बुद्धिजीवी कुनै पनि देशको आँखा, मुटु र मष्तिष्क हो । यो समाजको प्रज्ञा हो, उच्चचेतना, उन्नत र उदात्त संस्कार, बौद्धिक र शैक्षणिक क्षेत्र हो । यसलाई सेवामूलक पेशागत गरिमा पनि भन्न सकिन्छ । बुद्धिजीवी विचार, सिद्धान्त, वाद तथा जीवनमूल्यका प्रणेता हुन् । यस्ता व्यक्तित्वलाई निर्मित वाद र विचारका प्रबद्र्धक, पुन:सर्जक, संरक्षकपनि भन्न सकिन्छ । यस खालका मनीषि नै सही मानेमा बुद्धिजीवी हुन् । यसो त मानवीय जीवनका बहुआयामिक विविध पक्षमा सानो वा ठूलो नव सिर्जना, सीप र रचनात्मक बौद्धिक कार्यलाई पनि बौद्धिक कार्य भन्न सकिन्छ । औपचारिक तथा अनौपचारिक ज्ञान यस क्षेत्रको समग्रता हो । पाठ्य पुस्तकीय ज्ञान आधा ज्ञान हो । तर औपचारिक ज्ञान आर्जन गरेका बौद्धिकहरूको राम्रै चहल पहल र चलखेललाई ध्यानमा राख्दा यस तहमा अनेक समस्या देखा परेका छन् । अध्ययन, चिन्तनलाई व्यवहारमा उतार्न सकिएन भने यस्तो पढाइले समाजमा कुनै सकारात्मक प्रभाव पार्न सक्तैन ।
एउटा सचेत तथा बौद्धिक नागरिकका नाताले देशको जेठो नीति राजनीतिका बारेमा सचेत समुदायमा अपेक्षित जानकारी अत्यावश्यक हुन्छ । त्यसमा पनि कुनै न कुनै राजनैतिक दलसित आबद्ध, सम्बद्ध, सम्पर्कित तथा सम्बन्धित समाजको अगुवा ठहरिएको नेपालको बौद्धिक क्षेत्र कतिपय अवस्थामा आफैं रनभुल्लमा रहेको देखिन्छ । उनीहरूमध्ये अधिकांश प्रजातान्त्रिक सामाजवादको सिर्जनात्मक र समय सापेक्ष चर्चा गर्दैनन् । बीपी कोइरालाको मेलमिलापको पनि दार्शनिक तथा राजनैतिक अर्थतात्विक विषयलाई मौलिकताका साथ उल्लेख गर्दैनन् । त्यसैगरी जबजलाई पनि कतिपयले आआफ्ना मनोगत आग्रहमा फरक–फरक ब्याख्या र विश्लेषण गरेको देखिन्छ । यिनमध्यले आम रूपमा प्रचलित बहुदलीय शासन पद्धति मात्र जबज भन्न पनि खोज्छन् । बहुदलीय जनवादको माक्र्सवादी प्राविधिक विशिष्ट अर्थ आशयका बारेमा कतिपय जानी जानी नबुझेको ढोँग गर्छन् भने कतिपय न्यून चेतनाका कारण कुहिराको काग बनिरहेका छन् । यसमा पार्टीले उचित समयमा उचित ब्याख्या गर्न हिजोका दिनसम्म गरेको पाइएन । यसमा अर्को कमजोरी के छ भने विभिन्न विषयगत र विधागत विशिष्ट ज्ञानलाई कतिपय नेताले राम्ररी बोध नगरी स्वयं घोषित सर्वज्ञ हुन खोज्दा सही विचार प्रवाहित हुन पनि सकिरहेको छैन । तर केही चुरो व्यक्तित्वले माक्र्सवादको सिर्जनात्मक प्रयोगका रुपमा जबजलाई बुझ्छन् ।
आश, त्रास र बतासमा कुनै हालतमा नहल्लिइकन दृढ अडान राख्ने देश, जनता र जनसरोकारका विषयमा निश्वार्थ तथा दूरगामी विचार प्रवाह गर्ने बौद्धिक व्यक्तित्वको हाल निकै खाँचो देखिन्छ । कतिपय बुद्धिजीवीले निर्मित विचारलाई सही अर्थमा नै बुझ्न नचाहने,नबुझ्ने, निर्मित विचार र सिद्धान्तको पुन:सिर्जन गर्ने कुरामा त्यति ध्यान दिएको देखिँदैन । त्यसमा पनि नेपाल बुद्धिजीवी परिषद् नै यस फाँटको हैसियतवाला नेपालको प्रमुख बौद्धिक संस्था हो । यसले जबज अध्ययन विभाग नै गठन गरेको छ ।
एमालेमा पार्टी वा मोर्चामा संगठनको सञ्जाल छ । यो राष्ट्रव्यापी पनि छ । एमालेमा गहनाको कमी छैन तर गहना लगाउन नजानेर यसको कन्तबिजोक भएको यदाकदा देख्नुपर्छ । पार्टी र मोर्चा सञ्चालन गर्ने पदाधिकारी र विभिन्न फाँटलाई उचित दिशा निर्देश गर्ने इन्चार्जहरूको ओइरो छ । तर ती कति वैचारिक सांगठानिक स्तरयुक्तछन्, त्यो पनि हिजोका दिनमा निरीक्षण गर्ने फुर्सत भएन । हिजोसम्म कार्यकर्ता र नेताको स्तर मापन गर्ने एउटै र अन्तिम कसी लबीमात्र बन्यो । तहगत नेतृत्वमा आवश्यक क्षमताका आधारमा जिम्मेवारी दिएर नेतृत्व हस्तान्तरण र पुस्तान्तरण नगरेका कारण पार्टी जाम भएर बस्यो । कार्यकर्ताभन्दा नेता बढी भएको पार्टीका रूपमा यो पार्टी हिजोसम्म चल्यो । त्यसमा पनि बौद्धिक क्षेत्रलाई योग्यता र क्षमताका आधारमा उचितजिम्मेवारी नदिनाले यो क्षेत्र ओझेलमा परेको छ भने बौद्धिक संस्थामा पदीय उच्च नेतृत्व प्राप्त व्यक्तित्व पनि विचारको फेरभन्दा दौराको फेरमा झुण्डिन रौसिने परिपाटी देखियो । यसका लागि अनेक खुराफात गरेर त्यस खालको झुण्ड बनाउने कुरा अर्को अचम्म र उदेकको विषय लाग्यो । यसले गर्दा बुद्धिजीवीको ध्यान बौद्धिक प्राज्ञिक उच्चता कायम गर्नेभन्दा चरम अवसरवादतिर लहसिने परिपाटी बढेर गएको देखियो । यसमा पनि अलिअलि घुनपुत्ली लाग्ने कुरा सामान्य हो तर यो आकण्ठ डुबेको देख्दा अचम्म नै लागेको छ ।
प्रसिद्ध अधिवक्ता विश्वकान्त मैनालीले नेता र बुद्धिजीवीका बीच तेल पानी सम्बन्ध रहेको तिक्तता केही वर्ष पहिले व्यक्त गरेका थिए । कतिपय नेता ठाउँ न कुठाउँ सर्वज्ञ हुन खोज्दा समस्या बल्झिएको देखिन्छ । कतिपय बौद्धिक व्यक्ति आफ्नो निजी शुभलाभका आधारमा सिद्धान्तको व्याख्या र पुनर व्याख्या पनि गरिरहेको भेटिन्छ । अनि वैचारिक र प्राविधिक नेतृत्वको स्तरलाई समान देख्ने चिन्तन यस फाँटमा पाइन्छ । विगत २०४९ सालमा पनि यस्ता अतथ्यवादी चिन्तन थिए । त्यसबेला सीपी मैनाली र मदन भण्डारीको दुई अत्यन्त फरक नेतृत्वलाई पनि कतिपयले होलसेलमा मूल्याङ्कन गरेका थिए । यस्तो प्रवृत्ति बेलाबला देखिने गर्छ । पार्टीमा वैचारिक सैद्धान्तिक नेतृत्व आन्दोलनको चुरो कुरो हो तर यसको मर्म रमहत्व नबुझ्ने बौद्धिकता पनि यदाकदा देख्नुपर्छ र आतिथ्यमा हुने कार्यक्रममा मानिसहरूको उल्लेख्य उपस्थिति हुने गरेको देखिन्छ । यसको मूल कारण डा. बाबुरामको विगत एसएलसी परीक्षामा हासिल गरेको सर्वोत्कृष्टता र आर्किटेक्चर विषयको ज्ञाता तथा विद्वान् भन्ने आग्रह बढी हो ।
तर कुनै खास विषयमा विज्ञ हुने बित्तिकै राजनीतिमा पनि विज्ञ, विद्वान् र सफल हुने कुराका बीच खासै साइनो र सम्बन्ध हुँदैन । मूल कुरा उसले अबलम्बन गरेको विचारमा उसको के कति दूरदर्शिता छ भन्ने कुरा नै हो । यस खालका आग्रहमा परियो भने आन्दोलन भड्खालातिर नै जान्छ । त्यसमा पनि एकपटक सही काम गरेको नेताले सधैंराम्रै गर्ला भनेर सदासर्वदा उनका पछि दौडिने कुराले पनि धोका पाउने संभावना हुन्छ । किनकि समाजमा एक लाखमा इमान्दार हुने मान्छे करोडमा बेइमान हुन बेर छैन । पर्ख र हेर नगरीआँखा चिम्लेर समर्थन गरिरहनु जाती हुँदैन । तर हाम्रा बुद्धिजीवीमा यस्तो पनि रोग विद्यमान छ ।
कतिपय नेताले बौद्धिक क्षेत्रलाई विसङ्गत बनाएका छन् । विचारको फेर समात्न नलगाएर दौराको फेरमा झुण्डिन प्रोत्साहित गरेर तिनलाई पर्याप्त उकासेका छन् र उचालेका छन् । यसले गर्दा त्यस खालका बुद्धिजीवी पार्टीमा निकै हाबी देखिन्छन् र तिनका सात खत पार्टीका अमुक नेताले माफ गरेर यस क्षेत्रलाई विङ्गतिग्रस्त बनाएका छन् । अनि लोभीपापीको गुट खडा गरेर र गर्न लगाएर कथित नेताले सर्वनाश गरेको पनि देखिन्छ । बुद्धिजीवी क्षेत्रमा विचारपक्ष निकै कम देखिन्छ । यस क्षेत्रमा बजारको उपयोग गर्नु राम्रै हो । आआफ्नो रुचिको सिद्धान्त,विधा र मान्यताका ज्ञान विज्ञानको विषय बजारसम्म पुर्याउनु जाती हो । यसले बौद्धिक ऊर्जा,शक्ति र सामथ्र्यको विकास हुन्छ । यस खालका रचनात्मक सिर्जनात्मक कामबाट आफू र आफ्नो विचार समूह पनि लाभान्वित हुन्छ । बौद्धिक बजारको सकेसम्म उपयोग गर्नैपर्छ । समसामयिक विषयलाई पनि प्रवाह गर्दा पनि बौद्धिक बजार लाभान्वित हुन्छ । यस खालका कामले समाजमा सकारात्मक प्रभाव पर्छ र विसङ्गतिलाई निमोठ्न सहयोग पुग्छ ।
जबजले निर्देशन अनुसार प्राज्ञिक स्वतन्त्रताको सदुपयोग गरेर सन्तुलित रूपमा पार्टीजीवनमा सही विचार र मान्यता राख्दा पार्टी र नेतृत्वलाई सहयोग पनि पुग्छ । बौद्धिक बजारको सही उपयोगले यस खालको बजारको बृद्धिमा धेरै सहयोग पुग्ने देखिन्छ । तर उपभोक्तावादी संस्कारको दास भएर आफ्नो बुद्धि, विवेक, चेतना, प्रज्ञालाई ढकतराजुमा जोख्ने काम चाहिँ व्यापारीकरण हो । यस रोगले पनि एमालेमा घर गर्न थालेको देखिन्छ । यस पार्टीका कतिपय बुद्धिजीवी बिरालाले छाउरा ओसारे जस्तै घरि यता र घरि उता गरेर कुदिरहेका छन् । तिहुनचखुवा जस्तो गति र मतिका यी कतिपय पात्र फेरि एमालेमा फर्किन आतुर पनि देखिन्छन् । कमीकमजोरी महसुस गरेर पूरानै घरमा फर्किनु नजाती होइन तर पद, पैसा र प्रतिष्ठा पाउन हत्ते हाल्ने अनि फेरि जुन जुन ठूलो पद पायो त्यही पद बोकेर पोइल जाने तरिका फेरि दोहोरिनु भएन । फर्किने पात्रलाई पनि नहौसिइकन पार्टीले उचित स्थान र मान दिएर नराख्ने हो भने पार्टी ओरालो लाग्नु निश्चित हुनेछ । स्वार्थकेन्द्रित मान्छे आफ्नू अनुकूलतामा मात्र अविचारलाई पनि सुविचार भनिरहेको हुन्छ । देश र जनताको हितगर्ने विचार र वैचारिक नेतृत्वबाट अवसरवादको तत्काल हित हुँदैन । यस कारण कतिपय बुद्धिजीवीहरू सही विचारलाई अचार बनाउन तम्तयार पनि देखिन्छन् । जता मल्खु त्यतै ढल्कु प्रवृत्ति बुद्धिजीवीमा नराम्ररी मौलाएको देखिन्छ । समस्या छन् तर समाधान पनि त्यसैभित्र अन्तर्निहित रहेको हुन्छ ।













प्रतिक्रिया