भक्तपुर, ९ भदौ । भर्याङ्ग र भर्याङ्गको कुनामा कोचिएर राखेको झोला, जुत्ताको लहर । हेर्दा लाग्छ कँही बसाई जान ठिक्क पारेको झोला हो ।
तर त्यो झोला बसाई जानको लागि ठिक पारेको होइन । महानगरीय ट्राफिक प्रहरी वृत्त सल्लाघारीमा कार्यरत ट्राफिक प्रहरीको कोठामा सामान नअटाएर झोलामा हालि भर्याङ्गको खुटकला भरी राखिएको झोला हो ।
सबैको सुरक्षामा खट्ने प्रहरी नै असुरक्षित होला भन्ने महसुस कसैले गरेको हुँदैन तर यहाँ एउटै कोठामा ३२ प्रहरी जवान ठेलमठेल गर्दै बस्नुपरेको छ ।
कार्यालय प्रमूख इन्स्पेक्टरले कार्यालय बारेर आफ्नो सुत्ने कोठा बनाएको छ । सई र असईको कार्यालय र कोठा एउटै छ । एउटा कोठा रिसेप्सनको लागि छुट्याएको छ ।
ट्राफिक कार्यालय सल्लाघारीमा ३५ जनाको दरबन्दी छ । तर कार्यालय र आवास गरी ४ वटा मात्र कोठा लिएको छ । खाना पकाउन बाहिर सानो टहरा बनाएको छ ।
भवन जीर्ण बनिसकेको छ । सरकारले हाइड्रेसन लाइनको सय मिटर वरपर नक्सापास समेत रोकेको छ । तर ट्राफिक कार्यालय हाइड्रेसन लाइन ११ हजार भोल्टको तारको मुनी भएकाले छतमा जान समेत रोक छ ।
कार्यालयमा सामान राख्ने ठाउँ छैन । समातिएका सवारी राख्ने ठाउँ छैन । वाकिटकी बाहेक कप्युटर, प्रिन्टर, टेलिफोन केहीको सुविधा छैन । मसलन्द खर्च समेत दिने पाएको छैन । ‘कहीं कसैलाई केही भन्नुपर्यो भने पनि आफ्नै मोबाइलबाट गर्नुपर्छ’, कार्यालय प्रमूख इन्स्पेक्टर लवकुश थापाले भने ।
प्रशासनिक खर्च महानगरीय ट्राफिक प्रहरी महाशाखाले र घरभाडा मासिक ९ हजार रुपैंया महानगरीय प्रहरी परिसर भक्तपुरले दिने गरेको कार्यालयले जनाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
महाशाखा अन्तर्गतका कार्यालयहरुमा लेखा शाखा नहुने भएकोले सुविधाहरु कटौती गरेको भएपनि टेलिफोनको व्यवस्था हुनुपर्ने उनीहरु बताउँछन् । ‘जहिले हामी अरुको सुरक्षामा खटेका हुन्छौं तर हाम्रो हविगत यस्तो छ’, एक जवानले गुनासो गरे । विभिन्न कारबाही राजस्वबाट उठेका रकमको १५ देखि २५ प्रतिशत प्रोत्साहन भत्ता ट्राफिक प्रहरीलाई प्रदान गर्ने भनेपनि अहिले सम्म उपलब्ध गराएको छैन ।















प्रतिक्रिया