काठमाडौं, १० भदौ । परराष्ट्र मन्त्रालयका सहसचिवले आफूलाई राजदूत बनाउन राजनीतिक दलमार्फत लबिङ गरेपछि राजदूत नियुक्ति प्रक्रिया नै तत्कालका लागि रोकिएको छ।
वरिष्ठदेखि कनिष्ठ सहसचिवहरू राजदूत हुने दौडमा होमिँदा प्रधानमन्त्रीसँगको सम्बन्ध नै बिग्रने अवस्थामा पुगेपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डले नियुक्ति प्रक्रियालाई मंसिरमा हुने सार्क शिखर सम्मेलनसम्म थाती राख्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ।
आफूलाई राजदूत बनाइदिन भन्दै सहसचिवहरू राजनीतिक दलका शीर्ष नेताको घर–घरमा पुगेको सूचना पाएपछि मन्त्री पाण्डले केही दिनअघि मन्त्रालयमा बैठक बोलाई उनीहरूलाई हप्काएका थिए।
‘तपाईंहरू धेरैतिर कुद्नुभयो। धेरै नेताको घर पुग्नुभयो। नेताको घर धाउँदैमा राजदूत भइँदैन,’ बैठकमा मन्त्री पाण्डेको भनाइ उद्धृत गर्दै एक सहसचिवले भने, ‘मैले जुन नाम लगेको छु त्यही ठिक छ।’
स्रोतका अनुसार मन्त्री पाण्डेले राजदूत नियुक्तिको मापदण्डअनुसार भन्दै परराष्ट्रका सहसचिवहरू खगनाथ अधिकारी, दीपक धिताल, अम्बिका लुइँटेल, अमृतबहादुर राई, अर्जुनकान्त मैनाली र कालीप्रसाद पोखरेलको सूची पटक–पटक मन्त्रिपरिषदमा लगेका थिए।
एक साताअघि बसेको मन्त्रिपरिषद बैठकमा पनि उनले यिनै नाम लाँदा बैठक बस्नुअघि मन्त्री पाण्डे र सरकारमा सामेल नेपाली कांग्रेसका मन्त्रीहरू रामशरण महत (अर्थ) र मीनेन्द्र रिजाल (सूचना तथा सञ्चार) बीच छलफल भएको थियो।
महत र रिजालले राजदूतको सूचीमा परराष्ट्रका अर्का सहसचिव दुर्गाबहादुर सुवेदीलाई पनि राखेर संख्या ७ पुर्यांउन दबाब दिएका थिए। कांग्रेसका मन्त्रीले सुवेदीको नाम लिएपछि परराष्ट्रमन्त्री पाण्डेले ८ जना राजदूत नियुक्ति गर्न सुझाए।
त्यसपछि महत र रिजालले परराष्ट्रबाट ८ जनालाई राजदूतमा नियुक्त गर्नै नसकिने अड्डी कसेपछि छलफल त्यसै टुंगिएको थियो। ‘परराष्ट्रमन्त्री मापदण्डभित्र नपर्ने, तर नेकपा एमालेसँग आस्था राख्नेलाई प्राथमिकता दिनुहुन्छ।
कांग्रेस नेताहरू आफ्नो दलनिकटलाई समावेश गर्नैपर्छ भन्नुहुन्छ। राजदूत नियुक्तिसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा अहिलेको समस्या आएको हो, स्रोतले भन्यो।
स्रोतअनुसार मन्त्री पाण्डेले अधिकारी, धिताल र लुइँटेललाई वरिष्ठता, राईलाई लोकसेवाको वरिष्ठता, पोखरेललाई बाँकी रहेकामध्ये पहिले हाजिर गरेको र मैनालीलाई नाम अवकाश हुने बेला भएको आधारमा राजदूत नियुक्तिको सूचीमा राखेका हुन्।
सूचीमा नपरेका अन्य सहसचिवहरूले मापदण्डका आधार पेस गर्दै आफू नपर्नुको कारण बैठकमा मन्त्री पाण्डेसँग सोधेको समाचार आजको नागरिक दैनिकले छापेको छ । ‘सहसचिवहरूले नामै किटेर आफूभन्दा कनिष्ठ व्यक्ति सूचीमा पर्दा आफू नपर्नुको कारण मन्त्रीसँग सोध्नुभएको थियो। तर, मन्त्रीले त्यसको स्पष्ट जवाफ दिनुभएन,’ स्रोतले भन्यो।















प्रतिक्रिया