काठमाडौ, १४ भदौ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउने तयारी नभएको बताएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईबीच बिवाद मिलाउन केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाउने अनौपचारिक सहमति भएको सार्वजनिक भएपछि श्रेष्ठले भनाइ आएको हो ।
‘महाधिवेशन आयोजक समिति बनाउने कुनै सहमति भएको छैन, स्थायी समितिमा यसबारे छलफलनै भएको छैन,’ उनले भने, ‘यो कुराले पार्टीपक्तिमा भ्रम सृजना गरेको छ ।’ उनले दाहाल, भट्टराई र आफूबीच यसबारे कुनै छलफल नभएको उल्लेख गर्दै केन्द्रीय समिति भंग गर्ने कुराले अन्यौलता थपेको बताए ।
गत वैशाख तेस्रो साता विराटनगर राष्ट्रिय सम्मेलनले चयन गरेको केन्द्रीय समिति र त्यसपछि केन्द्रीय समितिले छानेको पदाधिकारी, स्थायी र पोलिटब्युरोलाई विशेष महाधिवेशन आयोजक समिति बनाउनेबारे दाहाल र भट्टराईबीच पटकपटक छलफल भएको छ । दुई नेताबीच भएको अनौपचारिक सहमतिप्रति असन्तुष्टि जनाउदै श्रेष्ठल आफ्नो धारणा सार्वजनिक गरेको हुन् ।
भट्टराई पक्षले विशेष महाधिवशेन गरी बिवाद समाधान गर्नुपर्ने माग गर्दै आएका छन् । बिवाद चर्किदै गए पछि उक्त पक्षले करिब दुई दर्जन जिल्लामा समानान्तर समिति गठन गरेका थिए ।
सचिव वर्षमान पुनले बिवाद मिलाउन बिभिन्न विकल्पमा छलफल भइरहेको बताए । ‘बिवाद मिलाउन सकरात्मक कुराकानी भइरहेको छ,’ उनले भने, ‘असोज पहिलो साता हुने केन्द्रीय परिषद् बैठक र केन्द्रीय समितिले बिवाद मिलाउने छ ।’
दाहाल र भट्टराईबी समानान्तर समिति बिघटन गर्ने, प्रशिक्षण स्थगित गर्ने, जनवर्गीय संगठनका राष्ट्रिय सम्मेलन तोकेर विशेष एक वर्षभित्र महाधिवेशन गर्ने समझदारी बन्न थालेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
भट्टराई निकट नेता देबेन्द्र पौडेलले केन्द्रीय समितिलाई महाविधेशन आयोजक समिति बनाउन अनौपचारिक सहमति बनिसकेको दाबी गरे । ‘पार्टी बनाउन विशेष महाधिवेशनमा जानुपर्छ, त्यसका लागि यो केन्द्रीय समितिलाई महाधिवशेन आयोजक समिति बनाउने कुरा भएको छ,’ उनले भने, ‘महाधिवेशनसम्म कसैले पनि बिवादित काम नगर्ने हुन्छ ।’
दाहाल र भट्टराईबीच अनौपचारिक समझदारी बनेपछि भट्टराई आफै दाहाललाई उच्च स्तरीय राजनीतिक समितिको संयोजक बनाउने अभियानमा लागेका छन् । यसबारे उनले प्रधानमन्त्री सुशील कोइरालासंग कुराकानी गरेका थिए । विशेष महाधिवेशनमा जाने समझदारी बनेपछि दुबै नेताबीच तिक्तता कम हुदै गएको नेताहरुले बताएका छन् ।















प्रतिक्रिया