अमेरिकालाई पद्दतिमा चल्ने देश, अवसरको भुमि, सपनाको संसार जस्ता नामबाट चिन्ने गरिन्छ । त्यसैले अमेरिकामा स्थायी रुपबाट बस्न आउनका लागि विश्वका सबै देशबाट मानिसहरु लालायित हुन्छन । अमेरिकी सरकारले अमेरिकामा प्रवेश गर्न चाहने विदेशीहरुका लागि विभिन्न प्रकारका भिसाको व्यवस्था गरेको छ । यसरी छुटयाइएका क्षेत्रहरुमा सामान्यतया: पारिवारिक भिसा, कामदार भिसा, धार्मिक भिसा, डिभि चिट्ठा मार्फत आउन पाउने भिसा आदि पर्दछन । जसका लागि अमेरिकामा रहेका स्पोन्सरहरुको आवश्यकता पर्छ । स्पोन्सरले निवेदन दिएर बिदेशीलाई अमेरिकामा स्थायी बसोबास गर्न पाउने भनि भिसाको स्वीकृती पाएर पनि बिभिन्न वर्गमा वर्गिकरण गरिएका भिसाको संख्या अमेरिका आउन चाहने विदेशीको संख्या भन्दा धेरै कम हुने हुँदा बर्षौसम्म पालो कुरेर बस्नु पर्दछ।
तर, यस मध्ये विज्ञान, कला, शिक्षा, व्यापार र खेलकुद क्षेत्रमा विशिष्ट योग्यता भएका, आफनो कामको क्षेत्रमा ख्याति कमाएका र निरन्तर रुपबाट त्यसै क्षेत्रमा लागि रहेको विदेशीहरुलाई उनीहरुको अद्धितीय प्रतिभाको कदर गर्दै यस्ता व्यक्तिहरु अमेरिकामा आएर पनि त्यही क्षेत्रमा कार्यरत रहने र त्यसबाट अमेरिकालाई भविष्यमा योगदान पुग्ने देखिएमा स्पोन्सर बिना पनि अमरिकामा ग्रीनकार्ड वा स्थायी बसोबासको लागि अनुमति पाऊँ भनी निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यो भिसाको लागि स्पोन्सरको आवश्यकता नपरेता पनि व्यक्तिले आफनो क्षेत्रको दक्षता र ख्यातिको आधारमा अमेरिकी रोजगारदाताबाट कामकोे प्रस्ताव आएको वा त्यस क्षेत्रमा काम गर्ने आफनै योजना रहेको कुरा स्पष्ट रुपमा देखाउन सक्नुपर्छ । यो भिसा पहिलो श्रेणीमा पर्ने हुँदा प्रायः सधैभरि सबै देशका व्यक्तिका लागि उपलव्ध भई रहेको हुन्छ । यस श्रेणीको भिसा पाउँ भनि विदेशीले पेश गरेको आप्रावासको निवेदनमा तोकिएको सवुद प्रमाण मापदण्ड भित्र परेमा छिटोमा ४५ दिन र बढीमा १ बर्ष भित्रमा स्वीकृत हुन सक्दछ ।
मेरो आफ्नै फर्म विनोद रोका एण्ड एशोसियटस पिसिका तर्फबाट अनुभव र व्यवसायिक दक्षताको सिपलाई अमेरिकी अध्यागमन सम्वन्धी कानुनले तोकेको प्रक्रिया र मापदण्ड अनुरुप प्रयोग गरी नेपाल तथा अन्य देशका ख्याती प्राप्त अभिनय क्षेत्रका कलाकार, गायक, संगितकार, नृत्यकार, फोटोग्राफर, पत्रकार, कार्यक्रम प्रस्तोता, चित्रकार, मार्सल आर्टसका खेलाडी, प्रशिक्षक, टेवलटेनिसका खेलाडी, शिक्षा क्षेत्रका व्यक्तित्व आदिलाई यस श्रेणीको भिषा एवंं ग्रीनकार्ड केहीलाई २ महिना भित्र र केहीका मुद्दाहरु अपिल तहबाट पनि जिताउन सफल भएका छौँ । यद्यपि प्रत्येक मुद्दाको प्रकृति एकै प्रकारकोे नहुने हुँदा सबैमा एउटै किसिमको परिणाम आउँछ भन्न भने सकिन्न ।
असाधारण दक्षताको आधारमा ख्याति कमाएका विदेशी व्यक्तिहरुका लागि छुटयाइएको यो पहिलो श्रेणीको भिसा पाउनका लागि पुराउनु पर्ने पूर्वाधार भनेको व्यक्तिले आफू आफनो कार्यक्षेत्रमा ख्यातिको शिखरमा पुगेको छु भनि प्रमाणित गर्नुपर्दछ । यस अन्तरगत सामान्यतया: कानुन व्यवसायी भने पर्न सक्दैननन् । यो श्रेणीको व्यक्ति भनेर प्रमाणित हुनुपर्ने भन्नाले:
१. राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त गरेका बस्तुनिष्ट आधारबाट देखिन्छ,
२. यस्तो तथ्यलाई प्रचुर मात्रामा कागज प्रमाणबाट मान्यता दिईएको देखिन्छ,
३. यस्तो ख्याती पाएको विदेशी व्यक्तिले अमेरिकामा आएपछि पनि त्यही क्षेत्रमा काम गर्छ
र,
४. यसरी गरिएको कामले अमेरिकालाई पनि भविष्यमा त्यस क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने हुन्छ।
अमेरिकी अध्यागमन सम्वन्धि कानुनले असाधारण क्षमताका भएका कारणले आफनो क्षेत्रमा ख्याती कमाएको तथ्य प्रमाणित गर्नका लागि नोवेल पुरस्कार (जस्तो कि अन्तर्राष्ट्रियस्तरको पुरस्कार कसैले एक पटक मात्र आफनो क्षेत्रमा उल्लेखनिय काम गरे वापतमा पाएको ) रहेछ भने एकपटकको ख्याती नै प्रयाप्त हुन्छ, असाधारण क्षमताको कारणले ख्याती पाएको व्यक्ति भनि स्थापित गराउनका लागि। यदि कसैले यस्तो प्रकारको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको पुरस्कार पाएको रहेनछ भने पनि तल लेखिएका दशवटा आधारहरु मध्ये कम्तीमा कुनै तीनवटा आधारहरु संख्या र मेरिटमा पनि आफुमा रहेको छ भनि प्रमाणित गर्न सकेको खण्डमा पनि यो वर्गको भिषा पाउन सक्दछ।
१. पुरस्कार वा सम्मान:
निवेदकले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त भएका प्रमाणपत्र तथा पुरस्कार आफनो क्षेत्रमा विशिष्ठता हासिल गरे वापतमा प्राप्त गरेको छ। सामान्यतया यो मापदण्ड पुरा गर्न का लागि निवेदकले आफुले प्राप्त गरेका पुरस्कार वा प्रमाण पत्रको अनुवाद गरिएको फोटोकपी यदि अंग्रेजीभाषा मा छैन भने, पेश गनृु पर्दछ। र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको कुरा लिखत प्रमाणबाट प्रमाणित हुनु पर्दछ। यस्का लागि निवेदकले पुरस्कारको स्थापना भएको कारण, उद्देश्य, महत्व, यस्को क्षेत्र, निर्णायकहरु मनोनित गर्दा अपनाईने आधार, निर्णायकहरुले सहभागी मध्येबाट पुरस्कारका लागि प्रतियोगीहरु मध्येबाट उत्कृष्ठताको छनौट गर्ने प्रकृया र सहभागी हुनको लागि उमेर, क्षेत्र र वर्ग आदिको प्रतिवन्ध नभएको तथ्य खुलाउन सक्नु पर्दछ। यस्का साथै अघिल्ला केही बर्षहरुमा क-कस्ले यो राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सम्मान वा पुरस्कार पाएका थिए त्यो पनि उल्लेख भएको हुनु राम्रो हुन्छ । अध्ययनको क्रममा पाएको शैक्षिक पुरस्कार प्राय: यो क्षेणीमा पर्दैनन।
२. सदस्यता:
निवेदकले आफू सदस्य भएको संस्थामा सदस्यता पाउनका लागि सम्वन्धित क्षेत्रको विषेशज्ञहरुले ख्याती वा विषेशज्ञताको आधारमा विशेषज्ञहरुले छनोट गरेपछि मात्र पाईन्छ भन्ने देखाउन सक्नु पर्दछ। कुनै पेशा वा व्यवसायमा संलग्न रहेकै कारणले पाउने पेशागत तथा व्यवसायीक संगठनको सदस्यता वा पदले यो मापदण्ड पुरा गर्न सक्दैन।
३. निवेदकको बारेमा प्रकाशित सामाग्री:
निवेदकको बारेमा पेशागत वा प्रमुख व्यापारिक वा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका संचार माध्यममा छापिएको अभिलेख। यसरी छापिएको कुरा निवेदकको ख्याती, योग्यता, विशेषता वा उपलव्धीको बारेमा हुनुु पर्दछ। केवल निवेदकको नाम प्रसंगबस समुहमा वा कुनै सन्र्दभमा लेखिएर मात्र हुदैन। अनि निवेदकको बारेमा छापिएको समाचार, समिक्षा आदि राष्ट्र्यिस्तरका, धेरैले पढने, बढी विक्री हुने प्रमुख प्रकाशनको राष्ट्र्यि स्तरका विषय छापिने पृष्ठमा छापिएको हुनु पर्दछ नकि स्थानीय वा क्षेत्रिय स्तरका गतिविधिहरु छापिने पृष्ठमा। साथै, निवेदकको बारेमा छापिएका लेख, समाचार समिक्षा आदिमा छापिएको मिति, लेखकको नाम पनि खुल्नु पर्दछ जस्ले निवेदकको बारेमा लेख्ने वा भन्ने व्यक्ति पनि त्यो क्षेत्रको ज्ञाता हो कि होईन भन्ने बारेमा जानकारी हुन सकोस। निवेदकले अन्तरवार्तामा आफैले आफनो बारेमा भनेको कुराा भन्दा त्यस क्षेत्रका समिक्षक वा विशेषज्ञले भनेको कुराको बढी महत्व हुन्छ। त्यसैगरी निवेदकले संगै काम गरेका परिचित वा असम्वन्धित क्षेत्रका व्यक्तित्व भन्दा आफनो कामको आधारमा निष्पक्ष रुपमा मुल्यांकन गर्नसक्ने त्यही क्षेत्रका विशेषज्ञहरुबाट के कति कारणले गर्दा आफु अब्वल दर्जामा पुग्न सकेको हो भन्ने तथ्य वस्तुनिष्ठ आधारबाट देखिने खालका सिफारिसहरु संलग्न हुनु आवस्यक हुन्छ। यद्यपि विशेषज्ञको रायलाई मान्नै पर्छ भन्ने बाध्यता भने निर्णकर्तालाई हुदैन।
४. निर्णयकर्ताको हैसियतबाट अरुको मुल्यांकन गरेको:
निवेदकले आफनो वा आफनो विशेषज्ञताको क्षेत्र संग सम्वन्धित भएको अरुको काम निर्णयकर्ताको हैसियतबाट एक्लै वा निर्णायक मण्डलको एक सदस्यको हैसियतबाट गरेको हुनु पर्दछ। त्यस्मा निवेदकले माथि १ नम्वरमा उल्लेख गरिएको जस्तै पूर्वाधारहरु भएको देखाउन सक्नुपर्दछ। यसमा निवेदकले प्रतियोगिताको प्रकृति र उद्देश्य, निवेदकलाई निर्णायकमा मनोनित गरिएको आधार, प्रतियोगितामा भाग लिन पाउने प्रतियोगीहरुको छनौट गरिने प्रकृया, निवेदकले निर्णायकको हैसियतबाट गर्नुपर्ने काम आदि तथ्य सप्रमाण प्रष्टयाऊनु पर्दछ।
५. योगदानः
निवेदकले नबिन वैज्ञानिक, बौद्धिक, कलात्मक, खेल जगत, वा व्यापारसंग सम्वन्धित क्षेत्रमा ठूलो उपलब्धि हुने किसिमको योगदान गरेको तथ्य प्रमाणित गरेको खण्डमा यो आधार पूरा हुन सक्दछ ।
६. छापिएका बौद्धिकतायुक्त लेखहरुः
निवेदकले लेखेको बौद्धिकता देखिन लेखहरु पेशागत वा प्रमुख व्यापारिक प्रकाशन वा अन्य प्रमुख संचार माध्यममा प्रकाशित भएको छ भने यो आधार पूरा हुन सक्दछ । यो तथ्य प्रमाणित गर्नका लागि निवेदकले आफनो लेखको नाम, महत्व, छापिनु अगाडिका छनौट गरिने प्रक्रिया, छापिएको प्रकाशनको नाम, मिति, छापिएको लेखले त्यस क्षेत्रमा पारेको प्रभाव अनि अरुले ती लेखहरुलाई आधिकारिक वा श्रोतको रुपमा आफनो लेख आदिमा उल्लेख गरेको दृष्टान्त आदि तथ्य पनि सप्रमाण पुष्टि गर्नु पर्दछ ।
७. सिर्जना वा काम कला प्रर्दशनी वा सोकेजमा प्रर्दशनमा:
निवेदकको सिर्जना वा काम कला प्रर्दशनी वा सोकेजमा प्रर्दशनमा राखिएको अभिलेख । यस अन्र्तगत चित्रकलाहरु राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरका प्रर्दशनीमा राखिएको चर्चा–परिचर्चा प्रमुख संचार माध्यममा छापिएको प्रमाणित हुनुपर्दछ ।
८. संस्थामा महत्वपूर्ण भुमिका:
निवेदकले राष्ट्रिय वा अन्र्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त संगठनको अग्रणी वा महत्वपूर्ण भुमिका खेलेको प्रमाण ।
९. बढी तलब वा पारिश्रमिक पाउने गरेको:
निवेदकले आफ्नो क्षेत्रमा काम गर्दा अरुको तुलनामा बढी तलब वा पारिश्रमिक पाउने गरेको छ भन्ने तथ्यको प्रमाण । यस अन्र्तगत काम लगाउने व्यक्ति, संस्था वा कुनै आधिकारिक निकायबाट आफूले ख्याति र दक्षताको आधारमा अरुले भन्दा बढी तलब वा पारिश्रमिक पाउने गरेको कति हो र अरुको भन्दा कतिले फरक छ त्यो तुलनात्मक रुपबाट प्रष्टिएको हुनु राम्रो हुन्छ । लेखापरिक्षकले वा अन्य कुनै व्यक्तिले बिना आधार प्रमाणित गरिदिएको कागज पर्याप्त हुँदैन ।
१०. व्यावसायिक सफलताः
निवेदकले खेलेको फिल्म, नाटक, म्युजिक भिडियो वा गाएको सिडी आदि सर्वाधिक सफल भई व्यावसायिक सफलता हासिल गरेको तथ्य प्रमाणित भएमा यो आधार पूरा भएको मानिन्छ । यस तथ्यको प्रमाण भनेको टिकट बिक्री भएको आंकडा र चलेको समयलाई तुलनात्मक रुपबाट प्रमाणित गर्नुपर्दछ । साथै, सिडी, डिभिडी, संगीत आदिको हकमा पनि उत्पादन भएको बर्षभरि बिक्री भएको संख्या र रकमलाई त्यसै बर्षमा बजारमा बिक्री वितरणमा आएका उत्पादनहरुको तुलनात्मक विवरण उल्लेख भएको हुनु पर्दछ ।
वैकल्पिक प्रमाणः
यदि निवेदकको पेशामा माथि लेखिएका आधारहरु सामान्यतया मिल्न सक्दैनन भने माथि लेखिएका आधारसँग तुलना गर्न सकिने अरु प्रमाणहरु पनि पेश गर्न सकिन्छ । निवेदकले प्राप्त गरेका प्रमाणपत्र, प्रकाशनमा आएका लेख, समिक्षा र समाचार आदि अंगे्रजीभाषामा छैनन भने तिनीहरुको अनुवाद दुबै भाषामा दक्षता हासिल गरेकोे व्यक्तिले गरेको हो भनि नोटरी पब्लिकको अगाडि गएर अनुवाद गर्ने व्यक्तिले सही गरेको प्रमाणपत्र संलग्न भएमा मात्र इमिग्रेशनले प्रमाणको रुपमा लिन्छ । जस्तो कि ———hereby certify that I have translated attached and/or the following document/s from Nepali into English as presented to me for translation. I am competent with both Nepali and English languages. It is accurate translation to the best of my knowledge and ability. _________________
Name: Sworn and subscribed to before me ID: on this the day of —–l, 20—-. Tel: Notary Public
यो अमेरिकी अध्यागमन सम्वन्धी कानुनले तोकेको कानुनी प्रावधान हो । यदि यसरी रित नपुराई पेश भएको अनुवाद रहेछ भने त्यो प्रमाणको लागि ग्राह्य हुँदैन । हाल नेपालबाट आउने अनुवादहरु प्रायः रित नपुगी आउने गरेको हुँदा अध्यागमन अदालत र अध्यागमन कार्यालयले अस्वीकार गरेको अनुभव मैले गरेको छु । र, मैले यो बिषयमा नेपाल सरकारका केही अधिकारीहरुसँग पनि कुरा गरेको थिएँ तथापि यो सामान्य कुरा सम्बन्धित ठाउँमा पुग्न सकेको छैन र अहिले पनि नेपालबाट व्यक्तिहरुले पैसा तिरेर नोटरी पब्लिकबाट त्यसरी नै अनुवाद गरिएका कागजहरु लिएर आउने गरेको पाइन्छ । र, धेरै अबस्थामा त्यस्ता कागजले मान्यता नपाएपछि पुन अमेरिकामा अर्को अनुबाद गराउँदा दोहोरो खर्च र काममा ढिलाई हुने गरेको पाइन्छ । त्यस्तै कतिपय अनुवादहरु अंग्रेजीमा अनुवाद हुँदा नेपालीमा भनिएको कुरा नखुलेको पनि भेटिएको छ । त्यसैले निवेदकको अनुवाद गरिसकेपछि आफूले पनि राम्ररी हेर्ने वा दोहोर्याएर हेर्न लगाउने र रित पुरयाएर मात्र अनुवाद गरिएको कागज लिने गर्नु उचित हुन्छ ।
० प्रस्तुत लेख नेपाली पाठकहरुलाई सामान्य जानकारी गराउने उद्देश्यले मात्र तयार पारिएको हो । यो क्षेणीको भिसाको निवेदन तयार गर्दा त्यस बिषयमा धेरै अनुसन्धान र अध्ययन गरी निवेदकको क्षेत्र र बिषय वस्तुको प्रकृति अनुसार प्रक्रिया अगाडि बढाउनु पर्दछ । तसर्थ, अध्यागमन कानुनले दिएको सुविधा प्राप्तिका लागिे निवेदन गर्नुपर्दा एर्टनीको सल्लाह लिई गर्नु उचित हुन्छ ।
(लेखक अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी हुन् : [email protected] / www.binodlaw.com)














प्रतिक्रिया