२८ आश्विन २०८३, बुधबार

सर्वसाधारणका लागि सेनाले अस्पतालमा बाटो खोल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Army Hospitalकाठमाडौं, ७ भदौ । सर्वसाधारण जनताले पनि  सैनिक अस्पतालमा सेवा पाउने भएका छन् । करिब ४२ वर्षको अन्तरालमा नेपाली सेनाले सर्वसाधारण जनताका लागि अस्पताल खुला गर्न लागेको हो ।

हाल बहालवाला सैनिक र तिनका आश्रित परिवार (बुबा, आमा, श्रीमती र दुई सन्तान)लाई मात्र अस्पतालले निःशुल्क सेवा दिँदै आएको थियो ।

यसका साथै दैवीप्रकोपका समय र दुर्गम क्षेत्रमा सञ्चालित घुम्ती स्वास्थ्य शिविरमा मात्र सर्वसाधारण जनताले सेनाका चिकित्सकीय सेवा पाउँदै आएका थिए ।

नेपाली सेना स्वास्थ्य विज्ञान अध्ययन संस्थानले सर्वसाधारण जनता र भूतपूर्व सैनिक (भेट्रान)का लागि महाँकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताललाई जीर्णाेद्धार तथा थप नयाँ भवन निर्माण गरी आगामी दुई वर्षभित्रमा सञ्चालनमा ल्याउन लागेपछि सर्वसाधारण जनताले सेनाको अस्पतालबाट सेवा पाउन लागेका हुन् ।

उपरथी प्रा डा शिवबहादुर बस्नेतले भने, ‘आगामी दुई वर्षभित्रमा आम सर्वसाधारण नेपाली जनताले सैनिक अस्पतालबाट दक्षिण एसियामा उपलब्ध हुने सबै स्वास्थ्य सेवा पाउने छन् ।’

पहिलो विश्वयुद्धमा भाग लिएका वीर नेपाली सिपाहीका सम्झनामा विसं १९८२ मा त्रिचन्द्र मिलिटरी अस्पताल स्थापना भएको थियो । सो अस्पतालले तत्कालीन समयमा पहिलोपटक फाइबर अप्टिक इन्डोस्कोपी उपकरणलाई समेत भित्र्याएको थियो ।

२०४६ पछि सो अस्पताल छाउनीमा स्थानान्तरण गरी वीरेन्द्र अस्पतालका रुपमा सञ्चालित छ । हाल सो अस्पतालको शय्या क्षमता ६०१ रहेको छ भने आगामी मङ्सिर महिनाबाट १५० थप हुँदैछ ।

महाँकालमा स्थापना हुने अस्पतालको शय्या क्षमता ४६९ को हुनेछ । अस्पतालमा आधुनिक चिकित्सा विज्ञानका सबै सेवा र उपकरण सस्तो र गुणस्तरीय रुपमा उपलब्ध हुनेछ, वीरेन्द्र अस्पतालका निर्देशक सहायक रथी प्रा डा किशोर जबराले जानकारी दिए ।

उनले भने, ‘सरकारी अस्पतालका भन्दा अलि महँ्गो र निजी क्षेत्रका नर्सिङ होमका भन्दा सस्तो बीचको शुल्क अस्पतालले लिनेछ ।’

सैनिक कल्याणकारी कोषले सो अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । कोषका निर्देशक सहायक रथी धनिदास कार्कीले भने, ‘महाँकालको अस्पताल सेवाका लागि समर्पित हुनेछ, व्यवसाय र नाफा खोज्ने यसको ध्येय होइन ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालबाट बर्सेनि उपचारका लागिमात्र करिब एक अर्बभन्दा बढी विदेशिने गरेको छ ।  मुटु, मिर्गाैला, क्यान्सर, नसाजस्ता अति महँगो रोगको थप उपचारका लागि अझै विदेश जानुपर्ने बाध्यता रहेको छ ।

आम सर्वसाधारण जनता उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य र उपचारका  लागि विदेश जानुपर्ने दुवै अवस्थाको अन्त्य गर्न चाहन्छाँै यही नै अस्पतालको मूलमन्त्र हो सहायक रथी कार्कीले भने ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेका मापदन्ड सबै विभाग, उपकरण र सेवाका क्षेत्रमा अस्पतालले लागू गर्नेछ । दक्षिण एसियामा गर्व गर्न लायकको अस्पतालको भौतिक अवस्था, उपकरण, प्रयोगशाला, चिकित्सकीय सेवा दिन्छाँै नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्रा डा प्रकाशराज पाण्डेले भने ।

नेपाली सेनाले विसं २०३२ देखि बहालवाला सैनिक र तिनका आश्रित परिवारलाई मात्र आफ्नो अस्पतालमा निःशुल्क सेवा दिँदै आएको थियो । सो सालमा दैनिक रुपमा १०० बिरामीलाई सेवा दिने सैनिक अस्पतालले हाल एक हजार २०० बिरामीलाई दैनिक रुपमा सेवा दिँदै आएको छ ।

तीन वर्ष अगाडि सेनाले मेडिसियन, नर्सिङ, पोलिटेक्निक तथा डेन्टिस्ट्रीसम्बन्धी विभिन्न तहका गुणात्मक शिक्षा प्रदान गर्न स्वास्थ्य विज्ञान संस्थानको स्थापना गरी ती विषयमा अध्ययन अध्यापन अगाडि बढाएको थियो ।

हाल मेडिसियनअन्तर्गत एमबिबिएस तहको तेस्रो वर्षमा विद्यार्थी अध्ययनरत छन् । संस्थानले १५० सिटको अनुमति पाए पनि हाल १०० सिटमामात्र संस्थानले अध्यापन गराइरहेको छ । अर्काे वर्ष संस्थानले पूरै क्षमतामा सो तहमा कक्ष सञ्चालन गर्ने योजनामा छ ।

यसका साथै संस्थानले पोष्ट ग्र्याजुएट विषयमा पनि अध्यापन गराउने तयारी गरिरहेको संस्थानका सहकार्यकारी निर्देशक प्रा डा भैरव हमालले जानकारी दिए ।

गरिब जनताका जेहेन्दार छोराछोरीलाई चिकित्सक बनाउने र गरिब जनतालाई स्वास्थ्य सेवा दिने कल्याणकारी योजनाको उद्देश्य रहेको सहायक रथी कार्कीले जानकारी दिए ।