शरच्चन्द्र भण्डारी
काठमाडौँ, २ भदौ । मलेसियाका मानव संसाधनमन्त्री दातुक रिचार्ड रियट जइम नेपालको दुईदिने कार्यगत भ्रमणमा बुधबार यहाँ आउनुहुने भएको छ । यद्यपि भ्रमणका बेला द्विपक्षीय श्रम सम्झौता भने नहुने भएको छ ।
आफ्नो मुलुकमा नेपाली आप्रवासी कामदारको व्यवस्थापनबारे नेपाल सरकारका उच्च सरकारी अधिकारीसँग विचारविमर्श गर्न उहाँको भ्रमण हुन लागेको मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमान सिंह बस्न्यातले क्वालालम्पुरबाट टेलिफोनमा राससलाई बताउनुभयो ।
बङ्गलादेशको कार्यगत भ्रमण पूरा गरी नौ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउन लाग्नुभएका मन्त्री जइमले द्विपक्षीय श्रम सम्झौतालगायत पारस्परिक हितका विविध विषयका साथै घरेलु कामदारका रूपमा नेपाली महिलालाई अवसर उपलब्ध गराउने बारेमा पनि सरकारी अधिकारीसँग छलफल गर्नसक्ने जानकारी दिनुभयो ।
हालसम्म सरकारले महिलालाई उक्त मुलुकमा घरेलु कामदारका रूपमा त्यहाँ जाने औपचारिक अनुमति दिएको छैन । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले पनि महिला कामदारका बारेमा पनि छलफल हुने जानकारी दिँदै त्यसबारे निर्णय हुनेमा आफू विश्वस्त नरहेको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो–“मलेसियाली मन्त्रीसँगको श्रम राज्यमन्त्री र अन्य सरकारी अधिकारीहरूले गर्ने वार्तामा केही निर्णय हुँदैन ।”
श्रम सम्झौता गर्नेसम्बन्धी समझदारीपत्रको मस्यौदा सरकारले मलेसिया पठाइसकेको सन्दर्भमा त्यसमा उहाँहरूको धारणा बुझ्न र त्यसलाई शीघ्र टुङ्ग्याउने दिशामा मन्त्री जइमको भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै उहाँले विविध कारणले बन्दीगृहमा रहेका नेपालीलाई चाँडोभन्दा चाँडो स्वदेश फर्काउने बारेमा गहन छलफल गरिने बताउनुभयो ।
नेपाली श्रमिकको हतहित संरक्षण, नेपालका वैदेशिक रोजगार व्यवसायीको त्यहाँका रोजगारदाता कम्पनीसँग प्रत्यक्ष सम्बन्ध स्थापना, मलेसिया जान चाहने नेपाली कामदारले तिर्नुपरेको चर्को मूल्य घटाउने विषयलाई सरकारले उच्च प्राथमिकताका साथ उठाउने जानकारी पनि प्रवक्ता खड्काले दिनुभयो । घरेलु महिला कामदारका बारेमा परराष्ट्र मन्त्रालयको राय मागिएको र मलेसियाको आवश्यकता तथा त्यहाँ उनीहरूको सुरक्षाको प्रत्याभूतिलाई पनि उत्तिकै महत्वका साथ हेरिएको उहाँको कथन थियो ।
मलेसियाले विगत १३ वर्षदेखि नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ ।
हाल उक्त मुलुकमा झन्डै सात लाख नेपाली कार्यरत छन् । मलेसियाले बङ्गलादेशी कामदारमाथि प्रतिबन्ध लगाएपछि नेपाली श्रमिकको माग बढेको पनि राजदूत बस्न्यातले बताउनुभयो ।
उहाँका अनुसार सन् २०२० सम्ममा विकसित मुलुकको सूचीमा आफूलाई स्थापित गर्न मलेसियाले आफ्नो भौतिक एवम् आर्थिक विकासका गतिविधि सहजरूपमा सञ्चालन गर्न ठूलो सङ्ख्यामा आप्रवासी कामदारलाई रोजगारीका अवसर प्रदान गर्दै आएको छ । हाल उक्त मुलुकमा ३० लाख आप्रवासी कामदार छन् । नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, श्रम राज्यमन्त्री टेकबहादुर गुरुङसँग उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको राजदूत बस्न्यातले बताउनुभयो ।
नेपालसँगको श्रम सम्बन्ध अझ सुदृढ बनाउँदै अधिकभन्दा अधिक नेपाली कामदारलाई मलेसियामा रोजगारीका अवसर उपलब्ध गराउने सम्बन्धमा उच्च सरकारी अधिकारीसँग वार्ता गर्न मलेसियाका गृहमन्त्री डा अहमद जालिद हमिदी गत चैत १८ गते १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएको थियो । भ्रमणको अन्त्यमा उहाँले शान्तिप्रेमी एवम् अत्यन्त परिश्रमी नेपालीलाई रोजगारीका थप अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै द्विपक्षीय श्रम सम्झौता शीघ्र गरिने घोषणा गर्नुभएको थियो ।
गत वर्ष मलेसिया सरकारले सार्वजनिक गरेको विवरणअनुसार नेपाली श्रमिकले सन् २०१२ मा झन्डै रु ६३ अर्ब विप्रेषणका रूपमा नेपाल पठाएका थिए । बङ्गलादेश र इन्डोनेसियापछि उक्त देशबाट सार्वधिक विप्रेषण नेपाललाई प्राप्त भएको थियो । नेपाल राष्ट्र बैंकले अनौपचारिक माध्यमबाट पनि मलेसियामा कार्यरत नेपालीले रकम पठाउने भएकाले विप्रेषण आप्रवाह उल्लिखित उक्त रकमभन्दा अझ बढी भएको जनाएको छ । रासस














प्रतिक्रिया