३० आश्विन २०८३, शुक्रबार

अमिनाले रुँदै भनिन्, ‘किचिएर पनि बाँचें’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aminaकाठमाडौं, १५ भदौ । ‘कुनातिर मोडिनुपर्ने बस तीव्र गतिका कारण एक्कासि छेउतिर मात्र पुगेन, भीरबाट बल्ड्याङ खायो। दुईपटक बसमा थिचिएपछि म उछिट्टिएर रूखको हाँगामा पुगेु’, गोर्खा ताप्ले-६ की ५० वर्षीया अमिना मियाँले रुँदै भनिन्, ‘देब्रे हात उठाउन खोज्दा लत्रिरहेको थियो, दाहिने हातको सहारामा झर्न खोज्दा रूखबाट पनि खसें, ढुंगामा ठोक्किन पुगेछु उठ्न पनि सकिनँ, बोल्न पनि सकिनँ।’

गोरखामा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएकी अमिनाले ललिपुरस्थित बीएन्डबी अस्पतालको शय्याबाट भनिन्, ‘ड्राइभरले राम्ररी बस चलाइदिएको भए आज यस्तो बेहाल हुने थिएन।’ उक्त दुर्घटनामा परी चारजानले ज्यान गुमाउनुपरेको छ।

कामको सिलसिलामा गोरखा पुगेका सोलुखुम्बुका २२ वर्षीय अमर मगर पनि दुर्घटनामा गम्भीर घाइते भएका छन्। ‘बसमा मान्छे कोचाकोच गरेर बसिरहेका थिए, म उभिएको थिएँ, नजिकैको सिटमा बसिरहेकी एउटी बहिनीले अलिकति ठाउँ दिँदै बोलाएपछि म पनि खुसी भएर बसेु’, उनले भने, ‘घुमाउरो बाटो थियो, एक्‍कासी बस तल खस्दा त्यही सिटले थिचेपछि बेहोस भएछु, होसमा आउँदा उनको टाउको मैतिर फर्किएर झुन्डिएको थियो, बोलाउन खोज्दा उनी बोलिनन्, मृत्यु भइसकेको रहेछ।’ अमरले थाहा पाउँदा दुर्घटनाका घाइते सबै चिच्चाइरहेका थिए, उद्धार गर्ने कोही थिएन।

गोरखा आरुघाटका ३६ वर्षीय सन्तबहादुर गुरुङ सामान किन्न ढेड लाख रुपैयाँ बोकेर गोरखाबजारतर्फ जान सोही बसमा चढेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । उनले भने, ‘मलाई त भगवान्ले बचाएका हुन्, बसले भीरमा बल्ड्याङ खाँदा म बाँचुला भन्ने लागेको थिएन। १५/२० पल्ट बस पल्टियो, मेरो साथी उछुट्टिएर बाहिर खसे, म भने बस टुक्रटुक्रा हुँदासमेत भित्रै थिचिइरहें।’

दुर्घटनामा परी गम्भीर घाइते भएकी आठ वर्षीया एक बालिकाको पनि बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ। ती बालिकाका कोही पनि आफन्त सम्पर्कमा नआएको अस्पतालका चिकित्सकले बताए।

अस्पतालका मेडिकल डाइरेक्टर डा. अशोक बास्कोटाले भने, ‘बस दुर्घटनामा घाइते भएकामध्ये गम्भीर अवस्था भएकालाई यहाँ ल्याइएको छ। तीनचारजनाको अवस्था चिन्ताजनक छ, अरूलाई सामान्य चोट लागेको छ।’

घाइते चालक प्रेमप्रसाद ढकालले ओरालो सडकमा ब्रेक लगाउन समस्या भएकाले दुर्घटना भएको बताए।