काठमाडौं, ८ भदौ । विस्तार अभियानसँगै राजधानीका सडक चाक्ला, चिल्ला र सुन्दर बनिरहेका छन्। फराकिला सडकमा सवारीसाधनको गति पनि तीव्र बन्दैछ। घन्टौंका पट्यारलाग्दो जामबाट चालकले मुक्ति पनि पाउँदै गएका छन्। विडम्बना १ सवारी दुर्घटना भने दिनहुँ बढिरहेका छन्।
प्रहरीका अनुसार विस्तारित सडकमा ‘ब्ल्याक स्पट’ (सवारी दुर्घटना बढी हुने स्थान) को संख्या भने ह्वात्तै बढेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यसको कारण सवारीको तीव्र रफ्तार नै हो।
विस्तारयता ज्ञानेश्वर ओरालो, कमलपोखरी, बबरमहल, तीनकुने, माइतीघर, चाबहिल, नयाँबानेश्वर, गैरीधारा, सातदोबाटो, भक्तपुर गट्ठाघर, सल्लाघारी, कुपन्डोल क्षेत्रमा दुर्घटना बढिरहेको महाशाखाले जनाएको छ।
बढ्दो सवारी चाप, बिग्रँदो सडक र सहरीकरणका कारण पनि ब्ल्याक स्पट बर्सेनि बढ्दै गएको महाशाखाको विश्लेषण छ।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार विस्तारपछि ठूला दुर्घटना त्यति नभए पनि साना दुर्घटनाको दर भने बढिरहेको छ। ‘तीव्र गतिका कारण ब्ल्याक स्पट संख्या बढिरहेको छ,’ उनले भने, ‘यसका साथै भत्किएका सडक, सडकपेटी नहुँदा पनि दुर्घटना बढेका छन्।’
विस्तारित सडकमा चालकले लेन अनुशासन पालना नगर्ने, पैदलयात्रीले जथाभावी सडक पार गर्ने, सडक लाइनिङ नहुने, सवारी मोड्ने समयमा चालक झुक्किनेजस्ता कारण दुर्घटना धेरै हुने गरेको प्रहरी आँकडा छ। ठाडो ओरालो भएका सडकमा सवारीको रफ्तार बढी हुँदा पनि दुर्घटना बढेको डिआइजी अधिकारीले जानकारी दिए।
तीव्र गति र ओरालो सडक गल्कोपाखा, तीव्र गति तथा जीर्ण सवारीसाधनका कारण ढल्कु पुल, पुलनजिकै जेब्राक्रसिङ भएका कारण बालाजु पुल, ओभरटेक, ओभर लोड र साँघुरो घुम्ती भएका कारण पातलीवन मोड र बाणभन्ज्याङ पुल बढी दुर्घटना हुने स्थानमा परेका छन्।
ओरालो सडक तथा ओभरटेकका कारण पाटीमाचोक, धोबीघाट, सतुंगल सिप्रदी ओरालो, खाल्टाखुल्टी र उकालोओरालोका कारण महादेवस्थान टेलिकमअगाडि, ओरालो, ओभरस्पिड र ओभरटेकका कारण थानकोटबजार सवारी दुर्घटनाका दृष्टिले जोखिमपूर्ण रहेको महाशाखाको विश्लेषण छ।
अगाडि चौबाटो भएका कारण भक्तपुरको राधे–राधे, सल्लाघारी, चिप्लो सडकका कारण भक्तपुर बाँसझ्याङ र नलिनचोक, तीव्र गतिका कारण गट्ठाघर, मनहरा पुल, ओरालो तथा मोड भएकाले बौद्ध ह्यात मोड र जोरपाटी ओरालो बढी जोखिमयुक्त सडक हुन्। डिभाइडर नभएका कारण बौद्ध, नारायणटार, तीव्र गति र घुमाउरो सडक भएकाले चोभार सिमेन्ट कारखाना अगाडिको सडक दुर्घटनाको जोखिममा परेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
तीव्र गति र जथाभावी बाटो काट्नाले चाबहिल चोक, नयाँबानेश्वर चोक, बोटल नेकका कारण शान्तिनगर बागमती पुल र बिजुलीबजार पुल, चौबाटो र तीव्र रफ्तारका कारण बबरमहल सडक विभागअगाडिको चोक, माइतीघर–भद्रकाली छिर्ने नयाँसडकको उचित व्यवस्थापन नहुँदा माइतीघर पनि दुर्घटनाको जोखिम क्षेत्रमा परेका छन्।















प्रतिक्रिया