२९ आश्विन २०८३, बिहिबार

तीन दिनदेखि फुको चिउरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badiउढरापुर, २ भदौ । ‘बस्तीमा एक्कासि बाढी पस्यो। घरसँगै सबै बगायो। केही बचाउन पाइएन, अन्नपात लुगाफाटो सबै लग्यो’, जनकल्याण प्रावि उढरापुरमा आश्रय लिएर बसिरहेका बाँके उढरापुर-२ का माइलाल सुनारले भने, ‘तीन दिनदेखि फुका चिउराको भर बसेका छौं। हाम्रो त बिजोगै भयो हजुर।’

यस्तो पीडा माइलालको मात्रै होइन बाढी तथा डुबानबाट विस्थापित बाँकेका ११ गाउँका बासिन्दा अहिले खुला चौर, स्कुल तथा जंगलमा सकसका साथ रात बिताउँदै आएका छन्।

उनीहरूसँग आफ्नो भन्ने केही पनि छैन। ‘हाम्रो त उठीबास नै भयो नि’, स्थानीय शान्ति शर्माले भनिन्। घर बगाएपछि उनी जनसेवा मावि गिजरामा आश्रय लिएर बसेकी छिन्।

उढरापुर-२ स्थित पुरैनाका पाँच सयभन्दा बढी बाढीपीडितको बिचल्ली भएको छ। उनीहरूसँग न पेट भर्ने अन्नपात छ न त ओढ्नेओछ्याउने कपडा। उढरापुरमा दुई सय ४९ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने तीन सय ९९ वटा घरमा आंशिक क्षति पुगेको छ।

पुरैना गाउँमा मात्रै ९७ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने एक सयवटाभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ।

स्थानीय जेठी नाला र मानखोलाको बाढी पसेर उढरापुरको गिजरा, पुरैना, सिमलधारीका अधिकांश घर भत्किएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । बाढीपीडित जनसेवा मावि गिजरा र जनकल्याण प्रावि उढरापुरका साँघुरा कोठामा कोचाकोच गरेर बसिरहेका छन्। तीन दिनसम्म पनि राहत सामाग्री पाउन नसकेको माइलालले बताए।