काठमाडौँ, १६ भदौ । नेपाल खाद्य संस्थानले यस वर्षको दसैँलाई लक्ष्य गरी तीन हजार ४०० खसीबोका काठमाडौँमा ल्याउने भएको छ ।
दसैँको समयमा काठमाडौँ उपत्यकामा मासुको माग बढ्ने तथा बजारमा हुन सक्ने मूल्य वृद्धिलाई सन्तुलन गर्न संस्थानले खसीबोका ल्याउन लागेको हो ।
प्रत्येक वर्ष यस अवधिमा करिब ३० हजार खसी बोकाको खरिद बिक्री हुने गर्दछ । वस्तु उपभोग बढेपछि हुने उच्च मागले गर्दा निजी क्षेत्रका व्यवसायीले निर्धारण गर्ने मूल्यमा एकाधिकार हुनसक्ने र त्यसलाई नियन्त्रण गर्ने उद्देश्यले सो संस्थानले दसैँलाई दृष्टिकोण गरी खसी बोका राजधानी ल्याउन लागेको नायब महाप्रबन्धक नवराज उपाध्यायले जानकारी दिनुभयो ।
संस्थानका अनुसार नेपालगन्ज, सुर्खेत, बाँके, बर्दिया, दाङ, मकवानपुर, सिराह, पर्साबाट खसी बोका खरिद गरिनेछ । त्यसका लागि संस्थानको सम्बन्धित अञ्चल कार्यालयले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कृषि विकास अधिकृत, स्थानीय खाद्य संस्थान अधिकृत तथा कृषकसहितको समूहले वैज्ञानिक मूल्य निर्धारण गरी स्वस्थ्य खसी बोका खरिद गर्नुपर्दछ । उनीहरूले खसी बोका खरिदको प्रक्रिया सुरु गरिसकेको संस्थानले जनाएको छ ।
संस्थानले गएको वर्ष दुई हजार ८०० खसी बोका ल्याएकामा यस वर्ष ६०० बढी ल्याउन लागेको र सो प्रयोजनका लागि रु तीन करोड विनियोजन गरेको छ । संस्थाने घटस्थापनादेखि नै बिक्री सुरु गर्ने उपाध्यायले बताउनुभयो । रासस















प्रतिक्रिया