काठमाडौं, ६ भदौ । उपत्यकामा बोतलको पानी (मिनरल वाटर) उत्पादन र बिक्रीवितरणमा संगठित रूपमै भइरहेको ‘कार्टेलिङु तोड्न सरकारले ‘आक्रामक कारबाहीु सुरु गरेको छ।
नेपाल बोतल वाटर उद्योग संघले पानीमा एकाधिकार कायम गर्न मतियार बनाएको एम इन्टरनेसनल नामक कम्पनीलाई बिहीबार सरकारी अपरेसन टोलीले सिल गरिदिएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख (सिडिओ) वसन्तराज गौतमको निर्देशनमा परिचालित बजार अपरेसन टोलीले चक्रपथको शंखपार्कस्थित एम इन्टरनेसनल कार्यालयमा छापा मारी सबै कागजपत्र नियन्त्रणमा लिएको समाचार आजको नागरिक दैनिकले छापेको छ। कम्पनीका उपत्यकास्थित सबै डिपो पनि सिल गरिएको छ।
एमले वितरणका लागि स्टोर गरेका विभिन्न १० कम्पनीका उत्पादन १ हजार २ सय कार्टुन पानी सिलबन्दी गरिएको हो।
स्रोतका अनुसार एम इन्टरनेसनलका अध्यक्ष सुरेन्द्र शाक्य संघका अध्यक्ष किशोर मानन्धरका नातेदार हुन्।
‘उपभोक्ता, कालोबजारी र प्रतिस्पर्धा ऐनविपरीत काम गरेको पाइएकाले एमलाई बन्द गराउँछौं,’ प्रमुख जिल्ला अधिकारी गौतमले नागरिकसँग भने, ‘तीनवटै ऐन आकर्षित गर्ने हुनाले सोहीअनुरुप कम्पनी बन्द गर्ने प्रक्रिया अघि बढाइसकिएको छ।’
संघले उक्त कम्पनीसँग सम्झौता नै गरी पानी बिक्रीवितरणमा एकाधिकार कायम गरेको थियो। कार्टेलिङसम्बन्धी समाचार सार्वजनिक भएपछि संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिअन्तर्गत उपसमितिले संलग्न संस्थालाई तीनवटै ऐन लगाएर कारबाही गर्न निर्देशन दिएको थियो।
निर्देशनको भोलिपल्टै गृह र वाणिज्य तथा आपूर्ति मन्त्रालयले छापा मार्न सुरु गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार संरक्षण अधिकृत यज्ञराज कोइरालाको सयोजकत्वमा बिहीबारै गठित अपरेसन टोलीमा वाणिज्य विभाग, प्रहरी र उपभोक्ता अधिकार मञ्चका पदाधिकारी छन्। बजार संरक्षण अधिकृतमा सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ।















प्रतिक्रिया