३० आश्विन २०८३, शुक्रबार

एमाओवादी नेतृत्व र मजदुर नेताबीच द्वन्द्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flagकाठमाडौं, २३ भदौ । एकीकृत नेकपा माओवादीको नेतृत्व र पार्टीको शक्तिशाली मानिने संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको नेतृत्वबीच द्वन्द्व बढेको छ।

आसन्न भदौ २९–३१ का लागि तय भएको टे्रड युनियनको महाधिवेशनलाई अन्तिम समयमा रोक्न पार्टी केन्द्रले निर्देशन दिएलगत्तै पार्टी नेतृत्व र मजदुर संगठनको नेतृत्वबीच द्वन्द्व बढेको हो।

टे्रड युनियन नेतृत्वले महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएकाले घोषित मितिमै सम्पन्न गराउने बताएको छ भने एमाओवादी नेतृत्वले ुपार्टी र क्रान्तिका लागिु भन्दै तत्काल महाधिवेशन स्थगन गर्नुपर्ने पक्षमा जोड गर्दै आएको छ।

पार्टी केन्द्रीय कार्यालयले स्थगित गर्न निर्देशन दिए पनि अन्तिम तयारीमा पुगेको महाधिवेशन रोक्न नहुने ट्रेड युनियन अध्यक्ष शालिकराम जमरकट्टेलले बताए।

‘पार्टीले रोक्न निर्देशन दिए पनि महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अवस्थामा रोक्नु हुँदैन भन्नेमा हामी छौं,’ जमरकट्टेलले भने, ‘आफ्नो निर्णय फिर्ता लिइदिन नेतृत्वसँग कुरा गरिरहेका छौं।’ उनका अनुसार अन्य संगठनमा जस्तो ट्रेड युनियनमा आन्तरिक विवाद नभएकाले रोक्नुपर्ने कुनै कारण छैन।

अध्यक्ष पुष्पकमल दाहाल र महासचिव कृष्णबहादुर महराले केन्द्रीय कार्यालयका तर्फबाट भदौ १९ गते सर्कुलर जारी गर्दै ‘पार्टी र क्रान्तिका लागिु महाधिवेशन (भदौ २९–३१)  रोक्न निर्देशन दिएका थिए। ‘कानुनी समस्याबारे गम्भीरतापूर्वक छलफल गर्दा महासंघको २०७१ भदौ २९–३१ गते हुने भनिएको महाधिवेशन स्थगन गर्नु नै पार्टी र क्रान्तिको हितमा हुने देखिएकाले केन्द्रीय कार्यालयबाट यो परिपत्र पठाइएको छ,’ दाहाल–महराद्वारा संयुक्त रुपमा हस्ताक्षरित परिपत्रमा भनिएको छ,’ यसैअनुसार गर्न–गराउन हुन निर्देशित गरिन्छ।’

अध्यक्ष दाहाल र महराको सर्कुलर आएकै दिन अध्यक्ष जमरकट्टेलले सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरेका छन्। ‘जबसम्म अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशन रोकिएको सर्कुलर महासंघद्वारा गरिँदैन, तबसम्म त्यो आधिकारिक हुँदैन, यो विधि र प्रक्रियासंगत पनि हुँदैन,’ नेतृत्वको परिपत्रमा असन्तुष्टि जनाउँदै जमरकट्टेलले लेखेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

युनियनले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको मुख्य हल तीन दिनका लागि भाडामा लिइसकेको छ भने प्रतिनिधिलाई बसाउनका लागि सुन्धारमा ३ सय ५० कोठा बुक गराएको छ। करिब १ हजार प्रतिनिधिका लागि प्रतिनिधि पास, कापी, कलम, हाफ ज्याकेटसहित दिउँसोको खाजाको बन्दोबस्त पनि गरिसकेको अवस्थामा महाधिवेशन रोक्न नहुने युनियन नेतृत्वको भनाइ छ।

वैचारिक सुस्पष्टतासहित रुपान्तरित संगठन र नयाँ कार्ययोजना आजको आवश्यकता, मजदुर अधिकारसहित औद्योगिक विकासका लागि क्रान्तिकारी मजदुरको एकताु भन्ने मूल नारासहित महाधिवेशन हुँदैछ। एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, एक महिलासहित तीन उपमहासचिव, एक महिलासहित तीन सचिव र एक कोषाध्यक्षसहित ११ पदाधिकारी रहने व्यवस्था विधानले गरेको छ।

पेसागत संगठनका अध्यक्ष स्वतः केन्द्रीय सदस्य हुने र हलले ४० जना बराबरलाई नेतृत्वका लागि प्रतिस्पर्धा गराउनेछ। करिब ८१ जनाको केन्द्रीय समितिका लागि देशभरिबाट ३५ हजार मजदुरले सदस्यता नवीकरण गरेका छन् भने महाधिवेशनका लागि भनेर असोज मसान्तसम्मको एकमुष्ट १ सय ६० रुपैयाँ शुल्क पनि उठाइएको छ।