३० आश्विन २०८३, शुक्रबार

मनपर्दी शुल्क असुल्दै मेडिकल कलेज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Medical Councelकाठमाडौं, २२ भदौ । मेडिकल कलेजहरूले मन्त्रिपरिषद तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निर्देशन मिच्दै यस वर्ष पनि मनपर्दी शुल्क लिएर भर्ना सुरु गरेका छन्।

विद्यार्थीसँग लिने शुल्कमा एकरूपता कायम गर्न मन्त्रिपरिषद तथा आयोगले मेडिकल कलेजलाई छुट्टाछुट्टै निर्देशन दिए पनि कलेजहरुले आफूखुसी एकमुष्ठ ५५ लाख रुपैयाँसम्म शुल्क लिएर भर्ना लिइरहेका छन्। बिहीबारयता उनीहरुले ठूलो संख्यामा भर्ना लिइसकेका छन्।

मेडिकल कलेजको शुल्क, सम्बन्धन र गुणस्तरसम्बन्धमा समीक्षा र पुनरावलोकन गर्न चार वर्षअघि गठित उच्चस्तरीय समितिले २०६८ चैतमा ३० लाख ४६ हजार ९ सय ५ रुपैयाँसम्म लिन सक्ने गरी शुल्क तोक्न सिफारिस गरेको थियो।

सुरुमा समितिले २५ लाख ३९ हजार तोक्न भनेकामा कलेजहरूले नपुग्ने अडान राखेपछि सबै हिसाबकिताब गरेर उक्त सिफारिस गरिएको हो।

यसै आधारमा मन्त्रिपरिषदले उक्त शुल्कमध्ये पहिलो वर्ष एकतिहाइ र बाँकी समानुपातिक रूपमा प्रत्येक वर्ष लिने व्यवस्था गर्न निर्देशन दिएको थियो। अख्तियारले पनि गत वैशाख २६ मा मेडिकल कलेजहरूलाई शुल्कमा एकरूपता कायम गर्न निर्देशन दिएको थियो।

अधिकांश कलेजले यी दुवै निर्देशन लत्याइरहेका छन्। सबैतिर एकमुष्ठ शुल्क बुझाउनेलाई नै प्राथमिकता दिने गरिएको छ।

मेडिकल कलेजहरूले कुन वर्ष कति विद्यार्थी भर्ना लिन पाउँछन् भन्ने कोटा मेडिकल काउन्सिलले तोक्ने गर्छ। यसका लागि काउन्सिलले आगामी बिहीबार फ्याकल्टी बोर्डको बैठक डाकेको छ। कलेजहरूले भने यसअघि नै भर्ना प्रक्रिया सुरु गरिसकेका छन्। मेडिकलतर्फ एमबिबिएस पढाइ सञ्चालन गर्ने त्रिभुवन ९त्रिवि० र काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतका सबै कलेजले भर्ना खुला गरेका छन्।

त्रिविअन्तर्गत कलेजका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले गत शनिबार लिएको प्रवेश परीक्षाको नतिजा बुधबार मात्रै प्रकाशित गरेको थियो। केयुले भदौ २८ गतेका लागि प्रवेश परीक्षा तोकेको छ।

यो शैक्षिक वर्षमा आइओएम, महाराजगन्जले विदेशी विद्यार्थीका लागि ६५ हजार अमेरिकी डलर र नेपालीतर्फ ३२ लाख रुपैयाँ शुल्क तोकेको छ। नेपाली विद्यार्थीका लागि तोकिएको शुल्क समितिको सिफारिस बराबर भए पनि आइओएम मातहतका कलेजको शुल्कमा भने एकरूपता छैन। आइओएमअन्तर्गतको नेपाल आर्मी मेडिकल कलेजले बाहिर शुल्क नखुलाई ४० लाखसम्म एकमुष्ठ लिइरहेको छ।

त्रिविअन्तर्गतकै चितवन मेडिकल कलेजले एकमुष्ट ४५ लाख र किस्ताबन्दीमा ५३ लाख शुल्क तोकेको छ। भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले एकमुष्ठ ४९ लाख र किस्ताबन्दीमा ५५ लाख लिइरहेको छ। पोखरास्थित गण्डकी मेडिकल कलेजले एकमुष्ठ ४९ लाख र किस्ताबन्दीमा ५५ लाख निर्धारण गरेको छ। त्यस्तै, किस्ट, जानकी, नेसनलले पनि ५५ लाखसम्म शुल्क तोकेका छन्।

प्रवेश परीक्षा नै भइनसकेको केयुअन्तर्गतका मणिपाल, नेपालगन्ज, भरतपुर, काठमाडौं, नेपाल मेडिकल, नोबल र लुम्बिनी मेडिकल कलेजले समेत ५५ लाखकै हाराहारी शुल्क लिइरहेका छन्। यी कलेजले सुरुमा २५ लाख धरौटी लिएर नाम लेखाउन सक्ने अफर दिएका छन्।

केयुका उपकुलपति डा. रामकण्ठ माकाजुले आफू पूर्ण प्राज्ञिक काममा लागेकाले शुल्कजस्ता सानातिना विषयमा ध्यान दिन नभ्याएको बताए।
टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनशनपछि गठित उच्चस्तरीय सुझाव समितिले शुल्क एकरूपतासँगै भर्ना प्रणालीलाई मेरिटमा आधारित गराउन सुझाव दिएको थियो। आइओएमले भने त्यसलाई बेवास्ता गरिरहेको समाचार आजको नागरिक दैनिकले छापेको छ।

उच्च माविमा प्रमुख विषयमा ५० अंकसहित ५० प्रतिशत ल्याउनेलाई विश्वविद्यालयको परीक्षामा ५० अंक कटाएपछि एमबिबिएस पढ्न योग्य मानिन्छ। यही नियमको फाइदा उठाउँदै आइओएमले नै सिट–संख्याभन्दा धेरै गुणा बढी विद्यार्थी पास गराएर भर्नामा बार्गेनिङ गर्ने र बढी पैसा तिर्नेले पढ्न पाउने अवस्था सिर्जना गरिदिएको छ।