार्धमा साहित्यकारहरु क्रमश हरी पौडेल, बिमल गिरी, दिपेन्द्र के सी, ईन्द्र क्षेत्री, युवराज गुरुङ, सीता सापकोटा, डिल्लीराम अम्माई, किसन के सी, सुर्य ढकाल, बालकृष्ण कडेल, राजकुमार पुडासैनी, बिष्णु सापकोटा, इश्वरा शर्माले बिपी र बर्तमान राजनीतिका बारेमा कबिता बाचन गर्नुभएको थियो ।
शिवकुमार बढुवाल, कृष्ण रेग्मी, विश्व साईकल यात्री बृहेस दाहाल, यसोदा थापा, शैलेश कुमार मल्ल, सन्तोष न्यौपाने र दिपक ज्योति पौडेलका ईमेल मार्फत प्राप्त भएका कबिताहरु पनि कार्यक्रममा बाचन गरिएका थिए ।
बिपी स्मृति प्रतिष्ठान बेल्जियमका संयोजक ध्रुबराजले सभापतिको आसनबाट बोल्दै बिपी स्मृति प्रतिष्ठान बेल्जियमले आफ्नो स्थापना काल देखिने बिपीका बारेमा बिबिध कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

उपस्थित सम्पूर्ण महानुभाव हरुलाई आयोजकका तर्फबाट प्रतिष्ठानकी सदस्य सचिव सीता सापकोटाले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने प्रतिष्ठानका सदस्य ओम शर्माले सभागीहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
अनेसास बेल्जियमका अध्यक्ष तथा कार्यक्रम आयोजक समितिका सदस्य सचिव दिपेन्द्र के सी द्वारा संचालित उक्त साहित्यिक गोष्ठीमा एनआरएन आईसीसी सदस्य शिवकुमार बडुवाल, आईसीसी सल्लहाकार यूवराज गुरुङ, एनआरएन नेदरल्याण्डका पूर्व अध्यक्ष हरी पौडेल, नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशी, नेपाली जनप्रगतिशील मंचका चित्र सुवेदी, जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक, नेपाली एकता समाजका अध्यक्ष बालकृष्ण कडेल, ईन्द्रधनुष क्लवका अध्यक्ष सुर्य ढकाल, क्षेत्री समाजका अध्यक्ष मोहन खत्री, नेपाल ब्रसेल्स मिलन केन्द्रका अध्यक्ष ईश्वरा शर्मा, नवलपरासी सहायता समाजका उपाध्यक्ष राम पुन, यूरो नेपाल खेलाडी संघ का अध्यक्ष किसन के सी, व्यवसायी संघ का अध्यक्ष हरी थपलिया, पत्रकार डिल्ली अम्माई, सिएन टिबी का मदन गुरुङ, एनभिया पार्टीका जिल्ला सदस्य कृष्ण रेग्मी, पर्वत समाजका अध्यक्ष केदार जोशी, एनआरएन आन्त्रोपेन क्षेत्रीय अध्यक्ष रंजन सिम्खडाको समेत सभागिता रहेको थियो ।















प्रतिक्रिया