२८ आश्विन २०८३, बुधबार

ती डन, के डन ? यी पो डन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep bhattarai

डनको पकडना मुस्किल ही नही नामुमकिन है ! हिन्दी चलचित्र डनको बहुचर्चित संवाद हो यो । अमिताभ वच्चनको डन होस् या शाहसुख खानको, दुबै संस्करणमा छ यो लोकप्रिय संवाद । किनकि, भारतसँग मात्र हैन, राजनीतिको अपराधिकरण भैरहेको विश्व भूभागको धेरै भूभागसँग यसको गहिरो सम्वन्ध छ । यसै त दिल्लीमा पानी पर्दा, काठमाडौंमा छाता ओढ्ने स्वभावको दशगजा मास्तिर रहेको नेपालमा यसको ठाडो प्रभाव नपर्ने कुरै भएन । अहिले पनि मुलुकका दुई पूर्वमन्त्री फौज्दारी मुद्दामा जेलका भीआइपी पाहुना भैरहेको नेपालमा त्यसको प्रभाव सजिलै आँक्न सकिन्छ ।

सामान्यत: डनहरू भूमिगत हुन्छन् । उनीहरू त्यही अपराधजगतको भूमिगत राज्यमा शासन गर्छन् । उनीहरूलाई दिनको हैन, रातको राजा भनिन्छ । नेपालमा भारतका जस्ता मल्टिनेशनल डन नभए पनि राष्ट्यि पैमानाका डनहरूको भने कमी छैन । पञ्चायतमा मण्डले हुन्थे, उनीहरू नै त्यस कालखण्डका डन थिए । तर, तिनीहरूमाथि राज्य व्यवस्थाको लगभग नियन्त्रण हुन्थ्यो । तिनीहरू एक किसिमले पगाहा लगाएका बोका जस्तै हुन्थे । तर, अहिलेको परिस्थिति फरक छ , अहिले मुलुकमा प्रजातन्त्रले जन्माएका र लोकतन्त्रले हुर्काएका हजारौ डन छन् । आज हरेक पार्टीका पार्टीगत डन छन् र अझ खतरनाक कुरा तिनीहरू पार्टी नियन्त्रित हैन कि पार्टी नै तिनीहरूबाट नियन्त्रित छ । चरी, घैटे, लामा, मनांगे, चक्रे यी त केही निमित्त डन मात्र हुन् । यिनलाई चलाउने डनहरू पार्टीमा कुनै न कुनै पद लिएर नेता बनेका छन् । र, आज नेपालका पार्टी तिनै नेता डनले चलाइरहेका छन् ।

केही समयअघि प्रहरी इन्काउन्टरमा मारिएका चरी डनकै कुरा गरौं न । उनी त विचरा डन मात्र रहेछन्, उनका पनि डन अर्थात् महान डन त एमाले नेता राजेन्द्र पाण्डे पो निस्किए । सदनदेखि संसदसम्म थर्काए यी माननीय नेता डनले । हुँदाहुँदा एमालेको झण्डा नै चरीको कात्रो बनाइदिए । एमालेका स्वाभीमानी नेता कार्यकर्ता तै चुप मै चुप भनेर हेरेको हेरै भए । यसले के पुष्टि गर्‍यो भने अव पार्टी नीतिले हैन, डनले चलाउन थालेछ । ब्यालेटबाट निस्कने नेतालाई ब्यालेट मात्र हैन, बुलेट पनि चाहिने रहेछ । ब्यालेट र बुलेट मिसाएर अहिले नेपालमा राजनीतिको तीव्र अपराधिकरण भैरहेको ज्वलन्त प्रमाण हो यो । झट्ट हेर्दा, तत्कालिन नाफा र नोक्सानको कोणबाट यो कोरा आरोप प्रत्यारोप जस्तो पनि देखिन सक्छ तर गम्भीर भएर हेर्ने हो भने अहिले नेपालमा विधि र विवेकको हैन, अनेक कलेबरमा रहेका डनहरूको वितण्डा चलिरहेको छ । बहुमतको निरंकुशता चलाइरहेका हरेक संस्थाका प्रमुखहरू आफैंमा डन हुन् भन्दा पनि फरक पर्दैन । उनीहरूले आआफ्ना संस्थालाई चलाइरहेको प्रक्रिया हेर्ने हो भने यो आफैंमा यो एक प्रकारको ठाडो डनगिरी नै हो ।

प्रसंग आम मान्छेले कुरा गर्ने खालका रातका राजा अर्थात् अपराध जगतका डनहरूको हैन । प्रसंग केही संस्थाहरू जहाँ विधानले जोजोम्यान भर्ती गर्छ र त्यसको नेतृत्वलाई वैधानिक डन बनाउँछ, तिनीहरूको हो । त्यस्ता डनहरूको उपल्लो सूचीमा रहेका दुई डनहरू एन्फाका गणेश थापा र नेपाल पर्यटन बोर्डका सुभाष निरौलाको बारेमा यहाँ सन्दर्भवस चर्चा गरिन्छ ।

एन्फा डन गणेश थापा

एन्फा डन गणेश थापाको कुरा गर्दा उनका दाइ कमल थापा र उनको पार्टी राप्रपा नेपालको पनि प्रसंग कोट्याउनुपर्ने हुन्छ । प्रसंग सिक्वेल संविधानसभाको चुनावदेखि सुरु गरौं । पोहोर यतिबेलैदेखि एउटा नाराले ठूलो वर्ड अफ माउथ पाएको थियो, बजमा पनि भाइरलमा पनि । एक भोटलाई दाइलाई, एक भोट गाइलाई । लैंगिकमैत्री नभएको यो नाराको दाइ भनेको शायद आआफ्नो पार्टीको उम्मेद्वार होला । गाइ त प्रष्ट छ, राप्रपा नेपालको मायावी गाई । नभन्दै दाइ बाँडिए पनि गाईले एकमुष्ट भोट पायो । दूरदराजका गाउँमा त माता लक्ष्मीको रुपमा पनि गाईले भोट पाउने नै भयो, मुलुकको लोकतान्त्रिक आन्दोलनकै केन्द्र काठमाडौंमा पनि गाईले यसरी भोट पायो कि सबैलाई उछिनेर पहिलो नै भयो काठमाडौं उपत्यकामा त गाई । यो लहर हैन, लहड कुनैबेला काठमाडौंमा नानीमैया दाहालले पाएकै मतको शैलीमा थियो । प्रकारान्तरमा, प्रत्यक्षतर्फ एउटै पनि सिट नजितेको राप्रपा नेपाल समानुपातिकतर्फ २४ सिट पाएर मुलुककै चौथो ठूलो राजनीतिक दलका रुपमा उभियो । यसले पञ्चायतका मण्डले कमल थापालाई लोकतन्त्रको डनको अवतार मिल्यो । उनले गाईलाई दिएको २४ सिट यसरी बाँडे मानौं गाईको मनितो गर्ने त कुरै छोडौं कान्जीहाउसमै पुर्‍याउने काम गरे । हुँदाहुँदा अहिले त लेखा समितिले बोलाएका, सर्वोच्चमा मुद्दा परेका आफ्नै भाइ गणेश थापालाई संविधानसभा सदस्यमा सिफारिस गरेर कान्जीहाउसमा भोकभोकै मर्न विवस गाईको विलो नै लगाउने काम भयो । विचरा, जनतालाई के थाहा त्यो लक्ष्मीको अवतार हैन, मण्डले अवतारको मायावी गाई थियो ।

त्यही मायावी गाईको पुच्छर समातेर वैतरणी तरे गणेश थापा । उनी विगत २२ वर्षदेखि आफ्ना आसेपासे र जोजोम्यानलाई जम्मा गरेर एन्फाको अध्यक्षमा हालीमुहाली गरिरहेका छन् । फिफा भोटको राजनीतिमा कतारी राजकुमारलाई दुहुनो गाई बनाएर मोजमस्ती गरिरहेका थापाको लखनउ लूटका कथाहरू छताछुल्ल भैरहेका छन् । अख्तियार, अदालत र लेखा समितिमा उजुरी परेर पापको घैटो फुट्न लागेको बेला उनका दाइले उल्टै सभासद बनाइदिए । लेखा समितिमा बयान दिन गएका बेला नै उनले यस्तो तुज्जुक देखाए कि उनी केही दिनपछि नै त्यही समितिको सदस्य भएर आउँदैछन् । र, मुद्दा चलाउन चुनौति दिँदैछन् । नभन्दै त्यस्तै भयो । उनी सभासद त भै नै सके, अब लेखासमिति सदस्य हुन पनि के बाँकी छ र ? त्यहाँ सदस्य भएका राप्रपा नेपालका सभासदको ठाउँमा दाइले भाइलाई पठाइ दिन्छन् त्यसपछि त खेलै खतम । विचरा लेखासमिति र त्यसका क्रान्तिकारी अध्यक्ष प्रभाकर, हिस्स बुढी डि.च्च दात, त्योभन्दा बढी के हुन्छ र ? यही हो, बहुमतको बैधानिक डनगिरी भनेको । उता, एन्फामा आफ्ना जोजोम्यानको बहुमत पुऱ्याएर भाइको डनगिरी, यता राप्रपा नेपालमा आफ्ना जोजोम्यानको बहुमत पुऱ्याएर दाइ डनगिरी । विधानको डण्डाले विवेकको अस्मिता लुटेर लोकतन्त्रको खिल्ली उडाउनु थियो थापाकाजीहरूलाई, त्यो मज्जैले गरे उनीहरूले ।

एनटीबी डन सुभाष निरौला

यो मुलुकको पर्यटन प्रवद्र्धन गर्ने पुरै ठेक्कापट्टा पाएको एउटा संस्था छ, नेपाल पर्यटन बोर्ड । प्रजातन्त्रकै फल हो यो संस्था पनि । यसका प्रमुख हुन्छन्, प्रमुख कार्यकारी अधिकृत । वैधानिक तरिकाबाटै आउँछन् यसका प्रमुख । पहिलो प्रमुख थिए, प्रदीपराज पाण्डे । उनी खुला प्रतियोगिताबाट आएका कुशल प्रशासक एवं पर्यटन अभियन्ता थिए । उनले नै आजको पर्यटन बोर्डको उचाइ दिएका हुन् । त्यसपछि बोर्डकै टेकबहादुर डाँगी र पर्यटन विभागमा महानिर्देशक रहिसकेका प्रचण्ड मल्ल आए । उनीहरूले पहिलेको गति थामे र एउटा निरंकुश मान्छेलाई उत्तराधिकारको अप्ठ्यारो स्थिति सिर्जना गरेर गए । ती हुन्, सुभाष निरौला । यस बीचमा नयाँ प्रमुखको खुल्ला प्रतियोगिताको दौर पनि सुरु भयो । यी निरौला पनि यसमा सहभागी भए । आफू नछानिने भएपछि कोही मार्फत् मुद्दा हाल्ने सेटिंग नै मिलाए । यस बीचमा यिनले बोर्डमा आएका सदस्यलाई साम, दाम, दण्ड भेद लगाएर ऐन, नियम र यियमावली नै विचरा बनाइ दिए । अनि तिनै विचरा ऐन नियमको बुइँ चढेर बोर्डमा लखनउ लुट मचाए । उनले रणनीतिक योजना बनाएरै बोर्डबाट सचिव, मन्त्री, अख्तियार हुनसक्ने सबैका आफन्तलाई विभिन्न वहानामा पोसे र सबैको मुख बुजो लगाइदिए । उनले गरेका हर्कतहरू लोकलाई नै लाज हुने खालका छन् । ३५ जना बाउन्सर त्यो पनि बोर्डकै खर्चमा राखेका रे । आफ्ना कर्मचारीका नाममा किर्ते गरेर करोडौंको घोटाला गरेका रे । हुँदै नभएका सञ्चालकको सही गराएर पनि निर्णय गरेर लखनय लुट मच्चाएका रे । तर, पनि उनका विरुद्ध सबै संस्था मौन छन् । तै चुप मै चुपको स्थिति छ । किनकि, उनी अख्तियारदेखि राष्ट्रपति कार्यालयसम्म पुगिसेका छन् । हरेकको कमजोरीको नाडी छाम्ने यी धामीले सिंगो मुलुकको पर्यटन क्षेत्रलाई नै तहसनहस पारिसके, तैपनि राज्य मूकदर्शक भएर बसेको छ । आखिर यो डनगिरी नभएर के हो त ?

यी त केही प्रतिनिधि पात्र मात्र हुन् वैधानिक डनका । मुलुक संक्रमणमा रहेको मौका छोपी, कमजोर सरकारको नाडी छामेर मुलुकका विभिन्न संस्थामा यस्तो वैधानिक डनगिरी फस्टाएको छ । यसले मुलुकको सुशासनमै गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । प्रश्न, गणेश थापा र सुभाष निरौंलाको डनगिरीको मात्र पनि हैन, यो बन्सोलाई आदर्श बनाएर अरु कति डनहरू जन्मने हुन् भन्ने चिन्ताको हो । तैपनि सासकहरू सुशासनको रट लगाउन छोडेका छैनन् । त्यसैले त निर्णयकर्ताको विवेक हराएको र विधानमाथि जक (जबर्जस्ती करणी ) भैरेहको यो अजब गजवको नेपालमा भन्न मन लाग्छ, ती डन- के डन ? यी पो डन ! आगे उनीहरू नै जानुन् ।