काठमाडौ, १९ भदौ । संविधानका विवादित विषयमा छलफलका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी आज दिनभर छलफलमा जुट्ने भएका छन् ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानका अन्तरबस्तुमा शनिबारसम्म सहमति जुटाइसक्नुपर्ने समयसीमा रहेकाले पछिल्लो समय दलहरुले छलफललाई तीव्रता दिएका छन् ।
संविधानसभा भित्र र बाहिरका दल तथा सरोकार समूहसाग छलफल गरी सहमति जुटाउने म्यान्डेट पाएको समितिमा सबै दलका प्रमुख नेताहरु छन् ।
सबैभन्दा पहिले बिहान ८ बजे सिंहदरबारमा प्रमुख तीन दलको बैठक बस्नेछ । पहिले तीन दलबीच संविधानका अन्तरबस्तुमा सहमतिको प्रयास हुनेछ । दलहरुबीच मुख्य रुपमा राज्यको पुर्नसंरचना र शासकीय स्वरुपमा सहमति हुन बाँकी छ ।
त्यसैसाग जोडिएको न्यायपालिका र निर्वाचन प्रणालीका केही विषयमा भने संवाद समितिमातहतको उपसमितिले सहमति जुटाइसकेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
तीन दलले त्यसपछि मधेसवादीलगायत संविधानसभाभित्र रहेका अन्य साना दलसाग छलफल गर्नेछन् । त्यसैगरी संविधानसभा बाहिरको नेकपा-माओवादीसाग पनि छलफल गरिने भएको छ ।
प्रमुख तीन दल नेकपा-माओवादीसहितका संविधानसभाबाहिरका दलसमेत सम्मिलित सर्वपक्षीय सभा गर्नेमा सहमत भइसकेका छन् । त्यसको स्वरुपबारे सहमति जुटिसकेको छैन । तीन दलले त्यसमा सहमति गरी सर्वपक्षीय भेलाको स्वरुपबारे नेकपा-माओवादीसाग छलफल गर्नेछन् ।
‘संविधानसभाबाट पारित कार्यतालिकाभित्रै सहमति जुटाउन अब निरन्तर छलफलमा जुट्नुपर्छ । मैले सबै दलका शीर्ष नेता तथा सविधान निर्माण प्रक्रियामा रहनुभएका नेतालाई भदौ २१ गतेसम्म सार्वजनिकलगायत कुनै कार्यक्रम नराख्न आग्रह गरिसकेको छु,’ संवाद समितिका सभापति बाबुराम भट्टराईले भने ।















प्रतिक्रिया