दोहा (कतार), ११ भदौ । घरेलु महिला कामदार (हाउसमेड) को तस्करी गर्ने दलालको प्रलोभनमा परी श्रम मन्त्रालयले स्पोन्सर समेत फरक परेको भिसा र करारनामा प्रमाणीकरण गर्न दिएको आदेशलाई कुबेतस्थित नेपाली दुताबासले अस्वीकार गरेको छ ।
श्रमको निर्णय महिला कामदारको सुरक्षाको हित बिपरीत भएको भन्दै एनआरएनको अगुवाईमा ४० भन्दा बढी संघसंस्थाले श्रमको निर्णय रोक्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
दुताबासले श्रम मन्त्रालयको निर्णयप्रति ध्यानकर्षण जनाउदै परराष्ट्र मन्त्रालयलाई कुबेतमा कार्यरत हाउसेमडको यर्थाथ अबस्था बुझ्नको लागि उच्चस्तरीय सरकारी टोली आउन अनुरोध गरेको छ ।
‘अहिलेको अबस्थामा हाउसमेडलाई उद्धार गरेर समेत पठाउन सकिने अबस्था निकै जटिल छ । कुबेत आइसकेपछि जिम्मेवारी लिने कोही छैन’, दुताबासको एक अधिकारीले भने, ‘यस्तो अबस्थामा श्रम मन्त्रालयले दलालले चाहेको जसरी हाउसमेड खोल्न निर्णय गरी पठाएको छ । हामीले त्यसलाई पुर्नबिचार लिन आफ्नो रायसहित परराष्ट्र मन्त्रालय पठाइदिएका छौं ।’
सरकारले बैशाख ५ गते अर्को ब्यबस्था नभएसम्म हाउसमेड नपठाउने निर्णय लिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
त्यसपछि रोकिएको भिसा खुलाउनको लागि दलालरब्यबसायीले मन्त्रालयलाई आर्थिक प्रलोभनमा परेको हो ।
दलालले कुबेतमा हाउसमेडको कारोबार गर्ने प्रति एजेन्सीसँग ६ सय कुबेती डिनार (झन्डै दुई लाख नेपाली)को दरले झन्डै ७० लाख नेपाली रुपैया संकलन भएको नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका एक पदाधिकारीले बताए ।
म्यानपावर ब्यबसायी समेत रहेका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले रोकिएको भिसा खुलाउनको लागि असार १८, २३ र साउन २३ गते निर्णय गरेका छन् । दुताबासले अग्रिम जानकारी दिएर बैशाख १२ गते अघिसम्म मात्रै भिसा प्रमाणीकरण गर्ने सुचना जारी गरेको थियो ।
तर, मन्त्रालयले करिब दुई महिनासम्मको समय दिएर स्पोन्सर समेत परिवर्तन भएको भिसालाई अनुमति दिन दुताबासलाई पत्र पठाएको छ । ‘स्पोन्सरै परिवर्तन हुने गरी आएको भिसा र करारनालाई प्रमाणीकरण गर्नु भनेको पुरै खोलिदिनु हो,’ दुताबासका अधिकारीले भने ।
एउटा हाउसमेड कुबेत आउने बित्तिकै एक लाख नेपाली नाफा हुने भएकोले दलालहरुले हाउसमेडको तस्कर गर्ने गरेको छ । त्यसको लागि दलालहरुले अहिलेको अबस्थामा करोडौ खर्चेर पनि हाउसमेठ खोल्न मन्त्रालयलाई आर्थिक दवाव बढाइरहेको हो ।
दुताबासले ब्यक्तिगत प्रक्रियाबाट हाउसमेड आउने गरेको जनाएको छ । त्यसलाई रोकी संस्थागत प्रक्रियाबाट मात्रै ल्याउन सकिने जनाएको छ । ‘राम्रो कम्पनीमा हाड नाताबाहेकले मात्रै आफन्तलाई ल्याउन सकिने स्थिति छ,’ ती अधिकारीले भने, ‘तर, हाउसमेड जस्तो संबेदशील बिषयमा ब्यक्तिगत प्रक्रियाबाट आइरहेको छ ।
हामीले पुरै बन्द गर्नुको साट्टो कुबेती सरकारसँग श्रम सम्झौता गरी एजेन्सीलाई जिम्मेवारी बनाउन संस्थागत रुपमा ल्याउन सिफारीस गरेको हो । त्यसतर्फ मन्त्रालय जान खोजेको देखिएन ।’
दुताबास स्थापना भएको चार बर्षमा दुताबास मार्फत ५० हजार भिसा प्रमाणीकरण भइसकेको छ । उनीहरुको सुरक्षाको लागि स्थापना गरेको सेल्टरमा सधै दुईसय भन्दा बढी हाउसमेड उद्धारको प्रतिक्षामा छन् । जसमा १४ महिनादेखि आश्रयमै बसिरहेको हाउसमेड छन् । यतिखेर २ सय ४० जना छन् ।















प्रतिक्रिया