२९ आश्विन २०८३, बिहिबार

बाढीले विस्थापितको बेहाल, थप २८ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang Badi Piditसुर्खेत, १ भदौ । तीनदिने झरीका कारण आएको बाढीपहिरो विपत्तिमा थप २९ को मृत्यु भएको छ। प्रकोपमा २२ हजारभन्दा बढी विस्थापित भएका छन् भने अझै सयभन्दा बढी बेपत्ता छन्।

शनिबार बिहानबाट वर्षा थामिएपछि विभिन्न जिल्लामा बेपत्ता २९ को शव भेटिएको छ। शनिबार बर्दियामा १४, सुर्खेतमा २, बाँकेमा ४, दाङमा ७ र सर्लाहीमा १ शव फेला परेको हो।

बर्दियामा तीन दिनदेखि बाढीले घेरिएका १२ हजार जनालाई शनिबार हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख वीरेन्द्र बस्यालले जानकारी दिए। ‘लगातार वर्षाले शुक्रबार साँझसम्म उद्धारमा कठिनाइ भयो। शनिबार दिउँसो पानी रोकिएपछि प्रशासनले १२ हजारलाई हेलिकप्टरबाट उद्धार गरेको हो,’ उनले भने।

बुधबार बस्तीमा बाढी पसेपछि कतिपय रुख चढेर जोगिएका थिए भने कतिपय पानीले बनाएका टापु र अग्ला घरका छतमा तीन दिनसम्म उद्धारको प्रतीक्षामा बसेका थिए।
शुक्रबार साँझ हेलिकप्टर आए पनि मौसमका कारण उद्धार गर्न नसक्दा रुख चढेकाहरु रातभर ओर्लिन पाएनन्। शनिबार वर्षा थामिएपछि हेलिकप्टरले बिहान र दिउँसो उद्धार गरेको थियो।

बबईमा आएको बाढी गुलरिया नगरपालिका लगायत जिल्लाका विभिन्न बस्ती पसेको थियो। तीन दिनसम्म बाढीको घेराबन्दीमा रहेका एक सय जति बिरामी परेका छन्। भोकभोकै रहेर सिकिस्त भएका उनीहरुलाई उद्धारपछि सीधै जिल्ला अस्पताल भर्ना गरिएको छ।

जिल्ला स्वास्थ्य प्रमुख अच्युत लामिछानेका अनुसार उनीहरुमा डायरिया र उच्च ज्वरो छ। शनिबार पानीको सतह घटेपछि चेपाङमा २, बनियाभारमा ७, मानखोलामा २, गुजराना २, जयनगरमा १, सूर्यपटुवामा १ शव फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बगनाहा डुम्रेनी–४ चेपाङमा एउटा शव प्रहरीले फेला पारेको थियो।

प्रहरीका अनुसार चेपाङका १०, बनियाभारका ६ अझै बेपत्ता छन्। बर्दिया जिल्ला अस्पतालमा उपचार गराइरहेका बनियाभारका पूर्णदेव गिरीले भने, ‘पत्नीसहित सर्वस्व गुमाएँ, घरबार केही छैन, अब कहाँ जानेरु’ बाढीपूर्व सूचना नपाउँदा सर्वस्व गुमाउनुपरेको उनले गुनासो गरे।

तीन दिनदेखि बाढीमा फसेकी तुल्सीपुरकी लक्ष्मी विकले विस्थापितलाई सुरक्षित स्थानमा सार्न र घरबास बनाइदिन सकारसँग माग गरिन्।

जिल्लामा २० हजार घरपरिवार डुबानमा परेको प्रशासनको प्रारम्भिक गणनामा देखिएको छ। मानवीय क्षति र करोडौं रकम बराबरको धनमाल बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए।

बबईले गुलरिया नगरपालिका कोठियागाउँ, सन्तोषी टोल, तुल्सीपुर, सुहेलवा र रत्नापुर घरमा बाढी पसेको समाचार आजको नागरिक दैनिकले छापेको छ । बनियाभार, पदनाहा र तुल्सीपुरका मानटापुका सबै घर बगाएको छ।

बबई नदीको पण्डितपुरको बाँध फुट्दा सुरक्षित स्थान मानिएको तुलापुरमा समेत पानी पसेको थियो। पक्की घर भएकाले घर बगाउन नसके पनि धनमाल बाढीले बगाएको छ। नदी अझै सामान्य स्थितिमा फर्केको छैन, सेना, प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन्।

कर्णालीको बाढी बर्दिया राष्ट्रिय निकुञ्ज पोस्ट पस्दा नेपाली सेनासहित कर्मचारीलाई निकुञ्जको मुख्य कार्यालय, ठाकुरद्वारा सारिएको छ। बाढीले निकुञ्ज पस्ने पुललगायत आधा दर्जन पोस्टमा क्षति पुर्या एकोे सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। उनका अनुसार निकुञ्ज मुख्य कार्यालय रहेको ठाकुरद्वारालगायतका पोस्ट अझै जलमग्न छन्।

ओराही नदीले ठाकुरद्वाराका ४, ७, नेउलापुर ९, सूर्यपटुवा, २, ९ ४, ७ मा क्षति पुर्या एको छ। टिहुनी र दौलतपुरबाट कर्णालीको पानी पस्दा राजापुर नगरपालिकासहित गोला, खैरीचन्दनपुर, पाताभार, भिम्मापुर, दौलतपुर, नयाँगाउँ, बदालपुर गाविस डुबानमा छन्।

बबई बाढीले कुसुम्बा घाटको झोलुंगे पुलको मुख्य बिम बगाएको छ। पुलमा फसेकाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

बाँकेको कोहलपुरदेखि नै जोडिने मेनलाइनको पोल जब्दीमा बगाउँदा विद्युत सेवा अवरुद्ध छ। दुई दर्जनभन्दा बढी ठाउँका पोल बगाएकाले विद्युत सुचारु हुन समय लाग्ने प्राधिकरण प्रमुख सूर्यनारायण मण्डलले बताए। निकुञ्जभित्रको राजामार्ग पर्ने खोलाले कल्भर्ट बगाउँदा आवागमन ठप्प छ।

विस्थापितको बेहाल

तीन दिन लगातारको वर्षाले ल्याएको बाढीपहिरोको विपत्तिमा विस्थापितको बिजोग देखिएको छ। तीन दिनसम्म उद्धारमा सरकारी मद्दत पुग्न नसक्दा उनीहरु भोकभोकै छन्।

सुर्खेतमा मात्र १ हजार ४ सय परिवार विस्थापित भएका छन्। सुर्खेत उपत्यकाभित्रका विस्थापितलाई विभिन्न १५ स्थानमा राखिएको छ। वीरेन्द्रनगर क्षेत्रका विद्यालयमा उनीहरु सामूहिक रुपमा बसेका छन्। उपत्यका बाहिरका विस्थापित भने आ–आफ्नै तरिकाले आश्रय लिइरहेका छन्। सरकारी निकायको पहुँचभन्दा बाहिर रहेका उनीहरुको अवस्था नाजुक बनेको छ।

खोर्केखोलाले घर बगाउँदा विस्थापित भएकी पुष्पा नेपालीले चारजनाको परिवार शुक्रबार बिहानदेखि भोकभोकै रहेको बताइन्। ‘घरमा भएको अलिकति चामल र कपडा सबै खोलाले बगायो,’ उनले भनिन्, ‘अहिले स्कुलमा आएर भोकभोकै बस्नुपरेको छ।’ राम्रो कपडा नहुँदा आश्रय लिएको स्कुलबाट बाहिर निस्किनसमेत नसकेको उनले बताइन्।

स्थानीय प्रशासन पनि रनभुल्लमा छ। एकैपटक धेरै ठाउँमा विपत पर्दा कहाँ के गर्ने भन्ने मेसो पाउन सकेको देखिँदैन। ‘पहिलो दिन त कहाँ के कति क्षति भएको छ भनेर तथ्यांक लिने काम मात्र भयो भन्दा पनि हुन्छ,’ कार्यालयका एक कर्मचारीले भने, ‘आज ९शनिबार० ढिलै भए पनि अलिकति राहत पुर्यौउन सकिएको छ।’