३० आश्विन २०८३, शुक्रबार

चीनले मिचेको भूमिमा नेपालीलाई उल्टै कर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-China

संखुवासभा, १३ भदौ । चीनको सीमावर्ती किमाथांका र चेपुवा गाविसका बासिन्दाले चौपाया चराउन नेपालकै भूभागमा पनि कर तिर्नुपर्ने बाध्यता छ।

नेपाल र चीनबीच अन्तिम सीमांकन हुँदा नेपालतर्फ परेको हजारौं हेक्टर जमिन चीनले बर्सौंअघि आफ्नो बनाएपछि सीमावर्ती गाविसका बासिन्दाले चौपाया चराउँदा चीनलाई वार्षिक प्रतिचौंरी ७५ रुपैयाँ र प्रतिभेडा ३० रुपैयाँ बुझाउनु परेको छ।

किमाथांकाका नागरिक अगुवा तेन्छिवी भोटेले किमथांकातर्फको एक गाउँ र ठूलो चरिचरन भूभाग चीनले हडपेको बताए। किमाथांकासँगै जोडिएको नेपाली भूभाग अहिले ‘सानो चाइना’ भनेर चिनिन्छ। चीनले नेपाली भूभाग आफ्नो भन्दै हडपेपछि कर लिन थालेको पनि उनले बताए।

उनका अनुसार किमाथांकादेखि पाँच सय मिटर नजिकदेखि सुरु हुने ुसानो चाइनाु नेपाल र चीन सीमा भनेर उल्लेख गरिएको कामुखोलादेखि करिब दुई किलोमिटर नेपालतर्फ पर्छ।

हिमालय प्रावि किमाथांकाका प्रधानाध्यापक लाचा भोटेका अनुसार सीमा मिचेपछि चीनले नयाँ स्तम्भ नै कुँदेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। पहिलेको कामुखोलातर्फको सीमास्तम्भ हुँदाहुँदै चीनले खोलावारि सानो चाइना र किमाथांका छुट्ट्याउन सानो खोल्सीको ढुंगामा नयाँ स्तम्भ कुँदेको हो।

चौंरीपालक किसानले नेपालकै भूमिमा पनि चौंरी चराउँदा कर तिर्न बाध्य हुनुपरेको भन्दै गुनासो गरेका छन्। एक सयभन्दा बढी चौंरी र भेडापालक किसानले वार्षिक १० हजार रुपैयाँसम्म चीनलाई तिर्ने गरेका छन्।

स्थानीय निमा शेर्पाले भने, ‘चीनले सीमा क्षेत्रमै मिलिसिया राखेको छ। रकम नतिरी चौपाया कटाउनै दिँदैन। तर चीनतिरका बासिन्दाले नेपाली भूमिमा चौंरी चराउन ल्याउँदा भने कुनै रकम तिर्नु पर्दैन।’ उनले नेपाली सीमा असुरक्षित रहेको र चीनको बढी कडाइ भएको बताए।

तत्कालीन प्रमुख जिल्ला अधिकारी तुलसी गौतमसहित सुरक्षाकर्मी र सरकारी कार्यालयका प्रतिनिधि सम्मिलित अध्ययन टोलीले नेपाली जमिन चीनले मिचेको ठहर गरेको थियो। नेपाल र चीनको सीमा कामुखोला उल्लेख भइरहँदा खोलावारि पनि नेपाली जमिन चीनतर्फ गएको टोलीको ठहर छ।

नागरिक अगुवा तेन्छिवीले सीमांकनको अन्तिम समयमा धनकुटाबाट राणा थरका सेनाका कर्णेल गएका र उनलाई चिनियाँ पक्षले २० थान कस्तुरीको बिना दिएपछि नेपाली भूभाग मिचिएको आफ्ना पुर्खाले बताएको जानकारी दिए। उक्त कस्तुरीको बिना पनि नक्कली भएको पछि पत्ता लागेको उनले बताए।

भोटखोला, किमाथांका, हटिया, पावाखोला र चेपुवा गाविसका बासिन्दाले अन्तिम सीमांकनमा पुगेर कामुखोलावारि नेपाल नै हो भन्दै नेपालतर्फ नै राख्न अडान लिएको तर ती सैनिक अधिकारीका कारण सुनुवाइ नभएको हटिया गाविसका पूर्वअध्यक्ष वाङ्दाबी भोटेले बताए।