काठमाडौ, ६ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रलाई आँच आउने र हित विपरीतका कुनै सम्झौता हुन नदिने दृढता देखाएका छन् । छिमेकी भारतसँगको सम्बन्ध हिजो र आजमा फरक भएकाले शंका नगर्नसमेत उनले दलहरुलाई आग्रह गरे ।
‘भारतको हिजो र आजको अवस्थामा फरक छ । अब शंका मात्र नगरौं,’ विद्युत व्यापार सम्झौता तत्काल नगर्न माग राख्दै भेट्न पुगेका नेकपा-माओवादीसहितका १० राजनीतिक दलका नेताहरुलाई बिहीबार कोइरालाले भने, ‘भारतले अहिले आफ्ना छिमेकी राष्ट्रसँग समानताका आधारमा सम्बन्ध विकास गर्न खोजेको छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमण र उनका अभिव्यक्तिको प्रसङ्ग राख्दै कोइरालाले दुई देशबीचको सम्बन्धले नयाँ आयाम लिएको बताएका हुन् ।
भेटमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका अनुसार प्रधानमन्त्रीले आफ्नो तहबाट राष्ट्रघाती काम हुन नदिने दृढता राखेपनि त्यसमा विश्वास गर्न नसकिने बताए ।
‘कोइरालाले आफू झुकेर सम्झौता गर्दिन त भन्नुभएको छ । तर, भारत जसरी भएपनि माथिल्लो कर्णालीलगायत राम्रो आयोजनामा आफ्नै लगानी गर्नेवाला छ,’ भेटमा उठेका प्रसङ्ग राख्दै केसीले सुनाए, ‘मैले पनि अब तपाईंको साँचो परीक्षण हुनेवाला छ भनिदिएँ ।’
माओवादीका महासचिव रामबहादुर थापाको नेतृत्वमा राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, नेकपा (एकीकृत), क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा ९माले० सहितका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
उनीहरुले सर्वपक्षीय राष्ट्रिय सहमतिबिना पीटीए र पीडीएमा सम्झौता नगर्न दवाव दिएका थिए ।
विदेशी कम्पनीहरुसँग सम्झौता गर्दा पनि आन्तरिक आपूर्तिमुखी बनाइनुपर्ने र स्थानीय जनताको अग्राधिकार अनुसार शेयर व्यवस्था गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।















प्रतिक्रिया