विजय थापा
अमेरिका जहाँ मिनेटको पनि ठूलो महत्व छ । अझ घण्टाको त कति महत्वपूर्ण कति । एक घण्टा काम गर्दा एकजना परिवारलाई त्यो दिनको गर्जो टर्छ । यो परदेशमा आएपनि नेपाल र नेपालीबाट टाढा हुन कहाँ सकिँदोरहेछ र । त्यसैले त समुदायका लागि केही पनि नभनी दौडिरहेका छौं हामी, जस नपाएपनि ।
हुन त सेवा जस्तो ठूलो धर्म दुनियाँमा केही हुँदैन । सेवाको लागि अर्थदान र भौतिक दान मात्र हुँदैन । बिबिध प्रकारबाट समाज सेवा गर्न सकिन्छ । मानिसले चाहना मात्र राख्नुपर्छ जहाँ पनि, जहिले पनि, जस्तो अवस्थामा पनि सामाजिक या मानवीय सेवा गर्न सकिने हुन्छ । समाज सेवाको लागि उमेरले छेक्दैन । भनिन्छ, समाज सेवा आफूमा पुगी सरि आए पछि मात्र गरिन्छ । आफूसंग केही दिने छैन भने समाज सेवा नगर्दा हुन्छ भन्ने ठूलो जमात छ किनभने समाज सेवा गर्दा अर्थ खर्चिन्छ ।
समाज सेवा कलमबाट गर्न सकिने अवस्था हामी नेपालीलाई छ या छैन । समाज सेवा धन कमाएपछि मात्र गर्दा ठिक हुन्छ भन्ने कुरा तर्क राख्दा बहसको बिषय बन्न सक्छ । तसर्थ कलमबाट पनि समाज सेवा हुन् सक्छ भन्ने कुरामा प्रकाश पर्न उचित होला । कलम चलाउने पेशामा कबि, साहित्यकार, लेखक, उपन्यासकार, पत्रकार तथा अन्य अनगिन्ती पेशामा रहेकाले गर्ने गर्दछन ।
कलम चलाए वापत जीवन धान्न होस् या दैनिक जीवन गुजार्न अर्थ चाहिन्छ । यो बिना हावा खाएर जीवन धान्न सकिने छैन । कसैले पनि फाल्तुमा कलम चलाउँछ भने कलम चलाउनेको जीवनको अनुसन्धानको बिषय बन्न सक्दछ । कलमबाट सेवा भन्न थाल्यो भन्ने विश्वासको वातावरण नहुन् सक्छ । किनभने कलम चलाउनेले धन कमाउँछन र कमाउनु पनि पर्छ । परिवार पाल्न पेशागत रुपमा कलम चलाउनेले अर्थको अपेक्षा गर्दछ । कलम चलाए वापत अर्थ प्राप्त गर्दछ र जीवनयापन चलाई रहेको हुन्छ । पैसा नदिई विदेशमा काम लगाउन पाइदैन । आफैले स्वयम् सेवा गर्छु भने खुशी खुसी पाइने हुन्छ ।
अमेरिकामा बिभिन्न संघ तथा संस्थासंग आबद्ध भै अनुभव बटुलेको र सामाजिक संस्थासंग पदाधिकारी भै सेवा पुर्याएकोले कालान्तरमा कलमबाट समाज सेवा गर्ने भन्ने आफ्नो बिबेकले ठहर्याएकोले त्यो तर्फ उन्मुख हुने अवस्थामा यो पंक्तिकार पुगेको हुँ । सामाजिक सेवाप्रति बितृष्णा नभै सत्य र तथ्य कलम चलाउनेले मात्र यथार्थता सतह बाहिर ल्याउन सक्ने छन् । आफुले भ्याएसम्म कलम चलाउने र अमेरिकाभरका गतिबिधि तथा बिबिध बिषयलाई सूचना तपाईंको अधिकार भन्ने मान्यतालाई बिश्वब्यापी पुर्याउने आफ्नो ध्येय रहेकोले कलमबाट समाज सेवा गर्ने प्रतिबद्धता गर्दै समुदायको ठुलो अपेक्षा रहेको छ ।
कलम चलाउनेले परिश्रम गरेबापत पारिश्रमिक पाउँदछन । अमेरिका जस्तो मुलुकमा श्रम खर्च गर्ने बितिकै रकम प्रदान गर्नुपर्ने हुन्छ । आफुले समय व्यवस्थापन गर्दै समाजको भलोको लागि कलम चलाउने पंक्तिकारले निधो गरि अगाडी बढ्ने सोच बनाई सकेकोले निस्वार्थ रुपमा कलम चल्ने छ । आफ्नो लागि फगत प्रचार र प्रसार नगरी आफू अवैतनिक रुपमा कलम चलाउने भएकोले ब्यबहारिक रुपमा समयले बोल्दै जाने छ ।
अमेरिकामा व्यस्त जीवन छ । समयको अभाव रहेता पनि कलम चलाउँदा समाजले केहि पाउँछ भने भने त्यो भन्दा ठूलो कलम चलाउनेलाई आनन्द केहि हुदैन । समाज र समुदायमा रहेका वास्तविकतालाई केलाउँदै ,निफन्दै र छान्दै सत्य वस्तु उजागार गर्नु कलम चलाउनेको परम कर्तब्य हुने हुनाले त्यो वर्गमा आफूलाई समाहित गर्न आफ्नो हर कोसिस रहने प्रतिबद्धता रहेको छ ।
समाज सेवा भन्ने शब्द सस्तो हुन् थालेको छ । स्वदेशमा भन्दा विदेशमा समाज सेवा र समाजसेवी शब्दहरु नेपाली समुदायको लागि ज्यादा चिरपरिचित हुन् थालिसकेको छ । समाज सेवा बारेमा लेख्दा कतै अर्थले अनर्थ हुने त हैन भन्ने लाग्नु स्वाभाविक हुन्छ । समाज सेवा र समाजसेवी भन्ने शब्दहरुमा अल्मलिनु हुदैन किनभने जसले जे भने पनि टाउको दुखाई रहनु पर्दैन किनभने त्यो उसको व्यैक्तिक स्वतन्त्रता हो । समाज सेवा र समाजसेवी भनि यी शब्दहरुलाई सस्तो बनाउँनु हुदैन । परदेशमा यी शब्दहरु यति सस्ता भएका छन् कि कुनै संस्थामा आबद्ध हुनासाथ उ समाजसेवी भै हाल्छ ।
समाज सेवा गर्ने अनेक उपाय र तरिका भएता पनि पंक्तिकारले अमेरिका जस्तो मुलुकमा केवल समुदायको लागि कलमबाट समाज सेवा गर्न आँट गर्दै संचार माध्यममा लेखमार्फत सन्देश पुर्याउने सुक्ष्म हिम्मत गरेको छ । यस लेखाईप्रति बहस र छलफल गर्नु भन्दा अवैतनिक रुपमा समाज सेवा कलमबाट गर्ने सोच बनाएकोमा सकारात्मक पृष्ठ पोषणको अपेक्षा गर्दछु । कलमबाट समाज सेवा गर्ने कटिबद्धता जाहेर गर्दै संघ तथा संस्थामा पदीय जिम्मेबारी बहन गर्न लोभिने रहर त्याग्दै निरन्तर कलम घुमाउने विश्वास दिलाउदै…बिदा ।
(लेखक एशोसिशयन अफ नेप्लिज इन अमेरिकाका महासचिव हुन् ।)














प्रतिक्रिया