काठमाडौं, २० भदौ । टेन्डर भन्नेबित्तिकै वस्तु वा सेवा बेच्ने भए कम र किन्ने भए बढी मूल्य दिएर काम हात पार्ने प्रक्रिया हो।
तर, जताततै कार्टेलिङ हुने नेपालमा त्यसो हुँदैन। प्रतिस्पर्धा गर्नुपर्ने व्यवसायी नै एकआपसमा मिल्छन् र घटाघट हुनुपर्नेमा बढी र बढाबढ हुनुपर्नेमा घटी मूल्य कबोलिन्छ।
व्यवसायी मिलेर बढिबढाउ वा घटिघटाउ जस्ता टेन्डरका आधारभूत प्रक्रिया नै अवरुद्ध पारेपछि नेपाल खाद्य संस्थानले चार वर्षदेखि चामल किन्न सकेको छैन।
आपूर्तिकर्ताबीच प्रतिस्पर्धा गराएर सकेसम्म कम मूल्यमा चामल किन्न टेन्डर आह्वान गर्दा व्यवसायीले बजार मूल्यभन्दा पनि धेरैको प्रस्ताव पेस गरेपछि संस्थानले किन्न नसकेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
प्रस्तावित मूल्य बजारको भन्दा धेरै भएपछि टेन्डर दिन नसकेको संस्थानका नायब महाप्रबन्धक नवराज उपाध्यायले बताए। ‘हामीले चार वर्षदेखि चामल किन्न सकेका छैनौं,’ उपाध्यायले भने, ‘बजार मूल्यभन्दा धेरैमा हामी किन्न सक्दैनौं।’
संस्थानले चार वर्षमा तीनपटक चामल किन्न टेन्डर आह्वान गरेको थियो। तीनैपटक किन्न सकेन। ‘प्रत्येकपटकको टेन्डरमा हामीले तोकेको मूल्यभन्दा धेरैको प्रस्ताव आयो,’ उपाध्यायले भने, ‘यसले टेन्डरमा मिलोमतो भएको पुष्टि गर्छ।’
चामल ढुवानीमा पनि यस्तै समस्या रहेको संस्थानले जनाएको छ। ढुवानीको टेन्डरमा पनि व्यापारीबाट कार्टेलिङ हुँदै आएको संस्थानको अनुभव छ।















प्रतिक्रिया