काठमाडौँ, २४ भदौ । सरकारले मध्यपश्चिमाञ्चलका हालै बाँके, बर्दिया, सुर्खेत र दाङमा हालैको बाढी पहिरोमा परी ९३ जनाको ज्यान गएको र ११२ जना हराइरहेका जनाएको छ । उक्त दैवी बिपीत्तमा परी २९ जना घाइते भएका छन् ।
बाढी पहिरो प्रभावित ती जिल्लाको स्थलगत निरीक्षण गरी उद्धार, सहयोगलगायत काममा समन्वय गर्न सरकारका तर्फबाट खटिनुभएका वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले थप सहयोगका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न मंगलबार अर्थ मन्त्रालयमा विकासका साझेदारहरूलाई जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा उक्त जानकारी दिनुभएको हो ।
बाढी पहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै मन्त्री थापाले एक लाख ३० हजार ४२८ जना प्रभावित भएका, सात हजार ४३१ घर पूर्णरुपमा ध्वस्त भएका, १९ हजार ६७९ घरमा आंशिक क्षति भएको र तीन हजार ९४ घरमा सामान्य नोक्सानी भएको बताउनुभयो ।
पीडित परिवारलाई तत्काल छ महिनाका लागि पुग्ने खाद्य सामग्री, गर्भवती र बालबालिकाका निम्ति पौष्टिक खाद्य पदार्थ, स्वास्थ्योपचार सेवा, भौतिक पूर्वाधार निर्माण, पुनर्वास एवम् पुनःस्थापना, लत्ताकपडा, कम्बललगायत ओढ्नेओछ्याउने सामानको व्यवस्था गर्न जरुरी भएको जानकारी पनि मन्त्री थापाले दिनुभयो ।
त्यस अवसरमा नेपालको विकासका साझेदारले प्रभावित व्यक्तिका साथै महिला, बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने भन्दै आफूहरूबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त भएको थियो ।
यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङ, संयुक्त राष्ट्रसङ्घका आवासीय मानवीय समन्वयकर्ता जिमी म्याकगोल्डरिकलगायत नेपालको विकासका साझेदार संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । रासस
















प्रतिक्रिया