काठमाडौं, ६ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनअघि कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमतिबाट पछि नहट्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन्।
राष्ट्रपति र उपराष्ट्रपति संसदबाट अनुमोदन नगरी कांग्रेसले सहमति नाघ्न खोजेको भन्दै नेता ओलीले कांग्रेस सभापतिसमेत रहेका कोइरालालाई बिहीबार भेटेरै सहमतिका बुँदा स्मरण गराएका हुन्।
प्रधानमन्त्री कोइरालाले बुधबार एक कार्यक्रममा राष्ट्रपतिरउपराष्ट्रपतिको अनुमोदन गर्दा ‘संवैधानिक कानुनको अपमान हुनेु धारणा राखेका थिए। त्यसको भोलिपल्ट बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता ओलीले कांग्रेस सहमतिबाट पछि हटेको भन्दै कोइरालासँग असन्तुष्टि पोखेका हुन्।
गत माघ २६ गते दुई दलबीच भएको सहमतिअनुसार नै अघि बढ्न प्रधानमन्त्रीलाई ओलीको जोड थियो। प्रधानमन्त्री कोइरालाले भने राष्ट्रपति र उपराष्ट्रपति अनुमोदनको विषय तत्काल थाती राख्न अध्यक्ष ओलीसँग पुनः आग्रह गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
यो विषय व्यवस्थापिका संसदमा प्रवेश गराउन संविधान नै संशोधन आवश्यक रहेको स्मरण गराउँदै कोइरालाले त्यता लाग्नुभन्दा छिटो संविधान निर्माणमा जुट्नुपर्ने तर्क गरेका थिए।
संविधानसभा दोस्रो निर्वाचनपछि गठन भएको व्यवस्थापिका संसदबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु नै राष्ट्रपतिको अनुमोदन भएको कोइरालाको भनाइ थियो।
प्रधानमन्त्री कोइरालाले बुधबार सरकारका सचिवहरुलाई निर्देशन दिने क्रममा ‘पहिले संविधान बनाऔं, २/४ महिनाको कुरा त छ, त्यसपछि प्रधानमन्त्री, सभामुख, राष्ट्रपति सबैले छाड्छु भनेकै छन्।’
संविधानसभा निर्वाचन भएको ९ महिना बित्दासमेत संविधानसभालाई पूर्णता दिन नसकिएको गुनासो गर्दै कोइरालाले एमालेको भागमा परेको सभासद कोटाका लागि नाम मागेका थिए।















प्रतिक्रिया