काठमाडौं, १५ भदौ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) भित्र पार्टीको नाम फेर्ने विषयमा फेरी गम्भीर बहस सुरु भएको छ । पार्टीको राजनीतिक समितिको वैठकमा थारु, आदिवासीरजनजाति, मुसलमान र दलित नेताहरुले पार्टीको नाम फेर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
राजनीतिक समिति सदस्य एवं थारु नेता लक्ष्मण थारुले ‘जातीय पार्टीको उपादेयता सकिएको’ भन्दै पार्टीको नाम ‘राष्ट्रिय लोकतान्त्रिक फोरम’ प्रस्ताव गरेका हुन् । ‘आइतबारदेखि प्रस्तावमाथि छलफल सुरु हुन्छ’ थारुले शनिबार भने, ‘बहुसंख्यक सदस्यहरु पार्टीको नाम फेर्नुपर्ने पक्षमा हुनुहुन्छ ।’
दोस्रो संविधानसभाको परिणामबाट जात विशेष र क्षेत्रीय पार्टी दिगो हुन नसक्ने संकेत मिलेकाले जतिसक्दो छिटो राष्ट्रिय पार्टी बनाएर अघि बढ्नुपर्ने थारुको सुझाव छ । ‘कुनै पनि हालतमा पार्टीको नाम फेर्नैपर्छ’ थारुले भने, ‘जति ढिलो हुन्छ, त्यति नै समस्या बढै जान्छ ।’
थारुका अनुसार सभासद्हरु रामजनम चौधरी, जनक चौधरी, योगेन्द्र चौधरी, सुवोध पोखरेल, बाबुराम पोखरेल र गीता राणालगायत पनि पार्टीको नाम फेर्नुपर्नेमा सकारात्मक छन् । सभासद् जनक चौधरीले पार्टीलाई समय सान्दर्भिक बनाएर अघि बढाउन नाम फेर्नुपर्ने बताए । ‘दोस्रो संविधानसभापछि समय फेरिएकाले पार्टीको नाम पनि फेरिनुपर्छ’ उनले भने । अर्का सभासद् रामजनमले राजनीतिक समितिको वैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव आए पनि महाधिवेशनबाट टुङ्गो लगाउनुपर्ने बताए ।
पार्टीका वरिष्ठ नेता रामेश्वरराय यादवले भने ‘मधेस आन्दोलनबाटै जन्मिएको पार्टी भएकाले तत्काल पार्टीको नाम फेर्न नहुने’ पक्षमा छन् । ‘महाधिवेशनै नभईकन आफ्नो बेस छोड्नुहुदैन’ यादवले भने, ‘मधेस आन्दोलनको भावनामा प्रतिकूल असर पर्नेगरी नयाँ कदम चाल्नु गलत हुन्छ ।’
फोरम लोकतान्त्रिकमा ३५ प्रतिशत थारु, १५ प्रतिशत मुसलमान, २० प्रतिशत आदिवासी जनजाती छन् भने केही पहाडी ब्राम्हणरक्षेत्री र अरु मधेसका समुदाय छन् ।
संविधानसभाको दोस्रो चुनावअघि पनि नाम फेर्नेबारे पार्टीभित्र छलफल भएको थियो । तर, नाम फेरेर चुनावमा जाँदा जनतामा नकारात्मक सन्देश जान सक्ने भन्दै त्यतिबेला उक्त विषय थामथुम पारिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । अहिले फोरम लोकतान्त्रिकका १४ सभासद् छन् । अध्यक्ष विजयकुमार गच्छदारसहित ६ जना थारु, एक मुसलमान, ३ पहाडी ब्राम्हणरक्षेत्री, दुई तराई ब्राम्हण, एक दलित र एक मारवाडी छन् ।















प्रतिक्रिया