काठमाडौं, १५ भदौ । व्यवस्थापिका संसद् बहिष्कारको नेतृत्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेपछि संविधानसभाका काममा समेत व्यवधान उत्पन्न भएको छ। राजनीतिक समिति गठनका नाममा दाहालले भूमिका खोज्दा भएको संसद् बहिष्कारले समयमै संविधान निर्माण हुनेमा आंशका बढेको छ।
दाहालले संविधानसभा छाडेर ‘जनविद्रोह’बाट संविधान घोषणा गर्नेसम्मका धम्की दिइसकेका छन्। कांग्रेस/एमालेले समिति गठन गर्न नमानेपछि दाहालले एमाओवादी/मधेसी गठबन्धनको बैठक डाकेर प्रज्ञाभवनबाट घोषणा गरे, ‘कांग्रेस/एमालेले बहुमतबाट संविधानका विवादित विषयमा टुंगो लगाउन खोजेमा शान्तिपूर्ण जनविद्रोहबाट अपूरो क्रान्ति पूरा हुनेछ।’
कांग्रेसले दाहालको नकारात्मक शक्ति रोक्न कुनै न कुनै भूमिका दिनुपर्ने धारणा बनाउन थालेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। संविधानबारे सहमति खोज्ने समयसीमा एक सातामात्र बाँकी छँदा विवाद टुंगो लगाउने जिम्मा पाएको दलकै अध्यक्ष दाहालको विरोधप्रति कांग्रेस युवा नेता गगन थापाले भने, ‘यो प्रचण्डजीको भूमिकाको खोजी हो। विवाद समाधान गर्ने जिम्मा एमाओवादी नेता डा। बाबुराम भट्टराईजीले नै पाउनुभएको छ, तर एमाओवादीले त्यो जिम्मा पाएजस्तो महसुस गर्न नसक्दा समस्या भएको हो।’
गगनलाई एमाओवादी सबैभन्दा ठूलो दल हुँदा संविधान जारी नभएकाले अहिले कांग्रेस/एमाले ठूला दल हुँदा दाहालले त्यत्ति सजिलै संविधान बन्न देलान् भन्ने विश्वास छैन। उनले भने, ‘आगामी माघ ८ गते कांग्रेस/एमालेले भनेजस्तै संविधान जारी हुन दिए भने दाहालजस्ता महान् व्यक्ति कोही पनि हुनेछैनन्, तर आफ्नो विशेष भूमिका नदेखिई यो हुन देलान् जस्तो मलाई लाग्दैन।’
शनिबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई पनि आफूले यो कुरा भनेको जानकारी दिँदै गगनले भने, ‘उनलाई देखिने खालको केही भूमिका दिनुपर्छ नत्र संविधान निर्माण सम्भव हुँदैन।’
दाहालले दलका नेताहरूसँगको बैठकमा आफू शान्तिसम्झौतामा हस्ताक्षर गर्ने एकमात्र जीवित व्यक्ति भएको नाताले विशेष भूमिका पाउनुपर्ने बताउँदै आएका छन्। ‘शान्तिप्रक्रिया टुंगिएको छैन, संविधान निर्माण पनि भएको छैन।’
म असान्दर्भिक भएको छैन। शान्तिसम्झौतामा हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइराला हुनुहुन्न, हस्ताक्षरकर्ता मेरो विशेष भूमिका हुनुपर्छ। मलाई कुनै भूमिकै नदिनेर दाहाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक शीर्ष नेताले भने।
एमाओवादी नेता एवं संवैधानिक संवाद समितिका सभापति डा. भट्टराईले पनि दाहालको संयोजकत्वमा शीर्ष नेताहरू सम्मिलित समिति बन्दा काम गर्न सहज हुने बताए। उनले भने, ‘शान्तिप्रक्रियाको मुख्य पक्ष एमाओवादी हो। शान्तिसम्झौताका हस्ताक्षरकारीमध्ये कमरेड प्रचण्डमात्र अहिले रहनुभएको छ।’















प्रतिक्रिया