३० आश्विन २०८३, शुक्रबार

पुनरावेदन न्यायाधीशमा एक्लो नियुक्ति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suprim-courtकाठमाडौं, १२ भदौ । प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले बुधबार सर्वोच्च अदालतका रजिस्ट्रार लोहितचन्द्र शाहलाई पुनरावेदन अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन्।

देशभरका १६ पुनरावेदन अदालतमा दुई दर्जनभन्दा बढी न्यायाधीश पद रिक्त रहे पनि प्रधानन्यायाधीश नेतृत्वमा रहेको न्याय परिषदले बुधबार शाहको नाम मात्र नियुक्तिका लागि सिफारिस गरेको हो।

‘परिषदले लोहितचन्द्र शाहलाई पुनरावेदन अदालतको न्यायाधीश पदका लागि सिफारिस गरेको हो,’ न्याय परिषदका निमित्त सचिव कृष्ण गिरीले एक्लो नियुक्तिबारे टिप्पणी गर्न अस्विकार गर्दै भने, ‘आज उहाँको मात्रै सिफारिसको निर्णय भएको छ।’

न्याय परिषदका एक अधिकारीका अनुसार बुधबारै शाहलाई पुनरावेदन अदालत बागलुङमा पदस्थापन गराउने निर्णय भइसकेको छ।

एक दिनअघि मात्रै न्याय परिषदले पुनरावेदन अदालतका १६ न्यायाधीशलाई मुख्य न्यायाधीश पदका लागि सिफारिस गरेको थियो। मुख्य न्यायाधीशको सिफारिस प्रक्रियामा पनि शाहले एक उम्मेदवारका रूपमा चर्चा पाएका थिए।

न्याय परिषद स्रोतका अनुसार प्रधानन्यायाधीश शर्माले अन्तिम समयसम्म शाहलाई मुख्य न्यायाधीश बनाउन पहल गरेका थिए। केही सदस्यले भने शाहलाई मुख्य न्यायाधीश बनाउन नहुने अडान राखेका थिए।

यही कारण मुख्य न्यायाधीशका लागि सिफारिस गरेको भोलिपल्टै शाहको एक्लो नाम पुनरावेदनको न्यायाधीशका रूपमा न्याय परिषदबाट सिफारिस भएको स्रोतले दाबी गर्यो ।

शाह २०६९ साउन २ देखि सर्वोच्च अदालतको रजिस्ट्रार पदमा कार्यरत थिए।

यसैबीच, प्रधानन्यायाधीश शर्माले न्याय परिषदको सिफारिसमा परेका १६ न्यायाधीशलाई बुधबारै पुनरावेदनको मुख्य न्यायाधीश पदमा नियुक्त गरेका छन्।

साढे दुई महिनाभन्दा लामो प्रयासपछि न्याय परिषदले मंगलबार न्यायाधीशहरू बलराम बिष्ट, दीपककुमार कार्की, तेजबहादुर केसी, केदारप्रसाद चालिसे, पुरुषोत्तम भण्डारी, शम्भुबहादुर खड्का, गिरीराज पौडेल, शारदाप्रसाद घिमिरे, पोषनाथ शर्मा, मीरा खड्का, बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानलाई मुख्य न्यायाधीश पदका लागि सिफारिस गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ । उनीहरूलाई बुधबारै पदस्थापन गरिएको छ।

अन्तरिम संविधानको धारा १०९ १० अनुसार न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले पुनरावेदन अदालतका मुख्य न्यायाधीश र न्यायाधीश नियुक्त गर्ने प्रावधान छ।