३० आश्विन २०८३, शुक्रबार

नेपाल-भारतबीच पीटीए गर्न वार्ता सुरु हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-&-Indiaकाठमाडौ, १८ भदौ । भारतसित बहुप्रतीक्षित विद्युत् व्यापार सम्झौता (पीटीए) का बारेमा वार्ता गर्न ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीको नेतृत्वमा आठ सदस्यीय नेपाली टोली बुधबार नयाँ दिल्ली जाँदैछ ।

मन्त्रिपरिषदको मंगलबार बसेको आकस्मिक बैठकले ऊर्जा सचिव क्षेत्रीको नेतृत्वमा भारत भ्रमणमा जाने टोलीको तय गर्नुका साथै पीटीएका बारेमा वार्ता गर्ने अख्तियारी प्रदान गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिएको छ ।

भारतले नेपालको जलस्रोतमा एकाधिकार गर्ने नियतसहितको विद्युत् विकास सम्झौता गर्न नेपालसमक्ष पठाएको प्रस्तावमा मुलुकमा व्यापक विरोध भएको थियो । नेपालले भारतीय प्रस्तावलाई अस्वीकार गर्दै पीटीएमात्र गर्न मस्यौदा पठाएपछि भारतले त्यसमा वार्ता गर्न बोलाएकाले सरकारले नयाँ दिल्लीमा प्रमण्डल भारत पठाउने निर्णय गरेको हो ।

नेपालले सन् २००४ मा नै पीटीए गर्न भारतसमक्ष प्रस्ताव पठाएको थियो । तर, लामो समय नेपालको प्रस्तावमा बेवास्ता गरेको भारतले भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भारतीय सरकार त्यसमा वार्ता गर्न तयार भएको हो ।

क्षेत्रीको नेतृत्वमा नयाँ दिल्लीमा हुने पीटीए वार्तामा नेपालका तर्फबाट सहसचिवहरू ऊर्जा मन्त्रालयका नीति महाशाखा हेर्ने केशवध्वज अधिकारी, परराष्ट्र मन्त्रालयका अमृतबहादुर राई, कानुन मन्त्रालयका नरेन्द्रमान श्रेष्ठ, विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डे, उत्पादन निर्देशनालय प्रमुख शेरसिंह भाट र ऊर्जा मन्त्रालयका शाखा अधिकृत सविना खर्बुजा तथा भारतका लागि नेपालका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल सहभागी हुनेछन् ।

भारतका ऊर्जा सचिव नेतृत्वको टोलीसित नेपालद्वारा प्रस्तावित विद्युत् व्यापार सम्झौताको मस्यौदामा दुई पक्षीय टोलीबीच बुधबार अपराह्न, बिहीबार र शुक्रबार वार्ता हुनेछ ।

नेपाली टोलीका संयोजक क्षेत्रीले मन्त्रिपरिषदले दिएको अख्तियारीअनुसार पीटीएका बारेमा वार्ता हुने र समझदारीका लागि अधिकतम प्रयास गरिने जानकारी दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । एक नेपाली अधिकारीका अनुसार भारतले पीटीएमा वार्ता गर्न आफैंले तत्परता देखाएकाले त्यसमा समझदारी हुन सक्ने सम्भावना छ ।

मोदीको नेपाल भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा माथिल्लो कर्णालीको पीडीए र नेपालद्वारा प्रस्तावित पीटीएलाई ४५ दिनभित्र अन्तिम रूप दिने उल्लेख थियो । त्यही कारण भारतले पीटीएमा छिट्टै वार्ता गर्न नेपाली टोलीलाई छिट्टै निम्ता गरेको हो । तीन दिनसम्म भारतीय अधिकारीसित वार्ता गरी नेपाली टोली शुक्रबार अपराह्न स्वदेश र्फकनेछ ।