तीज सकिएको छ । तर, तीज नेवारहरुले मनाउन हुने कि नहुने भन्ने भ्रम र विवाद देखिएकाले कलम चलाउन मन लाग्यो । खासमा संगै बसेपछि र सद्भावमा बसेपछि एकले अर्काको रितिरिवाज र आस्थामा सम्मान दिने काम भै हाल्छ । तीज नेवारहरूको पर्व होइन तर संगै बसेपछि नेवारहरूले यसलाई आत्मसाथ गर्न लागे । त्यो संगै बसेर आयात भएको मात्र होइन त्यसमा शिवजीको पूजा र ब्रतनै समाबेश भएको हुँदा हिन्दु नेवारहरूको लागि यो आफ्नो मान्नु सजिलो भयो । अहिले नेवार महिलाहरूले पहिले कहिल्यै नमानेको यो चाड आठ्दश वर्ष यता साजधजमा मान्ने गर्न लागेका छन् ।
यसैको प्रसंगमा यही तीजमा एकजना नेवार साथीले आपत्ति जनाउंदै बेलविवाहको संस्कारबाट परिष्कृत नेवार महिलाहरूलाई यो व्रत राख्नुको कुनै तुक नरहेको भनेर यो व्रत राख्ने नेवार महिलाको नाममा एउटा हाँकपूर्ण लेख लेख्नुभाको छ । वेलसंग विहे गरे पछि नेवार कन्याहरू कहिल्यै विधवा हुन्नन् भन्ने मान्यता नेवारहरू बीच छ । आशय हो विधवी जीन्दगी भोग्न नपर्ने नेवार महिलाको लागि पतिको दीर्घायूको कामनासहितको व्रतको आवश्यकता छैन । अझ त्यसो मात्र होइन, आफ्नै व्यवहारको संस्कारगत मूल्य बाझिने कुरा यो भयो ।
त्यस्तै एक जना मंगोल साथीले फेसबुकको वालमै मंगोलियन दिदिबहिनीले रातो चोली सारी र तिलहरी पोतेसाथ तीजको माहोलमा गएर नाचेको झोंकमा एउटी निर्वश्त्र नाङ्गो आइमाइको फोटो राखेर यसमा अनुहार चाहिं ती मंगोलियन दिदी बहिनीको अनुहार कट एण्ड पेस्ट गर्ने आक्रोश पोख्नु भएको छ । त्यसो त गरी हाल्नु भएको छैन तर गर्ने अति डरलाग्दो झोंक देखाउनु भएको छ ।
मेरो बहिनीले तीजको व्रत राखेर धुमधामले नाचेको फोटो फेसबुकमा राखेकी छन् । उही बहिनी राईहरूको चण्डी नाचमा उस्तै झुमेर नाच्दछिन । हामी अर्थात हाम्रो परिवार धरानमा राईहरूकै समाजबीच रहेका हौँ । हामी सबै चण्डी नाच्न भने पछि हुरुक्कै हुन्छौं । कहिल्यै आफ्ना जाती इतरका नाच भन्ने हाम्रा दिमागमा आएन । नत रार्इ बधुबान्धवले नै हामीलाई बाहिर धकेले । मेरो जन्मस्थल ओखलढुंगामा रहँदाको त्यस्तै अनुभव छ । छिमेकी गाउँका राइ, तामांग र बाहुनहरू नेवारहरू संगै धुमधामले लाखे नाच्छन्र यसको लागि ढोलक झ्याम्टा ठोक्छन । हामी बीच कहिल्यै को कुन जात वा कुन संस्कृतिका मान्छे आए भन्ने धुन र ध्यान भएन ।
मलाई आफ्नै जातिको उदाहरण पेश गर्न सजिलो अनुभूत भई रहेछ । नेवार जाति एक जात नभएर धेरै जात, जाति र धर्म र संस्कृतिको सम्मिश्रित एक टिबेटोबर्मन भाषिक समुदाय हो, जो हजारौं वर्षदेखि यो नेपाल भूमिमा समयसमयमा चारैतिरबाट आएका आदिबासी जातजातीहरू (जस्तैः उत्तरतिरबाट आएका किराँत, त्यसपछिका दक्षिणबाट पसेका गोपालबंशीका साथै चारुमतीसंग आएका बौद्ध मौर्य, मानदेव लगायतका लिच्छवि, जिश्नुगुप्त विश्नुगुप्त आदि गुप्त, हरिसिंहदेव र जयस्थिति मल्ल समेतको पूर्वमल्ल र पछिका तीन शहर लगायत अरू स्थानमा राज्यस्थापना गर्ने यक्ष मल्लका सन्तान, सेना, चाकर, प्रजा आदि समेत गोर्खा, लम्जुङ, मकवानपुर, पाल्पा, विजयपुर, भारतका विभिन्न क्षेत्र र तिब्बततिरबाट आएका शरणार्थी, व्यापारी, पर्यटक आदिका साथै तेह्रौं शताब्दीमा हमला गर्न आएका मुसलमान, पश्चिम कर्णालीतिरका मल्ल र प्रताप मल्लका समयमा क्रिस्चियनहरूले धर्म परिवर्तन गरेका समुदाय समेत) एकाकार छन् । त्यसैले नेवार भन्ने जातिमा मंगोल, अस्ट्रो र ककेसन रगतका आदिबासी, ४ जात र अनेक छुत अछुत वर्णहरूसमेतका हिन्दु, जातै नमान्ने बौद्ध, मुसलमान, क्रिस्चीयन एकसाथ छन् । आफ्नै धर्म, पहिचान, संस्कृति, साहित्य, कला, भाषा, लिपि, सम्बत, इतिहास, बोकेको सम्बृद्ध यस मिश्रित जाति एक सम्वृद्ध राष्ट्र हो । पाटनका नेवार राजाको दरबारको ढोका र झ्यालमा बौद्ध मूर्तिहरू सजिएको छ तर आँगनमा कृष्ण, विष्णु र शिवजीका थानहरू छन् । अरू त अरू पशुपतिलाई नै बुद्धपूर्निमाको दिनमा बुद्धमानी सबै हिन्दु र बौद्धहरूले पूजा गर्छन । ढ्याङ्ग्रो र धामी संस्कृति नेवार जातिको होइन तर त्यो नेवार जातिमा समाविष्ठ छ । त्यसरी नै नेवार जाति परापूर्वकालदेखि नै अति समावेशी, सहिष्णु अनि खुल्ला मानसिक संस्कार भएको जाति बन्दै आएको छ । त्यसरी नै यसले सम्वृद्धि प्राप्त गरेको हो ।
अपबाद त सबै समुदायमा हुन्छ नै । नेवार जातीमा पनि आफ्ना आस्थाका अतिबादिहरू थिए र छन् नै त्यसैले आफ्ना मूल्यहरूलाई मिश्रणहीन चोखो राख्न चाहनेहरू देखिन्छन । तर समष्टिमा यो जाति एक सहिष्णुपूर्ण समावेशी जाति भएकोले यसको लागि भारतीय टुपिधारी ब्राह्मण वा तिब्बती लामा परचक्री तोलान तर यसै समुदाय भित्रका मुस्लिम, किरांत, हिन्दु, बौद्धमा त्यो परचक्रियताको विभेद छैन । त्यसैले कहिल्यै तीज नमानेका नेवारी समुदायको लागि यो परचक्रिय संस्कृति लागेको मात्र हो तर यो समावेशिता रगतमै भएको जातिको लागि कदाचित ठूलो समस्या होइन र नै विस्तारै यो नेवार संस्कृतिभित्र विलयन हुँदै जाँदै छ ।
मान्दिए पछि हुन्छ क्या । नयाँ नयाँ व्याख्यान हुँदै गर्छ । हामी क्रिस्मस मनाउन क्या रमाइलो गर्न लाग्यौं । मान्दा पनि नमान्दा पनि कहिले कसले छेकेको छ र ? इदमा मुस्लिम छिमेकीलाई अँगालो हाल्न पुग्छौं । केले रोकेको छ र ? अस्ति कृष्णाष्टमीका दिन भारतका मुस्लिमहरूले आफ्ना छोराहरूलाई बालगोपाल बनाएर सडकमा उतारे केले रोके ? सबैको वाहवाही नै समेटियो । भानिहालें, आफू तल नपरी शान्त, सौम्य र सम्यक ढंगमा मान्दिएपछि हुन्छ, पुग्छ । अरूलाई सम्मान दिएपछि आफूलाई पनि सम्मान नै प्राप्त हुने हो । उपरान्त नयाँ नयाँ व्याख्यान हुँदै गर्छ । यसरीनै आयातित सांस्कृतिक तत्व आफैमा पच्दै जाने हो, विलयन हुँदै जाने हो । सम्विद्धि प्राप्त हुँदै जाने हो। नयाँ संस्करणको संस्कृतिकरणको यो प्रक्रिया हो। हामीले माने पनि नमाने पनि सामाजको पचाउने मनले पचाएपछि यो जसरी पनि हुन्छ नै। रोकिन्न । प्रगतिशील समाजले यसरी नै अगाडि छलाङ्ग लगिएको हो र लगाउने हो । एक र एकले दुर्इ होइन, एघार बन्छ । मन अलिकति खुल्ला मात्र पार्न पर्छ ।















प्रतिक्रिया