काठमाडौं, ३ भदौ । मुलुकको जेठो त्रिभुवन विश्वविद्यालय आफैले सम्बन्धन दिएको क्याम्पस अनुगमन गर्न सकेको छैन । त्रिविका देशभरि ६० आंगिक क्याम्पस छन् ।
तीबाहेक सम्बन्धन पाएका कति क्याम्पस सुचारु छन् त्यसको एकिन तथ्यांक छैन । त्रिविले करिब एकहजार जति क्याम्पस सम्बन्धन रहेको दावी गर्दैआएको छ ।
तर, ती क्याम्पस कुन कहाँ र कस्तो अवस्थामा छ भन्नेबारे त्रिविले एकिन गर्नसकेको छैन । त्रिविले प्रमाणपत्र तह हटाएको आधा दशक पुगेको छ । अनुगमन नहुदा प्रमाणपत्र तह सञ्चालन सम्बन्धन लिएका क्याम्पसको संख्या कायम छ ।
‘राजधानी उपत्यकाबाहेक अन्यत्र कति क्याम्पस सुचारु छन्, एकिन छैन,’ त्रिवि अनुगम समितिका सदस्यसचिव विष्णु मादेन भन्छन्, ‘अनुगमन गर्न सकिएको छैन ।’ दुई वर्षअघि त्रिविले शिक्षाध्यक्षको अध्यक्षता रहने गरी अनुगमन समिति गठन भएको छ । तर, नियुक्त ११ सदस्यीय समितिका सदस्यहरुलाई हालसम्म कार्यकक्ष र कुर्सीसमेत उपलब्ध छैन ।
‘त्रिविलाई उत्कृष्टको केन्द्र बनाउने भनेर नियुक्ति नियुक्ति दिइयो,’ समितिका एक सदस्यले भने, ‘तर यो कोठा, त्यो कोठाका सोफा चहार्दै कार्यकाल सकिन लाग्दैछ । हामी रुमल्लिरहेका छौं ।’ समितिमा त्रिविका आंगिक क्याम्पसमा कार्यरत शिक्षकमध्येबाटै सदस्य मनोनय गरिएका हुन् ।
अनुगमन समितिले अहिलेसम्म राजधानी उपत्यकाका क्याम्पसमात्र अनुगमन गरेको जनाएको छ । तथ्यांकअनुसार उपत्यकामा सम्बन्धन दिइएका २ सय ४२ क्याम्पसमध्ये स्थलगत अनुगमन गर्दा २३ वटा फेला पार्न नसकेको सदस्यसचिव मादेनले बताए ।
‘ती क्याम्पस फेला नपरेपछि सार्वजनिक सूचना जारी गरेर सम्पर्कमा आउन भन्यौं,’ उनले भने, ‘तीमध्ये दसवटाले अस्तित्वमा रहेको भन्दै सम्पर्कमा आए । बाँकी १३ वटा खारेज गर्यौं । तर उपत्यका बाहिर अनुगमन हुन सकेको छैन ।’
त्रिविको प्रमाणपत्र तह बन्द भएसँगै उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गत उच्चमावि सञ्चालन गरेको समाचार आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । त्रिविअन्तर्गत स्नातक तहका कार्यक्रम सञ्चालन गर्दैआएका कलेजमात्र अस्तित्वमा छन् । ‘अनुगमन समिति काम गर्न चाहन्छ तर पदाधिकारीले चासो नदेखाएपनि हामी सदस्यले चाहेरमात्र नहुनेरहेछ,’ समितिका सदस्य भैरबहादुर विष्टले भने, ‘अनुगमन समितिलाई अधिकार सम्पन्न, स्रोत साधनले पूर्ण बनाइएको छैन ।’ समितिले ‘अनुगमनका निम्ति अनुगमन’मात्र गर्नु परेको उनले जनाए ।
स्रोतका अनुसार अनुगमन गर्दा त्रिविको सम्बन्धन क्याम्पसहरूको संख्या घट्ने र विद्यार्थी संख्यासमेत न्यून हुने भएकाले पदाधिकारीहरूले अनुगमन समितिलाई अघि बढाउन चाहेको छैनन् ।
हरेक वर्ष करिब पाँच लाखजनाले एसएलसी परीक्षा दिन्छन् । तीमध्ये ४३ प्रतिशत पास हुन्छन् । त्यसैगरी उच्चमाविमा भर्ना हुने करिब ३ लाखमध्ये ४५ प्रतिशतले पास गर्छन् ।
त्यसपछि त्रिवि र अन्य विश्वविद्यालयमा स्नातक पढाइका निम्ति भर्ना हुन्छन् । त्रिविले मुलुकको सबैभन्दा ठूलो र हरेक वर्ष दुई लाख विद्यार्थी भर्ना हुने दावी गर्दैआएको छ । यस विषयमा शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले बोल्न चाहेनन् ।
शिक्षाविद् डा। विष्णु कार्कीका अनुसार त्रिविबाट बढीमा २८ प्रतिशत परीक्षार्थी पास हुने गरेका छन् । ‘त्रिवि गाजेमाजे छ, वास्तविक विद्यार्थी कति, जाँच दिने कति र पास हुने कति भन्ने तथ्यांक बाहिर ल्याउन चाहँदैन,’ कार्कीले भने, ‘विद्यार्थी संख्या घटो छ । कतिपय संकायका विषयहरुमा विद्यार्थीभन्दा शिक्षक संख्या बढी छन् । त्यसैले त्यस्ता विषय बन्द गर्नुपर्छ ।’
त्रिवि सभाको विशेष बैठकले यसै साता पास गरेको ग्रेसलिस्ट अनुसार गत वर्ष ५३ हजार १ सय ७८ विद्यार्थीले स्नातक, स्नातकोत्तर, एमफिल, विद्यावारिधि उत्तीर्ण गरेका छन् । तीमध्ये ६५ जनाले विद्यावारिधि गरेका छन् । तीमध्ये सबैभन्दा बढी शिक्षाशास्त्र संकायमा २० हजार २ सय ६१, व्यवस्थापनमा १४ हजार ५ सय ३, मानविकी तथा समाजशास्त्र संकायमा १० हजार ९ सय ७९, विज्ञान तथा प्रविधी अध्ययन संस्थानमा ३ हजार ६ सय १२, इन्जिनियरिङमा १ हजार ८ सय ३६ , चिकित्सासास्त्र अध्ययन संस्थानमा १ हजार ५७, कानुन संकायमा ४ सय ८० , कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा २ सय ६०, वन विज्ञान अध्ययन संस्थानमा १ सय २५ छन् ।
त्रिविका इन्जिनियरिङ, चिकित्साशास्त्र, कृषि तथा पशुविज्ञान, वन र विज्ञात तथा प्रविधि गरी पाँच अध्ययन संस्थान रहेका छन् ।
त्यसैगरी चार अनुसन्धान केन्द्र छन् । आर्थिक विकास तथा प्रशासन केन्द्र , सिसर्च सेन्टर फर एप्लाइड साइन्स एण्ड टेक्नलोजी, नेपाल एसियाली अध्ययन केन्द्र र सेन्टर फर एजेकेसन, रिसर्च, इनोभेसन एण्ड डेभलप्मेन्ट रहेका छन् । त्यस्तै, त्रिविका चार संकाय छन् । मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन संकाय छन् । ती कुनै निकायको अनुगमन हुन सकेको छैन ।















प्रतिक्रिया