काठमाण्डौ । बिदेशमा कार्यरत नेपाली महिला श्रमिकको उद्दार तथा राहतका लागि गैरआवासीय नेपाली संघ र गैर सरकारी संस्था ‘पौरखी’बीच सम्झौता भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र पौरखीकी अध्यक्ष मञ्जु गुरुङवीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापछि गैरआवासीय नेपाली संघले आफ्नो संजालमार्फत् खाडी लगायतका मुलुकमा अलपत्र परेका बिशेषतः महिला कामदारको उद्दारका लागि पौरखीसंग मिलेर काम गर्ने छ ।
उनीहरुलाई कानुनी सहायता प्रदान गर्ने, सुरक्षित आप्रवासन सम्बन्धमा सचेतना कार्यक्रम संचालन गर्ने र स्वदेश फर्किएका नेपाली आप्रवासी कामदारलाई उद्यमशीलता बिकाशमा सहयोग गर्न दुवै संस्थाले मिलेर काम गर्नेछन् ।
‘‘हामीले पहिले पनि अनौपचारिकरुपमा पौरखीसंग मिलेर काम गरेका थियौं’ अध्यक्ष घलेले भन्नुभयो –‘अब हाम्रो औपचारिक सम्बन्ध सुरु भएको छ, सुरक्षित आप्रवासनका यो निकै महत्वपूर्ण र अर्थपूर्ण साझेदारी हो ।’
पौरखीकी अध्यक्ष गुरुङले भन्नुभयो–‘जहाँ नेपाली दिदीबहिनीहरु दुःखको अबस्थामा हुन्छन र उद्दार जरुरी हुन्छ, त्यहाँ हाम्रो आफ्नै नेटवर्क नभएका कारण उद्दार सम्भव भएको थिएन, अब एनआरएनको संजालमार्फत् हामीले उद्दार र नेपालमा पुर्नस्थापनाको कामलाई तिब्रता दिनेछौं ।’
पौरखीसंगको साझेदारीमा अब एनआरएनले सम्बन्धित देशमा अलपत्र परेका नेपाली महिलालाई कानुनी सहायता प्रदान गर्ने, सेफ हाउस स्थापनामा सहयोग गर्ने, सुरक्षित आप्रवासनबारे जनचेतना जगाउन सहकार्य गर्ने र पिडीत महिला कामदारलाई मनोबैज्ञानिक तथा सामाजिक परामर्श प्रदान गर्ने एनआरएनए अध्यक्ष घलेले जानकारी दिनुभयो ।
उद्दार गरेर नेपाल ल्याइएका नेपाली महिला कामदारलाई पौरखीले कानुनी सहायता प्रदान गर्ने, उनीहरुलाई सेफ हाउसमा राख्ने, परामर्श दिने र समाजमा पुर्नस्थपना गर्ने कार्य गर्ने छ । पौरखीले काठमाण्डौंसहित मुलुकका १६ जिल्लामा बिदेशबाट फर्किएर आएका बिशेषतस् महिलालाई परामर्श, पुनस्थापना र उद्यमशीलता बिकाशमा सहयोगसम्बन्धी कार्यक्रम संचालन गर्दै आएको छ ।
गैरआवासीय नेपाली संघ सचिवालय, काठमाडौं ।
मिति स् २०७१ भाद्र १२














प्रतिक्रिया