एउटा कुरामा अभ्यस्त आँखालाई नयाँ कुरा आउँदा अप्ठेरो अनुभुत हुन्छ नै । ०४६ सालपछि जव कम्युनिष्टहरुको बिगबिगी बढ्यो र उनीहरु सत्तामा आउने भन्ने कुरा चल्यो । कांग्रेस र पूर्वपञ्चहरुलाई यो अचम्मको हुनै नसकिने कुरो थियो । मेरो एकजना छिमेकी (जो अहिले मरिसक्नुभएको छ) उहाँले मेरो मुखैमा आएर भन्नुभो – क्या जमाना आयो ? अब त्यो प्रदीप नेपाल पनि मन्त्री हुने रे क्या जमाना आयो ? उसकै अघि सामान्य जीवन जिउने र प्रायः चप्पल लगाएर हिँड्ने मान्छे मन्त्री हुनु उसको मानसलाई स्वीकार्य थिएन । अनि केही महिनामै प्रदीप नेपाल मन्त्री भए र उनै अन्तर्गतका संचार मन्त्रालयमा म टेलिभिजनको अध्यक्ष भएँ । उनै साथी हौसिँदै आएर मलाई बधाइ दिँदै भने राजाको छोरो नीरशाहको कुर्सीमा तपाईँजस्तो जनताको छोरो । यसपाली उनलाई अलि सजिलो अनुभूत भएको मैले आँकेँ । बानी नपरेको आँखालाई एक्कासी उज्यालो आएसमान हुँदा आँखा छोपिन्छ नै विस्तारै उज्यालोमा अभ्यस्त भएपछि आँखा पनि विस्तारै खोलिन्छ । भयो त्यही ।
मैले यो लेख राजनीतिक हिसाबले लेख्न खोजेको होइन, तर यतिखेर माहौल नै त्यही छ र मैले जे बोले पनि राजनीतिक सन्दर्भ हुन पुग्छ नै । जे होस् साँस्कृतिक उठानबाटै यो कुरा सुरु गरौँ । मेरो नजिकको एउटा ब्राह्मण मित्रलाई हिन्दु सँस्कतिको निर्माणबारे मेरो बाल उपन्यास सृष्ठि पुराणमा उठाएको प्रसंग पचेन छ । यस उपन्यासमा भनेको छु, आदिबासीहरुले भरपुर हिमालय दक्षिणका सिन्धु, गंगा ब्रह्मपुत्र मैदान र देक्कन पठारमा पहिले किराँतहरु उत्तरतिरबाट भिन्नभिन्न नदीका घाँटीबाट पसे र पछि पश्चिमतिरबाट हिन्दुकुश पार गरेर आर्य जातिहरु यता आए । यिनै थरीथरीका जातिहरुको हजारौँ वर्षसम्मको साँस्कृतिक समिश्रणको परिणाम हो हिन्दु संस्कृति । हिन्दु पुराणहरुले व्यक्त गरेका देवासुर संग्रामका समस्त कथा यसै निर्माणका इतिहास संग्रह हुन् । यो समाजशास्त्र वा मानबशास्त्र वा इतिहासका विद्यार्थीहरुले मात्र मान्ने कुरा भयो । एकै धर्मका कट्टर अनुयायीहरुलाई भने पच्ने कुरै भएन । हाम्रा बालबच्चालाई त्यस्तो पूर्ववत कट्टरताबाट यथार्थतिर अग्रगामी बनाउने उद्देश्यसाथ लेखिएको यो उपन्यास उहाँलाई पचेन जबकी उनैको भनाइ अनुसार उनका छोराछोरीले चाहिँ यो उपन्यासको कुरा उठानलाई चाख दिएर पढेछन् । उनको आपत्ति थियो मेरो किताबबाट उनका बच्चाको दिमाग भाँडिए अर्थात् यो किताबले आम नेपाली बाबालिकाहरु अब भाँडिने भए र भाँडिदैछन् । म भने दंग परेँ मेरो अभिष्ट सफल भएछ भन्दै ।
मेरो ब्राह्मण मित्रको आपत्ति पनि नकरात्मक चाहिँ होइन । उनी मलाई विश्वास गर्छन् र स्पष्टीकरण खोज्दा बढी नै जुझारु भएर वार्तामा आउँछन्, त्यत्ति मात्र हो । उनी सायद यो कुरा लिएर आउँदैन थिए पनि भरखरै दशैताका मैले मेरो आठ दश वर्ष पुरानो लेख सुन्नुहोस्- ‘दशैँ किराँतहरुको चाड हो’ भन्ने लेख फेसबुकमा पोस्ट गर्दा उनले मेरो सोँचलाई ठाडै अस्वीकार गरेका थिए । यही लेख मेरो निवन्ध संग्रह स्वीकृत यात्राका अस्वीकृत सन्दर्भमा पुस्तकमा समेत समावेश हुन पुग्नु र यही प्रशंग मेरो बुद्धको जीवनी सम्बन्धी अनुसन्धानात्मक नयाँ उपन्यास ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ मा समेत कथाकृत हुन पुगेको देख्दा त उनी आगो नै भएका रहेछन् ।
हिन्दुधर्मलाई मान्छेजातिबाट होइन तर आफै उत्पति भएको बेदग्रन्थको उपज मान्ने उनको आस्था भएकोमा ठूलै चोट परेछ र उक्त सृष्ठि पुराण भन्ने मेरो बाल उपन्यासको सन्दर्भ मिलाएर मसँग विवादमा आएका रहेछन् अर्थात् ठूलालाई त यस्तो कुराहरु प्रयोग स्वरुपमा प्रस्तुत गर्दा केही क्षम्य थियो तर बाल मानसमा यस्ता आघात पर्ने कुरा प्रयोगको विषय होइन भन्ने मान्यतासाथ उनी मसँग वार्तामा उत्रिएका रहेछन् ।
यस्तो विश्लेषणयुक्त यथार्थपरक साहित्य मेरो लेखनको प्रारम्भदेखि नै अभिष्ट रहिआएको छ । अझ मेरो यस घृष्टतालाई कसैले मान्दैनन् अस्वीकार नै गर्दैछन् भने पनि आफू अस्वीकृत नै सही उनका कट्टरतालाई म नै अस्वीकार गर्दै आफ्ना कुरा भन्छु भन्ने अभियानमै म उद्दत छु । आफ्ना भनाईहरुमा कुनै विद्वानले सप्रमाण कमी कमजोरीहरु देखाउँछन् भने म तत्काल आफ्ना भुलहरु सुधार्न अग्रसर छु । यसरी नै त हामी मान्छे जाति पाइलापाइला गरी यहाँसम्म आइपुगेका हौँ ।
मेरो यो अभियान भर्खरको होइन, २०२६ सालदेखि गर्दै आएको छु । पञ्चायतकालमा यो सुरु भएको हुँदा धेरैलाई लागेको छ र लागेको थियो यो राजनीतिक उद्देश्यसाथ सुरु भएको अभियान हो । त्यसबखत राजनीति नै जनमानसलाई कुण्ठित गर्ने कारक भएको हुँदा त्यसबेला यो अभियान राजनीतिक प्रतित भयो । होइन भने वृहत्तर रुपमा यो मानव सभ्यतामा उब्जिएका कुण्ठाविरुद्ध अक्रामक छ, जस्तो कि यता आएर त्यो निरंकुश राजनीतिक प्रणाली खण्डित भएपछि यो अरु कुण्ठाहरुतिर अक्रामक छ ।
हाम्रो संस्कृतिमा अन्धविश्वास नै सर्वोपरी कुण्ठा रहेको हुँदा अब यो अस्वीकृति यता प्रवृत्ति छ । राजनीतिको लागि आक्रमण चाहिँ कदाचित होइन । समस्त सावयवको लागि त उपचार नै हो । कुण्ठा अर्थात सामाजिक केन्सरहरु नाश गर्ने उपचार । यसमा कैची चल्छ छुरा चल्छ काम नलाग्ने गरी बिग्रिएका अंग नै पनि झिकेर फालिन्छ त्यो समस्त शरीरको हीतको लागि हो । निक्कै पीडा होला अपांग नै पनि बनिएला तर त्यो जीवन ग्यारेन्टीको लागि हो । रोगीलाई दुख्छ भनेर डाक्टरले उपचार रोक्दैन मैले गरेको त्यही हो । अस्वीकृत साहित्य व्यवहारिक साहित्य हो ।
(लेखक अस्वीकृत विचार साहित्य आन्दोलनको प्रणेता हुन्)

















प्रतिक्रिया