नेपाल भ्रमणताक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकासका लागि जुन ऊर्जा र उत्साह दिएर गए, त्यसलाई वाहवाहीको विषय होइन, कार्यान्वयनको विषय बनाउनुपर्छ । तर, हामीलाई भारतविरोधी मनोविज्ञानको धङधङीले नछाडेको हुँदा कार्यान्वयन गर्दा राष्ट्रघाती भइन्छ कि भन्ने डर, कार्यान्वयन नगर्दा राष्ट्रवादी भइन्छ कि भन्ने भ्रमले अपार सम्पदाको देशलाई हामीले बर्बादीतिर, जनतालाई अन्धकारतिर धकेलिरहेका छौँ ।
२०४६ साल अगाडिको कुरालाई छाडौं, त्यसपछि मात्र पनि हामीले देश बनाउने काम थालेको भए, सायद यो देश यति साह्रो बर्बाद हुने थिएन । दुई करोड जनता भएको देशमा बीस वर्षभित्र धेरै कुरा गर्न सक्थ्यौं । तर, देश विकास भन्दा आफ्नै विकासमा हामी लिप्त भएका कारण लाखौं युवाहरू रोजगारीका लागि पलायन हुन बाध्य भएका छन् । अझै पनि ती बेरोजगारीका पीडालाई हामीले सम्बोधन गर्न सकेका छैनौं ।
यसो हुनुको पछाडि राजनीतिक नेतृत्वमा पुग्ने नेताहरूको सोच र संस्कारकै अभाव हो । एउटै पार्टीमा मिलेर बस्न नसक्ने, कुर्चीका लागि हानाथाप गर्ने र नीतिगत भ्रष्टाचार गरेर पुस्तौ पुस्ता सम्पत्ति जोड्ने प्रवृत्तिका कारण नेपालमा राजनीतिक स्थिरता पनि हुन सकेन । बीस वर्षयताका दिनहरू प्रमुख राजनीतिक दलका नेताको सिंहदरबारमा फोटो झुन्ड्याउनमै बित्यो । हरेक वर्ष सरकार परिवर्तन गर्नेबाहेक उनीहरूले आफू र देशलाई परिवर्तन गर्नेतिर कहिल्यै सोचेनन् । यदि सोचेको भए एउटै पार्टीभित्र नेता–नेताबीच यति साह्रो गाईजात्रा पनि हुने थिएन ।
मोदीले नेपालमा लिन भन्दा पनि दिन आएका थिए, यो कुरा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि नेपालका नेताहरूलाई स्पष्ट बनाएकी थिइन् । त्यतिबेला हामी मख्ख परेर ताली ठोक्यौं, अहिले पिटिए गर्ने बेलामा अनेकौं शंका उठाउँदै छौँ । राजनीतिक तहमा मोदीले सिधै सम्पर्क स्थापित गर्न खोजिरहेको बेला हामी फेरि कर्मचारीतन्त्रको परिबन्दमा फसेर नेपाल–भारत सम्बन्धलाई बिर्गान खोजिरहेका छौँ । पीटीएका बारेमा ऊर्जा मन्त्रालयले जुन कुरा बाहिर ल्याएको छ, त्यो कुरालाई दोहोरो संवादबाट हल गर्न सकिन्थ्यो । त्यसो नगरी नकारात्मक सूचना बाहिर आउँदा कतै नेपालको विकास हेर्न नचाहने तत्वहरूले ऊर्जाका कर्मचारीलाई प्रयोग त गरेनन् भन्ने शंका उठेको छ ।
नेपालको पर्यटन, कृषि र ऊर्जामा भारतले नेपालसँग मिलेर काम गर्ने बचन दिएर मोदी फर्केको एक महिना बित्दा नबित्दै नकारात्मक सूचना चुहिनुले भारत फेरि सशंकित हुन सक्छ । त्यो कुराले हामीलाई अरु बीस/तीस वर्ष अन्धकारम धकेल्न सक्छ । हाम्रो देश युवाविहीन वृद्धाश्रममा परिणत हुन सक्छ । त्यसैले दुई देशबीच भएका कुराहरूलाई बिना निष्कर्ष विवादको विषय बनाइनु हुन्न । निश्चय पनि लगानीकर्ताले सबैभन्दा पहिला आफ्नो मुनाफा हेर्छ । जहाँ फाइदा हुन्छ, त्यहाँ लगानी गर्ने लगानीको नियम नै हो । तर, यो नियमभन्दा अलि फरक मोदीको भावना हो । उनले प्रस्टैसँग भने– दश वर्षसम्म हामी तपाईंलाई उज्यालो दिन्छौं, त्यसपछि हामीलाई उज्यालो दिनुस् । अर्थात् नेपालको जलस्रोतको क्षमता यति छ कि त्यसलाई हामीले उपभोग नै गर्न सक्दैनौं । हामीबाट बचेको बिजुली भारतले किन्न तयार छ । यसैका लागि मोदीले नेपालसँग चाँडोभन्दा चाँडो विद्युत लगानी र व्यापार सम्झौता गर्न खोजेका हुन् ।
अलि पछाडि फर्केर हेर्ने हो भने अरुण तेस्रो जलविद्युत कसका कारणले स्थगित भयो र त्यसको असर हाम्रो देशमा के पर्यो भन्ने कुरा दिन रातको लोडसेडिङले देखाइरहेको छ । यदि त्यतिबेला अरुण तेस्रो बन्न दिएको भए नेपालको गति यस्तो हुने थिएन । त्यसबाट पाठ सिक्दै नेपालको ऊर्जा विकासमा भारतसँग सहकार्य गर्नुको विकल्प छैन । त्यसका लागि राजनीतिक स्थायित्व, स्थिर सरकार र त्यो सरकारलाई हाँक्ने चौडा छाती, दूरदर्शी नेताको खाँचो छ । त्यस्तो नेता बन्न हामी अहिलेदेखि नै लाग्नुपर्छ । एउटा व्यक्तिको सोंचमा आएको परिवर्तनले विश्वलाई कसरी बाटो देखाउँछ भन्ने कुराको उदाहरण धेरै छ । त्यसैले शंकाको भरमा लंका जलाउनु भन्दा आफूलाई चित्त नबुझ्ने कुराहरू टेबुलमा बसेर समाधान गर्ने बानी बसाल्यौं भने मात्रै हाम्रा सन्ततिले सुख पाउने छन् ।














प्रतिक्रिया