३० आश्विन २०८३, शुक्रबार

माओवादीलाई फकाउँदै प्रमुख दलहरू, मागप्रति सकारात्मक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flagकाठमाडौ, १८ भदौ । सरकार र राजनीतिक दल वैद्यसहितका राजनीतिक शक्तिले उठाउदै आएको राष्ट्रिय राजनीतिक सभाप्रति सकरात्मक भई त्यसको उपर्युक्त खाका बनाउन जुटेका छन् । कार्यतालिकाभित्रै नयाँ संविधान जारी गर्न नेकपा(माओवादीलाई समेत संविधान निर्माण प्रक्रियामा सहभागी गराउनका लागि उसले राखेको राजनीतिक सभाबारे दलहरुले औपचारिक छलफल सुरु गरेका हुन् ।

सरकारमा सहभागी दल, प्रमुख विपक्षी एमाओवादी र नेकपा-माओवादीबीच मंगलबार भएको त्रिपक्षीय छलफलपछि उनीहरुले संविधानसभाबाहिरको शक्तिलाई समावेश गर्ने राजनीतिक खाका खोजी आगामी बैठकमा पेस गर्ने निर्णय गरेका हुन् ।

बैठकको सुरुमा कांग्रेस र एमालेका नेताहरुले संविधान निर्माणको बिषयमा संविधानसभा बाहिर गई सहमति गर्नु प्रकृयागत ढंगले गलत हुने भन्दै त्यसबारे गृहकार्य हुनुपर्ने बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । आफूले राखेको प्रस्ताव अस्वीकार हुने देखेपछि नेकपा-माओवादीका नेताहरु केही आक्रोशित भएका थिए । तर, लगतै संविधानसभाको अधिकार कटौति नहुनेगरी राजनीतिक भेला या सम्मेलनबाट पनि सहमति खोज्न सकिने धारणा राखेपछि छलफल सकरात्मक बनेको थियो ।

‘राजनीतिक सभा गर्ने कुरामा दलहरुबीच बिवाद छैन’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘त्यसको कार्यविधि के हुने, को सहभागी हुनेबारे गृहकार्य गर्ने कुरा भयो ।’

राजनीतिक सभा गर्नुपर्नेमा एमाओवादीको मुख्य जोड छ । नेकपा-माओवादीसंग सहकार्य गर्ने तयारी गरेको एमाओवादीले पहिले उसंग सहमति  गरी औपचारिक सहमति गर्नुपर्ने औपचारिक निर्णय गरेको थियो ।

बैठकमा माओवादी अध्यक्ष मोहन वैद्यले यसअघि जेठ २६ गते भएको पहिलो बैठकमा ३ ठूला दलबीच राजनीतिक सभाबारे धारणा बनाउने सहमती भएपनि उल्लंघन भएकोमा असन्तोष राखेका थिए ।

‘कांग्रेस, एमाले, एमाओवादीले तयारी गरेर आएको देखिएन’, बैठकपछि वैद्यले भने, ‘उहाँहरु कसरी प्रस्तुत हुनुहुन्छ । त्यसपछि मात्र संविधान बनाउने प्रक्रियामा सहभागी हुनेरनहुने बारे प्रष्ट हुन्छ ।’

वैद्य माओवादीसंग वार्ता जारी राख्दै संविधानसभाभित्र पनि दलहरुबीच सहमति जुटाउन लागिपर्ने सहमती प्रमुख दलका नेताबीच बनेको छ । यो साता दलहरुका दैनिक बैठक गर्ने र बिहीबार वैद्य माओवादीसंग पुनः बैठक गर्ने उनीहरुले टुंगो गरेका छन् ।

‘संविधानसभाभित्र सहमति जुटाउने प्रयास निरन्तर रहन्छ’ श्रेष्ठले सुनाए ।

संविधानसभा बहिस्कार गरेको वैद्य माओवादीले बैठकमा पहिले संविधानसभाका अन्तरवस्तुमा सहमतिका लागि सर्वपक्षीय राजनीतिक सभा आवश्यक भएको बताएका थिए ।  कांग्रेस, एमालेका नेताहरुले राजनीतिक सभा गर्नुको औचित्यबारे प्रश्न गरेका थिए । उनीहरुले सभाको कार्यविधि स्पष्ट हुनुपर्ने बताएका थिए ।

वैद्य माओवादीसित औपचारिक रुपमा बस्नु अघि तीन दलले राजनीतिक सभा आयोजना गर्न सकिने धारणा बनाएका थिए ।

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान बन्नुपर्छ भन्ने नेकपा-माओवादीका विचारलाई प्रमुख तीन दलले सकारात्मक रुपमा लिएको बताए । ‘संविधान बनोस भन्ने माओवादीको विचार सकारात्मक छ । संविधानसभाको अधिकारलाई प्रतिकुल असर नपुर्‍याउने गरी विविध प्रकृयाबाट छलफल गर्न सकिन्छ’ सिटौलाले भने, ‘चाहे त्यस्तो छलफल राजनीति सम्मेलन आयोजना गरेर होस चाहे सर्वपक्षीय भेला ।’

सिटौलाले संविधानसभा बाहिर रहेका नेकपा-माओवादीसहितका राजनीतिक दललाई कुन प्रकृयाबाट समावेश गराउने भन्ने बिषय महत्वपुर्ण रहेको बताए । ‘संविधान निर्माणको मुख्य थलो संविधानसभानै हो । यो सार्वभौमक निकाय हो । संविधानसभाको अधिकारलाई बाहिर लैजान सकिदैन । संविधान निर्माणको प्रकृयालाई बचाएर जानुपर्छ भन्ने धारणा हामीले राखेका छौ’ सिटौलाले थपे, ‘संविधानसभाको अधिकारमा प्रतिकुल असर नपर्ने गरी बैठक, भेला या सम्मेलन  जे नाम दिएपनि गर्न तयार छौ ।’

त्यसअघि पनि प्रमुख तीन दलको बैठक बसेको थियो । बैठकमा संघियता र शासकीय स्वरुपका बिषयमा आ-आफ्नो दृष्टिकोण सार्वजनिक भएका छन् ।