नेपालगन्ज, ५ भदौ । सरकारले समयमा राहत वितरण र उद्धार नगरी ‘बिचल्लीमा पारेकोु भन्दै राप्ती नदीका बाढीपीडितले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्।
राप्ती नदीको प्रभावित क्षेत्र फत्तेपुरबाट करिब ३ सय संख्यामा आएका बाढीपीडितले तत्काल राहत वितरण, नदी कटान रोक्न तटबन्ध, विस्थापितलाई बसोबास र घाइतेहरूलाई अविलम्ब औषधिउपचार व्यवस्था गर्न माग गरेका छन्।
‘बाढी आएर बिचल्ली पारेको एक साता हुन लाग्यो, अहिलेसम्म हाम्रो गाउँमा कोही पुगेका छैनन्,’ फत्तेपुर–८ सिधनवाका पीडित जालुराम थारुले नागरिकसँग भने, ‘हाम्रो मर्का नसुन्ने सरकारलाई दबाब दिन यहाँ आउन बाध्य भयौं।’
स्थानीय प्रशासनले माग सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाएपछि बल्ल बाढीपीडितहरू गाउँ फर्कन राजी भएका थिए। फत्तेपुरमा छिट्टै राहत वितरण र औषधिउपचारको व्यवस्था गर्नुका साथै स्थायी बसोबासको प्रबन्ध र तटबन्ध निर्माणको काम थाल्न स्थानीय प्रशासनले पहल गर्ने आश्वासन दिएको बाढीपीडित जनकबहादुर थारुले बताए।
‘सिडिओसापले दुई दिनभित्र राहत र औषधि पुर्योउने प्रतिबद्धता जनाउनुभयो,’ उनले भने, ‘स्थायी बसोबास र तटबन्ध निर्माणका लागि केन्द्रमा पहल गर्ने कुरा भएको छ।’ उनका अनुसार पीडितहरूलाई गाविसको सिफारिसका आधारमा सरकारी जमिनमा बसोबासको व्यवस्था मिलाउन प्रशासन कार्यालयले सुझाव दिएको छ।
शुक्रबारको बाढीले फत्तेपुरका वडा नम्बर ८ र ९ मा धेरै जनधन क्षति पुर्यानएको छ। अधिकांशले घर भत्किँदा खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन सबै गुमाएका छन् भने खेतीयोग्य जमिनमाथि बालुवा भरिएको छ।
सदरमुकाम नेपालगन्जबाट करिब १२ किलोमिटर पूर्व फत्तेपुरमा पुग्ने हुलाकी सडक बाढीले भत्काएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ। सरकारी निकायले राहत वितरण तथा उद्धारमा ढिलाइ गरेपछि बाढीबाट प्रभावित र विस्थापितहरू सार्वजनिक स्थान वा आफन्तका घरमा आश्रय लिएर बस्न बाध्य छन्।















प्रतिक्रिया