काठमाडौ, ५ भदौ । एमाओवादीभित्र दुई समूहबीच मिलेर जाने गरी एक साता अघि भएको ‘द्वन्द्वविराम भंग भएको छ । संस्थापन पक्षले पेल्ने क्रम जारी राखेको भन्दै बुधवार नेता बाबुराम भट्टराई समूहले राजधानीमै समानान्तर जिल्ला कमिटी बनाएको छ ।
यसअघि संस्थापन पक्षले काठमाडौं जिल्ला अध्यक्षमा हिमाल शर्मालाई चयन गरेको थियो । त्यसमा असहमती राख्दै भट्टराई समूहले महेन्द्र श्रेष्ठको अध्यक्षतामा ५७ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो ।
त्यसमा शर्मालाई उपाध्यक्ष राखिएको छ । संस्थापन पक्षले बनाएको शर्मा नेतृत्वको कमिटीमा भने श्रेष्ठलाई उपाध्यक्ष बनाइएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
पार्टीका सबै काम दुवै पक्ष मिलेर गर्ने भनी साउन २६ गते भएको सहमती उल्लंघन भएको भन्दै संस्थापन पक्षले यसलाई दुर्भाग्यका रुपमा लिएको छ ।
‘अब त नियत माथि नै प्रश्न उठेको छ । काठमाडौंमा समानान्तर कमिटी गठनको खबरले हामीलाई आश्चर्य बनाएको छ,’ केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खडाले भने । उनका अनुसार बिहीवार स्थायी समिति बसी काठमाडौं घट्नाबारे बिस्तृत छलफल हुनेछ ।
यसअघि संस्थापनले एकलौटी रुपमा चलाउदै आएका प्रशिक्षक्ष रोक्ने र भट्टराई पक्षले समानान्तर कमिटी गठन बन्द गर्ने सहमति भएको थियो । पार्टीभित्र विवाद चकिर्दै जादा संविधान निर्माणलाई समेत असर पर्ने महसुस गर्दै दुबै पक्ष बिवाद मिलाउन राजी भएका थिए ।
दुवै पक्षबीच पार्टीभित्र द्वन्द्वविराम रोकी स्थायी समिति र वैचारिक व्यवस्थापन समितिको बैठकबाटै विवाद मिलाउने सहमती भएपनि अध्यक्ष पक्षबाटै उल्लंघन सुरु भएको भट्टराई समूहका एक नेताले दाबी गरे ।
‘काठमाडौंमा लामो समयदेखि संगठनमा काम गरेका नेतालाई वाइपास गर्ने काम भयो । त्यसलाई मिलाऔं भन्दा सुनुवाई भएन,’ ती नेताले भने, ‘कार्यकर्ताको तहबाटै असन्तुष्टी आएपछि हामीले महेन्द्र श्रेष्ठको नेतृत्वमा कमिटी गठन गरेका हौं ।’
संस्थापनले उचित पद नदिएको कारण राख्दै भट्टराई पक्षले सिन्धुली, धुनषा, पर्सा, बैतडी, गोरखा, कास्कीलगायत जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ ।















प्रतिक्रिया