३० आश्विन २०८३, शुक्रबार

बाल स्वास्थ्यमा लापरबाही: ‘खोपपछि बालकको मृत्‍यु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khopकाठमाडौं, १८ भदौ । ‘बच्चा स्वस्थ थियो, जन्माएको पनि प्रसूतिगृहमै हो, चिकित्सककै सल्लाहमा खोप लगाउन पनि त्यहीं गएँ तर ममाथि बज्रपात पर्‍यो’, काभ्रे पोखरीचौरी-३ की विमला गजमेरले रुँदै भनिन्, ‘त्यति राम्रो छोरा आज मेरो साथमा छैन, जानीजानी मारियो मेरो बाबुलाई।’

विमला र उनका पति तेजबहादुर छोरा बिक्सन ६ महिना पुगेपछि डीपीटी खोप लगाउन गत भदौ २ गते थापाथलीस्थित प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा पुगेका थिए। उक्त खोप लगाउनेबित्तिकै बिक्सनलाई ज्वरो आउन थाल्यो।

‘नर्सले यो सबै बच्चालाई देखिने सामान्य इफेक्ट हो घर लैजानुहोस् निको हुन्छ भनिन्’, तेजबहादुरले मंगलबार भने, ‘बाटोमै बिक्सन ज्वरोले रन्कियो, हामीले डाक्टरलाई विश्‍वास गर्दै घर लग्यौं तर ज्वरो घटेन।’

भोलिपल्टदेखि ज्वरोसँगै बालकको शरीरमा राता बिमिरा पनि आउन थालेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

त्यसपछि उनलाई उपचारका लागि टेकुस्थित दासदिल फार्मेसीमा लगियो। त्यहाँ सामान्य ज्वरो घट्ने औषधि दिएर पठाइयो।

बालकको स्वास्थ्य गम्भीर बन्दै गएपछि अभिभावकले लाजिम्पाटस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल पुर्‍याए। उपचारमा खटिएका चिकित्सकले खोपमा आशंका गर्दै प्रसूतिगृहसँग कुन खोप कसरी लगाइएको हो भन्‍ने विवरण माग्न लगाए।

‘रिपोर्ट माग्न जाँदा त्यहाँका नर्सले डराउँदै हाम्रो केही गल्ती छैन खोप आउने बाल स्वास्थ्य महाशाखाबाट हो, त्यतै गएर बुझ्नुहोस् भने’, बिक्सनका ठूलोबुवा बाबुरामले भने, ‘उनीहरूले खोप लगाएको मिति लेखेको कागजमात्र दिए।’

कारण पत्ता लगाउन उनीहरू बाल स्वास्थ्य महाशाखामा साता दिन धाए तर कहिले हाकिम छैनन् भनेर पठाइयो त कहिले यस विषयमा हामी छानबिन गर्दैछौं सबै कागजपत्र हामीलाई दिनुहोला भन्दै पठाइयो।

उपचारकै क्रममा मंगलबार बिहान बिक्सनको मृत्यु भयो। उक्त अस्पतालका प्रमुख शान्तचन्द्र शाक्यले भने, ‘बच्चाको मृत्यु र उसको हिस्ट्रीबारे हामीले बाल स्वास्थ्य महाशाखा र विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइसकेका छौं, यो घटना हामीसँग सम्बन्धित छैन।’

बिक्सनका अभिभावकले खोपको संक्रमणकै कारण आफ्नो बच्चाको ज्यान गएको दाबी गरेका छन्। ‘हामी स्तब्ध छौं, त्यति स्वस्थ बालकको सरकारले दिने खोपकै कारण ज्यान गयो, क्षतिपूर्तिभन्दा पनि यस्ता घटना किन हुन्छन् यो स्पष्ट पार्नुपर्‍यो ।’