२८ आश्विन २०८३, बुधबार

जापान पुगेर मोदीले बुद्धबारे झुटो बोलेकै हुन त ? (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kavita-ram-shrestha

समाचार टिप्पणी: डा. कविताराम श्रेष्ठ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धभूमिसँग सम्बन्धित बोलेका कुराहरू बेलाबेलामा विवादास्पद मानी नेपाली जनमानसमा शंका उपशंका छाइरहेको छ ।

पहिले नरेन्द्र मोदीले प्रधानमन्त्री हुनुपूर्व निर्वाचनको प्रचार अभियानका क्रममा जनसभालाई सम्बोधन गर्दा ‘बिहारले बुद्ध दिएको छ’ भनेका थिए। विवाद धेरै भयो । हामीमध्ये केही उनको आशय ‘बुद्ध भारतमा जन्मेको हो’ भन्ने मानी रिसायौं । तर उनले बचेर भनेका थिए भन्ने उनकै शव्दले बताइरहेको छ । उनका शव्दले नभनेका कुरामा हामी आफैले यो अर्थ दिएका थियौं ।

यो कुरा नसेलाउँदैमा उनी नेपाल आए र नेपालको सम्बिधानसभामा बडो भावुक ढंगमा खुलेरै ‘नेपाल बुद्ध जन्मेको देश’ त भने नै, साथै थपेर ‘युद्धबाट बुद्ध मार्गमा अवतरण भएको नेपाली अनुभवबाट विश्वले सिक्ने कुरा हो’ भनी अति संवेदनशील भाषण ठोके । हामी हेरेको हेर्यै भयौं । उनले यो बोल्लान भन्ने कसैले सोचेका थिएनौं । विशेष ‘बुद्ध भारतमै जन्मेको हो’ भन्ने कुटिल प्रयासहरू भारतीय संचार माध्यमबाट भैरहेको सन्दर्भमा हामीहरूलाई यो आश्चर्यचकित हुने घटना भयो । हामी दङ्ग पर्यौं । पहिले हामीले जे जसरी बुझेका थियौं त्यसलाई बिर्सेर यसैमा मक्ख पर्यौ ।

यत्ति मात्र होइन, लगत्तै उनले भारतको स्वतन्त्रता दिवसको करोडौं भारतीयलाई लाल्किल्लाबाट सम्बोधन गर्दा यही कुरो बखान लाउँदै भारतले समेत बुद्धको देश नेपालबाट सिक्ने कुराको उद्घोष गरे । हामी झनै उनीप्रति मोहित हुन पुग्यौं ।

modiअब अहिले त्यो कुरो सेलाउन नपाउंदै मोदीले जापान भ्रमणका क्रममा टोकियोको स्याक्रेड हार्ट विश्वविद्यालयका बिद्यार्थीहरूसंगको अन्तरक्रिया कार्यक्रममा ‘भारत भगवान बुद्धको धरती हो’ भनेछन् र हामी फेरि विच्किएर आफ्ना असन्तुष्टि पोख्न लागेका छौं । यसै सन्दर्भमा म यो लेख लेख्दै छु । यो भन्न कि उनले उपरोक्त चारै ठाउँमा बोलेका कुरामा कुनै विरोधाभास छैन । हामीले बुझ्न मात्र बाँकी भएको हो ।

उनका चारैपल्ट्का भाषणहरूलाई गम्भीरपूर्वक हेर्नुहोस । कुनैमा उनले ‘बुद्धको जन्म लुम्बिनी नेपालमा भएको’ भन्ने सत्यलाई खण्डित गरेका छैनन्। जस्तै: पहिलो भाषणमा ‘बिहारले बुद्ध दिए’ भनेका छन्, ‘जन्माए’ भनेका छैनन्।

दोस्रो, नेपालको संविधानसभामा र तेस्रो, भारतका लालकिल्लामा बुद्ध नेपालको लुम्बिनीमा जन्मेको खुल्लै शव्दमा उद्घोष गरेका छन् । चौथो, जापानमा ‘भारत बुद्धको धरती हो’ भनेका छन्। ‘त्यहाँ जन्मे’ भनेका छैनन् ।

आफ्नो ब्रह्मलाई साक्षी राखेर मैले सोच्दा मोदीका यी भनाइ पछाडि कुटिलता देखिन । किनभने सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा महाभिनिष्क्रमण लिई लुम्बिनी छोडेर कडा तपस्या गरी बोधगयामा ३६ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए र यो आज बिहारमै पर्दछ । यसरी बुद्ध पहिलोपल्ट ‘बुद्ध’ बनेको त बोधगया बिहारमै हो । अनि बिहार भन्ने शव्दै बौद्ध विहारबाट बनेको मानिन्छ। यस क्षत्रमा यत्ति विहारहरू बनेका छन् कि यो राज्यको नाम नै उनीहरूले बिहार राख्न पुगे । अनि त मोदीले आफ्ना भारतीय जनताका अघि गर्वकासाथ चुनावी कार्यक्रममा बिहारको शान राख्न यति किन नबोलोस त ? नेपालीभूमिले जन्माएको सिद्धार्थलाई बुद्ध बनाउने जस त साँच्चै नै बिहारलाई छ नै । र बचेर मोदीले मात्र ‘बिहारले बुद्ध दिए’ भने । ‘जन्माए’ भनेनन् ।

अर्को उनले ‘बुद्धको धरती भारत’ भने । भिडियो सुन्दा स्पष्ट हुन्छ कि मोदीले शान्प्रिियता र अहिंशाको मार्गमा चलेको भारतको सन्दर्भ जोड्दा भारत ‘भूमी बुद्धको धर्ति हो’ भनेका रहेछन ।

यसमा आपत्तिजनक कुरा मैले देखिन । यसमा ‘बुद्ध भारत जन्मे’ भनेको अर्थ लाउन सक्दैनौं । उ बेलाको शाक्य गणराज्य र उनका मावली कोलिय गण राज्यसमेत आज नेपाल र भारत दुबैको सरहदमा पर्दछ । दुबैले आफ्ना भूमिलाई बुद्धको भूमि भन्न मिल्छ र मोदीले जापानमा यसो भन्न भन्दा पहिले नै नेपाल र भारत दुवै ठाउँमा ‘बुद्धभूमि नेपाल’ भनेर कुर्लेका छन् । यो कदाचित झुठो कसैले साबित गर्न सक्ने कुरो होइन ।

मलाइ लाग्छ मोदीले यत्तिसम्म बोलीरहंदा त्यसमाथि कुटिलता हामीले देखिरहन पर्दैन । आजकै भूगोलमा हेर्ने हो भने बुद्धको सम्बेजनिय स्थान (तीर्थस्थल) नेपालमा एउटा छ भने भारतमा ३ वटा छन् । बुद्धत्व प्राप्त गरेपछि बुद्धको सम्पूर्ण समय आजको भारतीय भूमिमै बितेको देखिन्छ । र, बुद्ध धर्मको प्रवर्द्धनकार्यमा पनि आजको भारतीय भूमिमा धेरै भएको देखिन्छ । हर्षवर्द्धन र अशोकको देनलाई इतिहाले स्वर्ण अक्षरले लेखेको छ । यो सब कारणले मोदीले बुद्धको यस विचरण र कार्यक्षत्रलाई बुद्धको भूमि भन्नमा कुनै अत्युक्ति हुन्न र सत्यको पर्याय बुद्धको सन्तति हामीलाई त्यो सत्य स्वीकार्न कुनै गाह्रो छैन । निश्चय नै जति नेपाल बुद्धको भूमि हो त्यति नै आजको भारतीय भूमि पनि हो ।

buddha-birthpalace-Nepal2

तल म बुद्ध सम्बन्धित ४ सम्बेजनिय क्षेत्र (तीर्थस्थल) को छोटो बिबेचना गर्दछु, जसले पाठकहरूलाई यस विवाद बारे सही र सत्यको आभास दिने छ ।

१. लुम्बिनीः बुद्धको जन्म लुम्बिनीमा भयो । बौद्ध धर्मालम्बीहरूको चार सम्बेजनिया स्थान (तीर्थस्थल) मध्ये लुम्बिनी एक हो । लुम्बिनी नेपालको सरहद भित्र पर्दछ । उबेलाको बुद्धको देश शाक्य गणराज्य आजको नेपाल र भारत दुवै देशमा फैलिएको छ । त्यसको राजधानी कपिलवस्तु भने नेपालमा पर्दछ । यसलाई हाल तिलौराकोट भनिन्छ । बुद्धको लालनपालनदेखि २९ वर्षको उमेरसम्मका शिक्षा दीक्षा आदि कपिलवस्तु अर्थात आजको तिलौराकोटमा भयो । उनको मावली देवदह पनि हाल नेपाल र भारत दुवै देशमा फैलिएको छ ।

२. बोधगयाः बुद्धको नाम बुद्ध हुन अघि सिद्धार्थ गौतम थियो । शिद्धार्थले २९ वर्षको उमेरमा महाभिनिष्क्रमण लिएर राजगृहमा गई तपस्या गरे । ३६ वर्ष टेकेकै दिन उनले एक रूखको मुनी बुद्धत्व प्राप्त गरे र बुद्ध बने । जुन रूख मुनि उनले बुद्धत्व प्राप्त गरे त्यसलाई बोधीवृक्ष भनियो, जुन स्थानमा उनले बुद्धत्व प्राप्त गरे त्यो स्थानलाइ बोधगया भनियो । यो स्थान हाल भारतमा पर्दछ । यो स्थान पनि चार सम्बेजनिय स्थानमा एक हो ।

३. सारनाथ: बुद्धले आफ्नो बोधिज्ञान जुन ठाउँमा पहिलोपल्ट दिए, त्यो सारनाथ थियो । यो स्थान पनि भारतमा पर्दछ र यो पनि चार सम्बेजनिय स्थानमा एक हो ।

४. कुशीनगर: बुद्धले ८० वर्षको उमेरसम्म साँची, कपिलवस्तु, वैसाली, राजगृह, स्रावस्थी, आदि धेरै क्षत्रमा घुमिघुमी संघहरू स्थापना गर्दै शिक्षा दिंदै यात्रा गरे र अन्तमा मल्लहरूको राज्य कुशीनगरमा पुगेर महापरिनिर्वाण लिए । त्यसैले यो कुशीनगर पनि एक सम्वेजनिय स्थान मानिन्छ ।

buddha-birthpalace-Nepal

यी ४ स्थानलाई सम्बेजनिय स्थान भनेर मान्न बुद्ध स्वयंले भनेका थिए र कुनै पनि स्थान एकार्कामा कम महत्ताका मानिएको छैन । हामी एक सम्बेजनिय स्थान लुम्बिनीको लागि यत्रो गर्व लिन्छौं भने ३ सम्बेजनिय स्थान भएको भारतले किन यसको गर्व नलेलान् ? जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ुबुद्ध भारतमा जन्मेकोु भन्ने फजुल कुरा गरेका छैनन् र लुम्बिनीलाई सम्बेजनिय स्थान मानी नतमस्तक छन् भने किन उनलाई दोष मात्र दिइ राख्ने ? बुद्धले सिकाए बमोजिम एक छिन शान्त रही सम्यक सोचसाथ गम्ने हो कि ? के उनको उक्तिहरूमा कुटिलता साँच्चै छन् त ? लेखक लुम्विनी कपिलवस्तु दिवसका विश्व अभियानका अभियन्ता हुन् ।  

जापानमा मोदीको यो सम्बोधन हेर्नुहोस् :