मोहन बास्तोला
काठमाडौं, ६ भदौ । चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को शनिबार दाहसँस्कार गरिने भएको छ ।
साउन २३ गते काठमाडौंको भीमढुंगामा प्रहरीसँगको मुठभेडमा मारिएका भनिएका चरीको १९ दिनपछि दाहसस्कार हुन लागेको हो ।
हत्या भएको १० पछि उनको पोस्टमार्टम भएको थियो । पोष्टमार्टम गरेपनि उनका परिवारले शव बुझ्न मानेका थिएनन् ।
पोष्टमार्टमपछि चरीको हत्या झनै रहस्यमय देखिएको भन्दै उनका आफन्तले हत्यारामाथि कारवाहीको माग गर्दै आएका थिए ।
चरी दाजु ध्रुब अधिकारीले सर्वोच्चको फैसला चित्त बुझ्दो भएपछि भाइको शव बुझ्न लागेको दैनिक नेपाललाई जानकारी दिए ।
‘शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भएको छ,’ चरीका दाजुले भने, ‘सर्वोच्चले दुई हप्ताभित्रमा हनुमानढोका प्रहरीलाई कारण देखाउन आदेश दिएको छ, त्योसँगै पोष्टमार्टममा पनि हाम्रो चित्त बुझेकाले शव बुझ्न तयार भएका हौँ ।’
उनले कानुनी लडाई लडेर हत्यारामाथि कारबाही गरि छाड्ने जानकारी दिए ।
प्रहरीले चरीको मृत्यु भएको समयमा उनले लगाएको कपडा परिवारलाई उपलब्ध गराउन समेत सहमत भएको अधिकारीको भनाइ छ ।
प्रहरी इन्काउन्टरमा मारिंदा चरीले लगाएको लुगा प्रहरीले डाक्टरलाई समेत उपलब्ध नगराई आफैंसँग राखेको थियो ।
सर्वोच्चमा दायर गरेको रिटमा चरीको हत्या षडयन्त्रपूर्वक भएको र प्रहरीले किटानी जाहेरी लिन नमानेको भन्दै घटनामा संलग्न उपर कारबाही गर्न माग गर्दै उनका परिवारले सर्वोच्चमा रिट दिएका थिए ।
रिटमा महानगरीय प्रहरी परिसर हनुमानढोकालाई किटानी जाहेरी लिन पनि परमादेश माग गरिएको थियो ।
रिटमा अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखाकै डिएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र चरीकी प्रेमिका खुस्बु ओलीका भूपू प्रेमी अर्पण कोइरालालाई विपक्षी बनाइएको छ ।
यसअघि अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी आयुक्तको कार्यालयमा किटानी जाहेरी दर्ता गर्न जाँदा प्रहरीले त्यसै फर्काइदिएको भन्दै उनीहरु सर्वोच्च पुगेका थिए ।
एमाले धादिङका सभासद् धनबहादुर घलेले पनि चरीको दाहसंस्कार शनिबार नै हुने जानकारी दिनुभयो । उनको अनुसार, चरीको शवमा एमालेको झण्डा ओढाइने भएको छ ।














प्रतिक्रिया